६७ वर्षीय कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा मनोनित
काठमाडौं। ६७ वर्षीय कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा मनोनित भएका छन्। पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)ले वरिष्ठ गीतकार, साहित्यकार तथा कवि श्रेष्ठलाई कोषको सदस्यसचिवमा मनोनित गरेका हुन्। उनलाई कोषको सदस्यसचिव मनोनित गर्ने निर्णय भइसकेको मन्त्री निकट स्रोतको दाबी छ।
२०१६ सालमा पोखरामा जन्मिएका तीर्थ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव समेत भइसकेका व्यक्ति हुन्। नेपाली लेखक संघको केन्द्रीय अध्यक्षको भूमिकामा काम गरिसकेका तीर्थ पशुपति क्षेत्र विकास कोष जस्तो संवेदनशील ठाउँमा कमाण्डर भएर आउने भएका छन्। विन्ध्यवासिनी जस्तो पशुपति चलाउन भने त्यति सहज छैन। कोषाध्यक्ष र सदस्य कस्तो नियुक्त हुन्छन् त्यसले पनि उनी सफल हुने नहुने थाहा लाग्छ। कम्तिमा कोषाध्यक्ष चाहिँ पशुपति क्षेत्र बुझेको र कुनै न कुनै हिसाबले जोडिएको व्यक्ति ल्याउन सके भने उनलाई काम गर्न सहज हुन्छ।

पर्यटन मन्त्रालयले बनाएको नियुक्ति सम्बन्धी मापदण्डमा कार्यकारी पद मानिने कोषका सदस्य-सचिव बन्न ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। तर, सदस्यसचिवमा मनोनित भएका तीर्थ ६५ वर्ष नाघिसकेकाले उमेर सम्बन्धी विवाद भने आउने देखिन्छ।
पर्यटन मन्त्रालयका अधिकारीहरू भने “नियुक्ति सम्बन्धी मापदण्ड” विधायन ऐन, २०८१ जारी भएको १ वर्षभित्र कानुन मन्त्रालयबाट प्रमाणिकरण नगरेकाले स्वतः निष्क्रिय भएको दाबी गर्छन्। मापदण्डको औचित्य नरहेकोले यसअघि ६७ वर्षीय प्रकाशमणि शर्मा भुसाल कोषको सदस्यसचिवमा मनोनित भएको नजिर प्रस्तुत गरेर तीर्थलाई सदस्यसचिवमा मनोनित गरिएको हो।
क्याटेगोरी : समाचारट्याग : #तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोष


तपाईको प्रतिक्रिया दिनुहोस