‘मर्ज’ भएर एउटै बनेका मन्त्रालयमा दुईवटा प्रशासन महाशाखा


काठमाडौं। एकअर्कामा गाभिएका ‘मर्ज’ भएका मन्त्रालयमा समानान्तर रूपमा दुईवटा प्रशासन महाशाखा कायम रहेका छन्। ‘मर्ज’ भएर बनेका भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन; शिक्षा तथा खेलकुद; पूर्वाधार विकास र कृषि, वन तथा पर्यावरण मन्त्रालयमा समानान्तर रूपमा दुईवटा प्रशासन महाशाखा चलिरहेका हुन्। संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) नहुञ्जेलसम्म एउटै मन्त्रालयमा दुईवटा प्रशासन महाशाखा समानान्तर रूपमा चल्ने देखिन्छ।

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन प्रमुखमा गोविन्दप्रसाद रिजाल र धोलकराज ढकाल प्रशासन महाशाखा प्रमुख रहेका छन्। रिजाल साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख र ढकाल संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका थिए। दुई मन्त्रालय एक भएपनि संक्रमणकालीन अवस्थामा उनीहरू आ-आफ्नै कुर्सीमा बसिरहेका छन्। उनीहरूको उचित व्यवस्थापन गर्न केही समय कुर्नुपर्ने देखिन्छ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा समानान्तर रूपमा दुईवटा प्रशासन महाशाखा चलिरहेका छन्। साबिकको शिक्षा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रमेश ढकाल रहेका छन्। साबिकको खेलकुद मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा मनिता श्रेष्ठ रहेकी छिन्। साबिकको युवा तथा खेलकुद मन्त्रालय बसेको भवनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय राख्ने तयारी भएकाले मनिताको उक्त मन्त्रालय कै प्रशासन महाशाखा प्रमुखमा व्यवस्थापन हुने उच्च सम्भावना छ।

पूर्वाधार विकास मन्त्रालयमा प्रशासन महाशाखा समानान्तर रूपमा तीनवटा भएपनि साबिकको सहरी विकास मन्त्रालयमा महाशाखा प्रमुख छैनन्। सहरी विकास मन्त्रालय हुँदा महाशाखा प्रमुख रहेका नारायणप्रसाद मैनाली बागमती प्रदेशमा सरूवा भएका छन्। साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बलराम रिज्याल र खानेपानीमा रूद्रप्रसाद पण्डित प्रशासन महाशाखा प्रमुख रहेका छन्। उक्त मन्त्रालय ‘मर्ज’ भएर एउटै बनेपछि प्रशासन महाशाखा पनि एउटै रहनेछ। दुईमध्ये एक सहसचिव पूर्वाधार विकास मन्त्रालयबाट ‘आउट’ हुने देखिन्छ।

कृषि वन तथा पर्यावरण मन्त्रालयमा पनि प्रशासन महाशाखा दुईवटै रहेका छन्। साबिकको कृषि तथा पशुपन्छी मन्त्रालयको प्रशासन महाशाखा प्रमुख प्रदीपकुमार कोइराला र वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भूपेन्द्र थापा रहेका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयमा प्रशासन महाशाखा एउटै भएपछि सहसचिवको दरबन्दी पनि एउटै हुने देखिन्छ। त्यसपछि उक्त मन्त्रालयबाट पनि कोइराला र थापामध्ये एक सहसचिव बाहिरिने दिन धेरै टाढा छैन। पूर्वाधार विकास मन्त्रालयमा दुई र कृषि, वन तथा पर्यावरण मन्त्रालयमा प्रशासन तर्फको सहसचिवको १ दरबन्दी कटौती हुने निश्चित जस्तै छ। यी मन्त्रालयहरूमा चालू आर्थिक वर्षभित्रै दरबन्दी मिलान हुने सम्भावना देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दप्रसाद रिजाल, #धोलकराज ढकाल, #प्रदीपकुमार कोइराला, #बलराम रिज्याल, #भूपेन्द्र थापा, #मनिता श्रेष्ठ, #रमेश ढकाल, #रूद्रप्रसाद पण्डित

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ