एचआइभी र लागूऔषध दुर्व्यसनसम्बन्धी विषय आगामी वर्षदेखि पाठ्यक्रममा थप प्रभावकारी बनाइने
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा एचआइभी, यौन तथा प्रजनन स्वास्थ्य तथा लागूऔषध दुर्व्यसनसम्बन्धी विषयलाई अझ वैज्ञानिक, उमेर–अनुकूल र व्यवहारिक बनाउने तयारी सुरु भएको छ । आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम परिमार्जन गरी आधुनिक वैज्ञानिक तथ्य, सुरक्षित व्यवहार, परीक्षण, उपचार तथा सामाजिक सचेतनासम्बन्धी सामग्री समावेश गर्ने विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ ।

स्वास्थ्य, शिक्षा तथा मानवअधिकार क्षेत्रमा कार्यरत सरोकारवाला संस्था, विशेषज्ञ तथा एचआइभी क्षेत्रमा काम गरिरहेका समूहहरूले विद्यालयस्तरमै वैज्ञानिक र कलंकमुक्त शिक्षा आवश्यक भएको औंल्याएका छन् । उनीहरूले हाल प्रयोगमा रहेका कतिपय पाठ्यसामग्री पुरानो, अस्पष्ट र डर–त्रास बढाउने शैलीमा केन्द्रित भएकाले त्यसलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
पाठ्यक्रम परिमार्जनका मुख्य तीन आधारमा वैज्ञानिक शुद्धता, उमेर–सापेक्ष भाषा र लाञ्छना न्यूनीकरणलाई बनाइएको छ ।
पाठ्यक्रम परिमार्जनका मुख्य आधार
वैज्ञानिक शुद्धता
पुरानो र अपूर्ण जानकारी हटाएर आधुनिक चिकित्सा विज्ञान, एआरभी (ARV) उपचार, एचआइभी सर्ने/नसर्ने तथ्य तथा रोकथामका वैज्ञानिक उपाय समावेश गर्न प्रस्ताव गरिएको छ ।
उमेर–सापेक्ष भाषा
विद्यार्थीको कक्षा र मानसिक विकास अनुसार जटिल चिकित्सकीय शब्दलाई सरल र सहज भाषामा रूपान्तरण गर्न सुझाव दिइएको छ ।
लाञ्छना न्यूनीकरण
एचआइभी संक्रमित व्यक्तिलाई ‘उपचार नहुने रोग’ वा ‘मृत्यु निश्चित’ भन्ने पुरानो भाष्यबाट हटेर सामान्य, स्वस्थ र सम्मानजनक जीवन बाँच्न सक्ने वैज्ञानिक दृष्टिकोण स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।
कक्षा ६ मा भाषा र लैङ्गिक संवेदनशीलतामा सुधारको सुझाव
कक्षा ६ को पाठ्यक्रममा ‘उच्च यौन हर्मोनको विकास’ जस्ता जटिल वाक्यांश प्रयोग गरिएको भन्दै त्यसलाई विद्यार्थीमैत्री बनाउन सुझाव दिइएको छ ।
विवरण
पाठ्यपुस्तकमा ‘उच्च यौन हर्मोनको विकासले गर्दा…’ भन्ने वाक्यांश प्रयोग भएको छ, जुन कक्षा ६ का विद्यार्थीका लागि प्राविधिक रूपमा जटिल रहेको उल्लेख गरिएको छ । त्यस्तै ‘Sex’ तथा ‘Unsafe sexual behaviour’ जस्ता शब्द प्रयोग गरिएको तर विद्यार्थीले त्यसको अर्थ सहज रूपमा नबुझ्ने सरोकारवालाको भनाइ छ ।
सुझाव
‘हर्मोन’ शब्दको सट्टा ‘शारीरिक तथा मानसिक विकासको क्रममा विपरीत लिङ्गप्रतिको आकर्षण’ जस्ता सरल वाक्य प्रयोग गर्न सुझाव दिइएको छ । साथै ‘Sex’ को सट्टा ‘Gender’ शब्द प्रयोग गर्ने तथा ‘असुरक्षित यौन सम्पर्क’ सम्बन्धी विषयलाई विद्यार्थीको स्तरअनुसार स्पष्ट रूपमा व्याख्या गर्नुपर्ने सुझाव दिइएको छ ।

दुर्व्यसनसम्बन्धी पाठ्यवस्तुमा वैज्ञानिक दृष्टिकोणको माग
विवरण
हालको पाठ्यक्रममा ‘केटीहरू’ लाई मात्र जोखिम समूहका रूपमा प्रस्तुत गरिएको तथा धूमपान, मद्यपान र सुईमार्फत लागूपदार्थ प्रयोगलाई एउटै अनुच्छेदमा राख्दा एचआइभी संक्रमणको जोखिम ओझेलमा परेको उल्लेख गरिएको छ ।
सुझाव
किशोरी मात्र नभई किशोरहरू पनि दुर्व्यसनको जोखिममा पर्न सक्ने भएकाले लैङ्गिक रूपमा तटस्थ भाषा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । त्यस्तै एउटै सुई साझा गर्दा एचआइभी सर्न सक्ने जोखिमलाई छुट्टै र स्पष्ट रूपमा समावेश गर्नुपर्ने माग गरिएको छ ।
कक्षा ७ मा संक्रमणका यथार्थ कारण समेट्ने तयारी
विवरण
हालको पाठ्यपुस्तकमा संक्रमित गर्भवती महिलाबाट बच्चामा संक्रमण सर्ने कुरा उल्लेख भए पनि रोकथामका उपाय र चिकित्सकीय व्यवस्थापनबारे पर्याप्त जानकारी नभएको बताइएको छ । साथै सुई, सिरिन्ज र ब्लेडबाट संक्रमण सर्ने विषय सीमित रूपमा मात्र उल्लेख गरिएको छ ।
सुझाव
चिकित्सकको सल्लाह, सुरक्षित गर्भधारण, सुत्केरी तथा स्तनपान व्यवस्थापनमार्फत आमाबाट बच्चामा संक्रमण सर्ने जोखिम कम गर्न सकिने वैज्ञानिक तथ्य समावेश गर्न सुझाव दिइएको छ । ट्याटु बनाउने मेसिन, निर्मलीकरण नगरिएका धारिलो सामग्री तथा साझा उपकरणबाट पनि संक्रमण सर्न सक्ने विषय थप गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
भ्रम हटाएर वैज्ञानिक सन्देश दिनुपर्नेमा जोड
विवरण
संक्रमित महिलाले गर्भधारण गर्नु हुँदैन भन्ने पुरानो र निराशाजनक सन्देश अझै पाठ्यक्रममा रहेको औंल्याइएको छ ।
सुझाव
‘चिकित्सकको निगरानीमा सुरक्षित उपाय अपनाएर बच्चा जन्माउँदा संक्रमणको जोखिम निकै कम गर्न सकिन्छ’ भन्ने आधुनिक वैज्ञानिक सन्देश राख्नुपर्ने सुझाव दिइएको छ । साथै नयाँ वा निर्मलीकरण गरिएको सुई मात्र प्रयोग गर्ने र लामखुट्टेको टोकाइबाट एचआइभी नसर्ने तथ्य पनि अनिवार्य समावेश गर्नुपर्ने बताइएको छ ।
लक्षण र प्रतिरक्षा प्रणालीबारे आधुनिक बुझाइ समेट्ने प्रस्ताव
विवरण
पाठ्यक्रममा खोकी लाग्ने, तौल घट्ने जस्ता लक्षणलाई प्रत्यक्ष संक्रमणसँग जोडिएको तथा एचआइभीले शरीरलाई कसरी असर गर्छ भन्ने स्पष्ट वैज्ञानिक आधार अभाव रहेको जनाइएको छ ।
सुझाव
एचआइभी संक्रमण भएपछि तत्काल लक्षण नदेखिन पनि सक्ने जानकारी समावेश गर्नुपर्ने सुझाव दिइएको छ । साथै भाइरसले शरीरको प्रतिरक्षा प्रणाली (Immune System) कमजोर बनाउँदै लैजाने र त्यसपछि अवसरवादी रोग देखिन सक्ने विषय स्पष्ट पार्नुपर्ने बताइएको छ ।
एचआइभी र अन्य यौनरोगबीचको भिन्नता स्पष्ट पार्नुपर्ने
विवरण
एचआइभीलाई अन्य यौनरोगसँग एउटै श्रेणीमा राखेर व्याख्या गरिएको भन्दै भ्रम पैदा भएको सरोकारवालाको निष्कर्ष छ ।
सुझाव
एचआइभी संक्रमण र अन्य यौनरोगको प्रकृति, रोकथाम तथा उपचार फरक हुने भएकाले छुट्टै शीर्षकमा वैज्ञानिक रूपमा व्याख्या गर्नुपर्ने सुझाव दिइएको छ । एचआइभी भनेको प्रणालीगत संक्रमण र एड्स भनेको कमजोर प्रतिरक्षा अवस्थाको अन्तिम चरण भएको विषय स्पष्ट रूपमा पढाउनुपर्ने माग गरिएको छ ।
एआरभी उपचार र सामान्य जीवनबारे सकारात्मक सन्देश
विवरण
पाठ्यपुस्तकमा ‘यसको उपचार छैन’, ‘मृत्यु निश्चित’ जस्ता निराशाजनक वाक्य प्रयोग भएको छ ।
सुझाव
नियमित एआरभी (ARV) औषधि सेवनले भाइरस नियन्त्रणमा राख्न सकिने र संक्रमित व्यक्तिले लामो समयसम्म स्वस्थ, सामान्य र सक्रिय जीवन बाँच्न सक्ने विज्ञान–समर्थित सन्देश पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिइएको छ ।

परीक्षण, रोकथाम र व्यवहारिक ज्ञानमा जोड
विवरण
कक्षा ९ को पाठ्यक्रममा एचआइभी परीक्षण, उपचार प्रक्रिया तथा व्यवहारिक जानकारीको अभाव रहेको बताइएको छ ।
सुझाव
सुरक्षित यौन व्यवहार, समयमै एचआइभी परीक्षण (HIV Testing), संक्रमण पुष्टि भएपछि एआरभी उपचार कसरी सुरु हुन्छ भन्ने व्यवहारिक जानकारी पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्नुपर्ने सुझाव दिइएको छ ।

भाइरल लोड र सामाजिक विभेदबारे आधुनिक शिक्षा आवश्यक
विवरण
माध्यमिक तहको अन्तिम चरणमा पनि विद्यार्थीले भाइरल लोड, अन्डिटेक्टेबल अवस्था तथा सामाजिक विभेदबारे पर्याप्त जानकारी नपाउने अवस्था रहेको औंल्याइएको छ ।
सुझाव
‘भाइरल लोड’ (Viral Load), ‘अन्डिटेक्टेबल’ (Undetectable) जस्ता आधुनिक वैज्ञानिक अवधारणालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिइएको छ । साथै एचआइभी संक्रमितप्रति हुने लाञ्छना र विभेदविरुद्ध सम्मानजनक व्यवहार सिकाउने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने माग गरिएको छ ।
सरोकारवालाहरूका अनुसार विद्यालय तहमा वैज्ञानिक, व्यवहारिक र कलंकमुक्त जानकारी पुगेमा किशोरकिशोरीमा भ्रम कम हुने, सुरक्षित व्यवहार बढ्ने तथा एचआइभी संक्रमित व्यक्तिप्रतिको सामाजिक विभेद घट्ने अपेक्षा गरिएको छ ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रका अधिकारीहरूले आगामी वर्षदेखि संशोधित सामग्री समावेश गर्ने गरी छलफल भइरहेको बताएका छन् ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस