भूमि व्यवस्था मन्त्रालयका ३ सहसचिव फाजिलमा, नयाँ ओएन्डएम आयो कार्यान्वयनमा
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३ सहसचिव फाजिलमा परेका छन्। नयाँ ओएन्डएम कार्यान्वयनमा आएसँगै भूमिका ३ सहसचिव फाजिलमा परेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय ‘मर्ज’ भएर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेपछि नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) भएको थियो। उक्त ओएन्डएम अनुसार कानुनसहित ६ महाशाखा राखिएको छ। उक्त संगठन संरचनालाई भूमि मन्त्रालयले कार्यान्वयनमा समेत ल्याएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ व्यवस्थापन गर्दा साविकको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका ३ सहसचिवहरू फाजिलमा परेका छन्। सहसचिवहरू नारायणप्रसाद सापकोटा, गोविन्दप्रसाद रिजाल र ध्रुव घिमिरे फाजिलमा परेका हुन्।
रिजालले भूमितिरको प्रशासन महाशाखा, सापकोटाले गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम र घिमिरेले भूमि व्यवस्थापन महाशाखा हेर्दै आएका थिए। उनीहरू तीनैजना फाजिलमा परेका छन्। साविकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत ४ सहसचिवले भने जिम्मेवारी पाएका हुन्।
संघीय मामिला महाशाखा हेर्ने सहसचिव प्रकाश दाहालले साविक कै महाशाखा पाएका छन्। कर्मचारी प्रशासन महाशाखा हेर्ने धोलकराज ढकालले सोही महाशाखा, प्रशासन सुधार महाशाखा हेर्ने सहसचिव एकदेव अधिकारीलाई पनि साविकको महाशाखाको जिम्मेवारी दिइएको छ। क्षमता विकास महाशाखा ओएन्डएमबाट ‘मर्ज’ भएपछि उक्त महाशाखा हेर्ने सहसचिव डिलाराम पन्थीलाई योजना महाशाखाको जिम्मेवारी दिइएको हो।
साविकको भूमिको योजनामा नापीतिरका प्राविधिक कर्मचारीले हेर्दै आएका थिए। नयाँ ओएन्डएमबाट उक्त दरबन्दी भूमि व्यवस्थापन महाशाखातिर सऱ्यो। दरबन्दी भूमि व्यवस्थापन महाशाखातिर मिलान भएसँगै सहसचिव गणेशप्रसाद भट्टलाई उक्त महाशाखामा व्यवस्थापन गरिएको छ। भट्टलाई व्यवस्थापन गरेसँगै उक्त महाशाखा हेर्ने निर्णय गर्न डराउने ‘फाइल फोबिया’ भएका प्रशासन सेवाका सहसचिव ध्रुव घिमिरे फाजिलमा परेका हुन्।
नयाँ ‘ओएन्डएम’ कार्यान्वयनमा आएसँगै राष्ट्रिय किताबखानाको उपमहानिर्देशक (सहसचिव) आरती न्यौपाने पनि फाजिलमा परेकी छिन्। भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ४ जना सहसचिवलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ओएन्डएम गर्ने र कर्मचारीलाई व्यवस्थापन गर्नका सबैभन्दा अगाडि देखिएको छ। भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मन्त्रालयको ‘टिम’ हरेक हिसाबले ‘स्मार्ट’ देखिएको छ। उक्त टिम प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को स्पिरिटमा चल्न खोजेको देखिन्छ। ओएन्डएम र त्यसको कार्यान्वयनले पनि यसको छनक दिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस