जनकपुरमा चल्यो गुठी संस्थानको डोजर
काठमाडौं। जनकपुरमा शनिबार गुठी संस्थानको डोजर चलेको छ। गुठी संस्थानका प्रशासक शैलेन्द्रराज कुँवरको उपस्थितिमा गुठीको जग्गामा भएको अतिक्रमण हटाउन डोजर चलाइएको हो।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ समेतका प्रतिवेदनमा उल्लिखित सुझाव तथा सिफारिस कार्यान्वयन गर्न गठित कार्यान्वयन समितिको निर्णयानुसार धनुषा जिल्लाभित्र राजगुठीअन्तर्गतका मठ–मन्दिर परिसर, पोखरी तथा पोखरीका डिल र गुठी जग्गामाथि भएको अतिक्रमण नियन्त्रण कार्यको प्रारम्भ भएको गुठी संस्थानको भनाइ छ।
यसैअनुसार, आज प्रथम चरणमा छनोट गरिएका सात वटा पोखरीहरु (विषहरा पोखरी, दशरथ तलाउ, अरगज्जा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर र गोडधोई पोखरी) का डिलमा निर्माण गरिएका अनधिकृत संरचनासहितका अतिक्रमण हटाउने कार्य भइरहेको गुठी संस्थानले जनाएको छ।
गुठी संस्कृति तथा सम्पदा हाम्रो देशको मौलिक पहिचान, इतिहास र सभ्यताको महत्वपूर्ण आधार भएको भन्दै यसको संरक्षण, संवर्द्धन र जगेर्ना गर्नु हामी सबै नेपाली नागरिकको साझा दायित्व स्मरणमा गराएको छ। तसर्थ, गुठी सम्पत्तिमाथि भएका अतिक्रमण हटाई यसको संरक्षण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र पहल गरिदिन गुठी संस्थानले आह्वान गरेको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस