घर जान लागेका उपसचिव बरण्डामा, पर्यटनबाट आधा दर्जन उपसचिव बाहिरिए
काठमाडौं। घर जान लागेका उपसचिवलाई बरण्डामा राखिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नै मन्त्रालयभित्र रहेका उपसचिवलाई अतिरिक्त समूहमा राखेको हो। एक महिनाभित्रै घर जाने सूचीमा रहेका उपसचिव मोहनकुमार घिमिरे र जीवनराज सेढाइलाई सामान्य प्रशासन मन्त्रालयको बरण्डा (अतिरिक्त समूहमा) राखिएको हो। ५८ वर्ष पूरा भएर घिमिरे भदौं ८ गते र सेढाइ भदौ १३ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उपसचिव घिमिरे भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् समन्वय शाखा र सेढाइ भूमिसुधार तथा बसोबास व्यवस्थापन शाखा प्रमुख रहेका थिए। घर जाने दिनगन्ती सुरू भएका दुबैजना उपसचिवलाई मन्त्रालयको अतिरिक्त समूहमा राखिएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेका उपसचिवहरूलाई सरूवा गरेको छ। पर्यटन मन्त्रालयका हर्ताकर्ता उपसचिव गोकर्णप्रसाद उपाध्यायलाई कैलालीको लम्कीचुहा नगरपालिकामा सरूवा गरेको छ। पर्यटन मन्त्रालय कै उपसचिव निर्मला न्यौपानेलाई मालपोत कार्यालय मनमैजु र लिलाधर अवस्थीलाई भूमि प्रशासन कार्यालय कन्चनपुर सरूवा गरिएको छ। पर्यटन विभागका उपसचिव हिमाल गौतमलाई कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र नारायणहिटी दरबार संग्रहालयका रमेश पाण्डेय बागलुङको जैमिनी नगरपालिका पठाइएको हो।
पर्यटनबाट सकसाथ ५ उपसचिव निकालेर सामन्यको आन्तरिक व्यवस्थापन हेर्ने उपसचिव हरिप्रसाद चापागाईंलाई पर्यटन मन्त्रालय पठाइएको छ। सामान्यमा लामो समय बसेका उपसचिव अनुषा कोइरालालाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र विष्णुकुमारी भुसाल सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरुवा भएकी छिन्।
गृहमा भूमिबाट लेखनाथ न्यौपाने, महेन्द्र विश्वकर्मा र राजेन्द्रप्रसाद गौतमको सरुवा गरिएको छ। भूमि व्यवस्था मन्त्रालयबाटै दिपक ढकाल जिल्ला समन्वय समितिको कार्यालय काभ्रेपलाञ्चोक, माधवप्रसाद ढकाल लमजुङको बेशीसहर नगरपालिका, विवेक घिमिरे भोजपुर नगरपालिका, अरुणकुमार राई शिक्षा तथा खेलकुद मन्त्रालय र युवराज अर्याललाई भूमि प्रशासन कार्यालय कलंकी सरुवा गरिएको छ। मन्त्रालयले फाजिलमा पर्ने र लामो अवधि एकै ठाउँमा बसेका कर्मचारीको सरुवा व्यवस्थापन गर्न थालेको हो।


तपाईको प्रतिक्रिया दिनुहोस