पीडितको पहिचान र गोपनीयताको सम्मान गरौँ, अपराधमाथि अर्को अपराध नगरौँ
काठमाडौं। बलात्कार, यौन हिंसाजस्ता गम्भीर अपराधका घटनामा पीडितको पहिचान खुल्ने तस्बिर वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्नु अत्यन्त संवेदनशील र गम्भीर गैरकानुनी कसुरको विषय हो। यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझै गम्भीर कसूर हो।
समाचार/सामग्री सम्प्रेषणको क्रममा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्यधिक ध्यान दिनु आवश्यक छ। यो नेपालको विद्यमान कानुनी व्यवस्था, पत्रकारिता आचारसंहीता, अन्तर्राष्ट्रिय मानवअधिकार तथा जिम्मेवार पत्रकारिताको स्थापित मान्यतासमेत हो।
त्यसैले सबै सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई गम्भीरतापूर्वक आग्रह गर्दछु—पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन, प्रसारण वा पुनःप्रसारण नगरौँ। प्रकाशित भइसकेका त्यस्ता सामग्रीसमेत तत्काल हटाउने काम गरौँ।
अपराधको समाचार सार्वजनिक गर्नु आवश्यक छ; तर अपराधको रिपोर्टिङ गर्दा पीडितको अधिकार, गरिमा र गोपनीयताको मूल्य बिर्सनु हुँदैन।
पीडितको पहिचान नखुलाउनु गर्नु केवल कानुनी दायित्व मात्र होइन—यो हाम्रो सामाजिक जिम्मेवारी, मानवीय संवेदना र सभ्य समाजप्रतिको प्रतिबद्धता हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस