प्रधानमन्त्री कार्यालयको जगेडामा सचिव मैनाली मात्र 


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा अब सचिव हरिप्रसाद मैनाली मात्र बाँकी रहेका छन्। मन्त्रिपरिषद्को एउटै निर्णयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका आधा दर्जन सचिवहरूमध्ये अब मैनाली मात्र बाँकी रहेका हुन्।

मन्त्रिपरिषद्को बैठकले एउटै निर्णयबाट सचिवहरू कृष्णहरि पुष्कर कर्ण, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, लोकनाथ पौड्याल र डण्डुराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका थिए। उनीहरूमध्ये घिमिरे भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। उनीबाहेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा कृष्णहरि पुष्कर कर्ण, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, लोकनाथ पौड्याल हाजिर भएका थिए। उनीहरूमध्ये जगेडामा अब सचिव हरिप्रसाद मैनाली मात्र बाँकी रहेका हुन्।

जगेडामा रहेका सचिव कृष्णहरि पुष्कर कर्ण र लोकनाथ पौड्याल अनिवार्य अवकाशमा गइसकेका छन्। विमानस्थल हेर्ने जिम्मेवारी पाएका सचिव गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिइसकेका छन्। सचिव डिल्लीराम शर्माको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भइसकेको छ। अब जगेडामा सचिव मैनाली मात्र बाँकी रहेको देखिन्छ।

गोविन्दप्रसाद शर्मा कृषितिरका प्राविधिक सचिव हुन्। कृषि र वन एउटै भएपछि सरकारले एक मन्त्रालय एक सचिवको नीति ल्याउदा डा. राजेन्द्रप्रसाद मिश्रले सचिवको कमाण्ड सम्हाले। फाजिलमा परेका शर्मा अवकाशको मुखमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने गरी व्यवस्थापन गरिएको हो। एक त फाजिलमा परेका अर्कोतर्फ प्रशासनतिर कै एकसेएक सचिवहरू मुख्यसचिवको लाइनमा रहेकाले उनले अवसर पाउने कुरै थिएन। सचिव शर्माको राजीना पहिल्यै आउनु पर्ने थियो। ढिला भएको मात्र हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेकी सचिव राधिका अर्यालको पनि व्यवस्थापन भइसकेको स्रोतको दाबी छ। उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा निर्वाचन आयोगमध्ये एक ठाउँमा व्यवस्थापन गरिएको बताइन्छ।

सचिव मैनालीको १० दिन मात्र जागिर बाँकी रहेकाले जगेडामा उनी मात्र बाँकी रहेका छन्।

सरकारले मन्त्रालय गाभिदा र खारेजी हुँदा फाजिलमा परेका सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानेको थियो। उक्त सूचीमा गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र लोकनाथ पौड्याल रहेका थिए। सुशासनविपरीतको कार्य र कमजोर कार्यक्षमताका हिसाबले कृष्णहरि पुष्कर कर्ण र हरिप्रसाद मैनालीलाई जगेडामा तानिएको थियो। त्यसैले गोविन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने जिम्मेवारी र डिल्लीराम शर्मा अख्तियार पठाइएको थियो। लोकनाथ जागिर कम भएकाले उनी जगेडाबाटै अवकाशमा गए। मैनाली भने दुवै हिसाबले अनुपयुक्त रहेको र घर जाने बेला समेत भएकाले कुनै जिम्मेवारी नदिइ राखिएको स्रोत बताउँछ।

मुख्यसचिवको प्रतिस्पर्धामा वरियतामा रहेका सचिवहरू

मुख्यसचिवको प्रतिस्पर्धामा किरणराज शर्मा, हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपालप्रसाद सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला, सरजुकुमार वैद्य, दिपक काफ्ले, नारायणप्रसाद शर्मा दुवाडी, घनश्याम उपाध्याय, लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे, विश्वबाबु पुडासैनी, राधिका अर्याल, सरिता दुवाडी, चूडामणि पौडेल, केदारनाथ शर्मा, राजेन्द्रप्रसाद मिश्र, लोकनाथ पौड्याल, पाराश्वर ढुंगाना र गोविन्दबहादुर कार्की रहेका थिए। २५ औं नम्बरका कार्कीले बाजी मारेपछि अरू हेरेको हेऱ्यै भए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ