सरूवा भएको दुई महिनामा पनि तुलसीपुर र घोराही उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुगेनन्


काठमाडौं। सरूवा भएको दुई महिना हुन लाग्दा पनि दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाङको तुलसीपुर उपमहानगरपालिकामा टेकनारायण पौडेल र घोराही उपमहानगरपालिकामा चन्द्रप्रसाद भुसाललाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो। गत चैत १६ गते सरूवा भएका पौडेल र भुसाल दुई महिना हुन लाग्दा पनि अझैसम्म हाजिर नभएको पाइएको हो। मन्त्रालयले उनीहरूलाई खटाएको ठाउँमा पठाउन नसकेको पाइन्छ।

दाङको तुलसीपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका केशवराज पार्धेले पौडेल अझैसम्म हाजिर नभएको पुष्टि गरे। निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा आफू नै रहेको भन्दै पार्धेले प्रमुख प्रशासकीय अधिकृत पौडेल आउने विषयमा जानकारी नभएको बताए।

दाङको घोराही उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूमिकामा रामबहादुर हमाल रहेका छन्। मन्त्रालयले घोराहीको प्रमुख प्रशासकीय अधिकृत सहसचिव चन्द्रप्रसाद भुसाललाई खटाएको दुई महिना हुन लागिसकेको छ। तर, उनी अहिलेसम्म घोराहीमा हाजिर भएका छैनन्। घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका भुसाल अहिलेसम्म हाजिर नभएको जानकारी दिए।

सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयलाई आग्रह गरेको थियो। मन्त्रालयले पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह समेत गरेको थियो। तर, तुलसीपुर र घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा पठाएकाका सहसचिवहरू हाजिर नहुँदा सुशासनको धज्जी उडेको छ।

पौडेल र भुसालसँगै सरूवा भएका सहसचिवहरू हाजिर भइसकेका छन्। बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका दिपक ज्ञवाली र जनकपुरधाम उपमहानगरपालिकामा सरूवा भएका ज्ञानहरि घिमिरे हाजिर भइसकेका छन्। तर, एकैदिन सरूवा भएका पौडेल र भुसाल अझैसम्म हाजिर नभएका हुन्। उनीहरूले सरकारलाई टेरेको देखिँदैन।

सरुवा भएको २१ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने कानुनी व्यवस्थालाई चुनौती दिँदै पौडेल र भुसाल सिंहदरबारमै हल्लिरहेका छन्। उनीहरूमाथि एक्सन लिन सक्ने कानुनी व्यवस्था भएपनि सामान्य प्रशासन मन्त्रालय निरीह बनेको छ। सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका पौडेल र भुसाललाई रमाना दिएर सरूवा भएको ठाउँमा हाजिर गर्न पठाउनु पर्ने हो। तर, उक्त मामिलामा मन्त्रालय समेत नराम्रोसँग चुकेको छ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसमा विशेष प्रतिभा देखाउन ढिला भइसकेको छ। सरूवा भएका कर्मचारीलाई सम्बन्धित ठाउँमा हाजिर गराउन मन्त्री रावलले तत्काल एक्सन लिनुपर्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ