अनुसन्धान दुराचारको आरोपित चिकित्सक NHRC सदस्य–सचिवको सर्टलिस्टले सरकारको सुशासनलाई लाेप्पा
काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्य–सचिव पदका लागि अनुसन्धान दुराचारसँग सम्बन्धित गम्भीर विवादमा परेका दुई चिकित्सकलाई सर्टलिस्टमा समावेश गरिएपछि सिफारिस समितिको निर्णयमाथि प्रश्न उठेको छ ।
अनुसन्धान दुराचारको आरोपित चिकित्सक एनएचआरसी सदस्य–सचिवको सर्टलिस्टमा पारेपछि सरकारको सुशासनलाई सिफारिस समितिले लाेप्पा खुवाएकाे छ ।
सर्टलिस्टमा परेका डा. प्रमोद जोशीले प्रकाशित गरेको Hospital Stay of Orthopedic Cases in a Tertiary Care Hospital: A Descriptive Cross-sectional Study शीर्षकको अनुसन्धानमा “Institutional Review Committee of Seti Provincial Hospital” बाट नैतिक स्वीकृति (Ethical Approval) प्राप्त गरेको उल्लेख गरेका छन्।

तर सेती प्रादेशिक अस्पतालमा त्यस्तो संस्थागत समीक्षा समिति (IRC) अस्तित्वमै नरहेको दाबी सार्वजनिक भएपछि उक्त अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठेको छ। आलोचकहरूले यसलाई अनुसन्धान दुराचारसँग जोडेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
त्यस्तै, सदस्य–सचिवका लागि सर्टलिस्टमा परेका अर्का उम्मेदवार डा. विनोदकुमार यादव सहलेखक रहेको A Prevalence of Thyroid Disorder in Western Part of Nepal शीर्षकको अनुसन्धान लेख बाैद्दिक चोरी भएको पुष्टि भएपछि सम्बन्धित जर्नलले Retraction (फिर्ता) गरेको अभिलेख सार्वजनिक छ।
जर्नलले प्रकाशित गरेको रिट्र्याक्सन सूचनामा यस लेखको सामग्री पहिले प्रकाशित अनुसन्धानबाट नक्कल गरिएको पुष्टि भएपछि वैज्ञानिक समुदायलाई भ्रममा पार्न नदिन लेख फिर्ता गरिएको उल्लेख गरिएको छ।
यस विषयमा स्वास्थ्यलाइभसँग कुरा गर्दै डा. विनोदकुमार यादवले आफू सहलेखक मात्र रहेको र आफ्नो जानकारीबिनै अनुसन्धानमा नाम राखिएको दाबी गरे।
उनले भने, “हो, उक्त लेखमा मेरो नाम छापिएको छ। तर म मुख्य लेखक होइन, सहलेखक हुँ। मेरो जानकारीबिनै नाम राखिएको थियो। त्यसबारे जानकारी पाएपछि नाम फिर्ता लिएको हुँ। यदि म मुख्य लेखक भएको पुष्टि हुन्छ भने एनएचआरसी सदस्य–सचिवको सर्टलिस्टबाट म आफैं आफ्नो नाम फिर्ता लिन्छु।”
यी दुवै उम्मेदवार अनुसन्धान नैतिकतासँग सम्बन्धित विवादमा परेका विषय सार्वजनिक भइसकेका अवस्थामा पनि सदस्य–सचिव पदका लागि सर्टलिस्टमा समावेश गरिनुले सिफारिस समितिले उम्मेदवारको अनुसन्धान पृष्ठभूमि, प्रकाशन र नैतिक आचरणबारे पर्याप्त अध्ययन गरेको थियो कि थिएन भन्ने प्रश्न उठेको छ।
यस विषयमा सिफारिस समितिका सदस्य–सचिव डा. गुणनिधि शर्माले स्वास्थ्यलाइभसँग कुरा गर्दै उम्मेदवारका कागजात पुनः अध्ययन गर्ने बताए।
उनले भने, “कसैले उजुरी नगरेकाले हामीले सामान्य रूपमा हेरेर सिफारिस गरेका हौं होला। सबै जानकारी मलाई पनि भएन, बुझेर भन्छु। डकुमेन्ट विस्तृत रूपमा नहेरिएकाले थाहा नभएको हुन सक्छ। अब पुनः हेर्छौं।”
एनएचआरसी सदस्य–सचिव छनोट सिफारिस समितिको अध्यक्ष डा. श्रीकृष्ण श्रेष्ठ रहेका छन्। समितिमा प्रा. डा. सैली प्रधान, प्रा. डा. सुबोध अधिकारी र डा. गुणनिधि शर्मा सदस्य छन्।
सुशासनलाई प्राथमिकता दिएको दाबी गर्दै गठन भएको वर्तमान सरकारकै नियुक्ति प्रक्रियामा अनुसन्धान दुराचारसँग सम्बन्धित गम्भीर आरोप खेपिरहेका उम्मेदवारहरू सर्टलिस्टमा पर्नुले नियुक्ति प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठेको छ। यस प्रकरणमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा सिफारिस समितिका अध्यक्षसहित सबै पदाधिकारीको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक देखिएको भन्दै पारदर्शी रूपमा छनोट प्रक्रिया पुनरावलोकन गर्नुपर्ने आवाज उठ्न थालेको छ।
क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस