सिंहदरबारभित्रका कर्मचारी पुरानै लयमा फर्किदै, गृह र अर्थ कै कर्मचारी छड्के कारबाहीमा
काठमाडौं। बालेन सरकार आउनेबित्तिकै समयमै मन्त्रालय आउन थालेका कर्मचारी फेरि पुरानै लयमा फर्किन थालेका छन्। बालेन सरकार आएको १०० दिन पुगेपछि राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्केमा सिंहदरबारका कर्मचारीहरू पुरानै लयमा फर्किन थालेको पाइएको छ। यसले थेत्तरा कर्मचारी सुध्रिने छाँटमा नरहेको पाइएको हो।
सिंहदरबारभित्रका दुई शक्तिशाली मन्त्रालय गृह र अर्थ कै कर्मचारी समयमा कार्यालय र कार्यकक्षमा उपस्थित हुन छाडेका छन्। समय पालन नगरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले गृह मन्त्रालयका २३ र अर्थ मन्त्रालयका २७ कर्मचारीमाथि छड्के कारबाहीको गरेको फेला परेको हो।
गृह र अर्थलाई उछिन्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका ४१ कर्मचारी ‘बङ्क’ हानेका छन्। समयमै कार्यालयमा उपस्थित नहुँदा ऊर्जाका मात्र ४१ कर्मचारी छड्के कारबाहीमा परेका हुन्।
ढिला उपस्थित हुँदा सूचना तथा सञ्चार मन्त्रालयका १३ र युवा, श्रम तथा रोजगार मन्त्रालयका १४ जना कर्मचारी केन्द्रको छड्के कारबाहीमा परेका छन्। केन्द्रको पछिल्लो अनुगमनले सिंहदरबारभित्रका कर्मचारी बाह्र वर्ष पुच्छर ढुङ्ग्रामा हाल्दा पनि सिधा बनाउन नसकेको जस्तो भएको छ। त्यस्ता कर्मचारीलाई सचेत गराउनेदेखि बढुवा वा तलब वृद्धि रोक्का गर्ने प्रावधान अनुसार कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई केन्द्रले निर्देशन दिएको खुल्न आएको हो। अझै पनि पुरानै पारामा चल्न खोज्ने कर्मचारीमाथि सतर्कता केन्द्रले उच्च निगरानी बढाउन थालेको देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस