गृहमा ६ सहसचिव परे फाजिलमा, जगेडामा ११ सहसचिव


काठमाडौं। गृह मन्त्रालय वा अन्तर्गतका ६ सहसचिव फाजिलमा परेका छन्। गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत भएसँगै ६ सहसचिव फाजिलमा परेका हुन्।

गृहले सहसचिवको दरबन्दी भएका भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछामको सिडिओमा उपसचिवको दरबन्दी कायम गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पनि सहसचिव हटाएर उपसचिवको दरबन्दी कायम भएको छ। उक्त निर्णयसँगै सह सचिवहरू राजन पौडेल, रेखा कँडेल, महेन्द्रकुमार सापकोटा, खडानन्द अधिकारी, गंगाबहादुर क्षेत्री र बलराम निरौला फाजिलमा परेका हुन्।

बैतडीको सिडिओ रहेका सहसचिव डा. डिजन भट्टराईको संखुवासभामा व्यवस्थापन भइसकेको छ। भोजपुरका सिडिओ राजन पौडेल, खोटाङको सिडिओ रेखा कँडेल, जाजरकोटको सिडिओ खडानन्द अधिकारी, सल्यानका सिडिओ महेन्द्र कुमार सापकोटा र रोल्पाका सिडिओ गंगाबहादुर क्षेत्री फाजिलमा परेका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख सहसचिव बलराम निरौला फाजिलमा परेका हुन्। जुम्ला, अछाम र डडेलधुरामा सहससचिवको दरबन्दीमा उपसचिव सिडिओ खटाइएकाले त्यहाँका सिडिओ भने फाजिलमा पर्नु परेन।

गृहको जगेडामा ५ सहसचिव

गृह मन्त्रालयको जगेडामा रहेका सहसचिवहरूमा सुनसरीको सिडिओबाट तानिएका बासुदेव घिमिरे, राष्ट्रिय किताबखानाबाट आएका श्रवणकुमार पोखरेल, उपराष्ट्रपति कार्यालयबाट आएका पौडेल चिरञ्जीवी पौडेल रहेका छन्। त्यस्तै सहसचिवहरू पुष्पराज शाही र भूपेन्द्र थापा लामो समयदेखि गृहको जगेडामा रहेका छन्। थप ६ जना सहसचिव थपिदा गृहको जगेडामा ११ जना सहसचिव पुगेका हुन्।

गृहमा ४ दरबन्दी खाली

गृह मन्त्रालयको प्रशासन र नीति योजना महाशाखामा सहसचिव रिक्त छ। सुर्खेतको सिडिओ र लागु औषध नियन्त्रण विभाग नेतृत्वविहीन अवस्थामा छन्। ४ दरबन्दीमा ११ सहसचिव रहेकाले ७ सहसचिव गृहबाट आउट हुने देखिन्छ। ३०-५५ लागू हुँदा भने ती सहसचिवहरू गृहमै व्यवस्थापन हुनेछन्। तर त्यसका लागि केही समय लाग्छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ