किताबखानामा नयाँ संगठन तथा पद धमाधम दर्ता, भइसक्यो २८३ पद दर्ता  


काठमाडौं। राष्ट्रिय किताबखानामा नयाँ संगठन तथा पद धमाधम दर्ता हुन थालेको छ। राष्ट्रिय किताबखानाले द्रुत तरिकाले २८३ पद दर्ता भइसकेको जानकारी दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नयाँ संगठन तथा पद दर्ता गराउने पहिलो निकायमा दर्ज भएको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गर्ने निर्णय कार्यान्वयन गर्ने गृहकार्य तीव्र रुपमा अघि बढेको छ। कार्यान्वयनको यस दौडमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबैभन्दा अगाडि देखिएको हो। मन्त्रालयले पहिलो चरणमा आफ्नो र मातहतका दुई निकाय क्रमश: राष्ट्रिय किताबखाना तथा सहकारी रजिष्ट्रारको कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज औपचारिक दर्ताका लागि ८ गते शुक्रबार नै राष्ट्रिय किताबखानामा पठाइसकेको छ। उक्त कुरालाई राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले पुष्टि गर्दै आफूहरूले तत्काल नै दर्ता समेत गरिसकेको जानकारी दिए। सरकारको ‘स्पिरिट’अनुसार चल्ने पहिलो मन्त्रालय भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिएको छ।

 मन्त्रालयले विशिष्ट श्रेणीको १ सचिव, सहसचिव तर्फ प्रशासन सेवाको ४ ,न्याय सेवा, कानुन समूहको १ , इन्जिनियरिङ सेवा सर्भे समूह को १ गरी कुल ६ सहसचिव ( राजपत्राङ्कित प्रथम श्रेणी) कायम गरेको छ। भूमि व्यवस्था मन्त्रालयले विशिष्टदेखि श्रेणीविहीनसम्म कुल १४० दरबन्दी स्विकृत गरी दर्ताका लागि पठाएको किताबखानाले जनाएको छ। साविकमा दुबै मन्त्रालयमा गरी कुल २२५ दरबन्दी कायम रहेको थियो। नयाँ संगठन संरचना तय गर्दा विशिष्ट श्रेणीसहित ८५ दरबन्दी कटौती भएको हो।

 सहकारी रजिष्ट्रारको कार्यालय तर्फ १ रजिष्टार (सहसचिव)सहित कुल ३७ पद ( दरबन्दी ) स्वीकृत भएको छ। साविकका एउटै कार्यप्रकृति भएका सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकृत गरी सहकारी रजिष्ट्रारको कार्यालय स्वीकृत गरिएको हो। यी दुबै निकायमा साविकमा कुल ५५ दरबन्दी कायम रहेको थियो। दुई निकाय ‘मर्ज’ हुँदा १८ दरबन्दी घरेको छ।

नयाँ संगठन संरचना अनुसार राष्ट्रिय किताबखाना तर्फ महत्त्वपूर्ण परिवर्तन भएको पाइन्छ। एक सहसचिव (महानिर्देशक)को दरबन्दी मात्र कायम राख्दै यसअघि कायम रहेका प्रशासन सेवाका थप २ सहसचिव र शिक्षा सेवाका १ सहसचिव गरी ३ सहसचिवको दरबन्दी कटौतीमा परेको हो। यसअघि कर्मचारी खटनपटन र वजेट/अख्तियारी प्रवाहका दृष्टिकोणबाट पृथक रहेका शिक्षक किताबखाना र प्रहरी किताबखानाको पृथक स्वरुपलाई खारेज गर्दै दुबै निकायलाई राष्ट्रिय किताबखानाको शाखाको रुपमा मात्र रहने गरी राष्ट्रिय किताबखानालई पुनर्संरचना गरिएको हो। समान प्रकृतिका कार्य गर्ने तीनवटै निकायलाइ एउटै आदेश श्रृंखला तथा नियन्त्रणको दायरा ( chain of command & span of control)बाट सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयले नै विशेष अग्रसरता देखाएको बुझिएको छ। राष्ट्रिय कितावखानाको पुनर्संरचनाबाट साविकमा रहेको तीनवटै निकायको ( निजामती ,शिक्षक र प्रहरी) कुल १३८ दरबन्दीमा ३२ दरबन्दी कटौती भइ १०६ दरबन्दी कायम भएको हो। यसले गर्दा अनावश्यक दरबन्दी व्यवस्थापन भएको र किताबखानामा एकद्वार प्रणाली लागू हुने अवस्था आएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ