इनरूवा घाेपाली टाेल-सखुवागाछीदेखि काेशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु जारी 


इनरूवा । सुनसरीकाे इनरुवा नगर क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्।

कर्फ्यु आदेशअनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैन।

प्रशासनले पूर्वमा इनरुवा नगरपालिका–३ र ६ को सीमास्थित महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोल, पश्चिममा कोशी ब्यारेज, उत्तर र दक्षिणमा पुल तथा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्मलाई कर्फ्यु लागू हुने क्षेत्र तोकेको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि आदेश पूर्ण रूपमा पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ