माओवादी सत्तासँग नजिक दुई सहसचिव पुगे रक्षामा
काठमाडौं। रक्षा मन्त्रालय विगतमा माओवादी सत्तासँग नजिक दुई सहसचिव सरूवा भएका छन्। माओवादी सत्ताबाट पटकपटक लाभ लिएका सहसचिव रूद्रप्रसाद पण्डित र बाबुराम भण्डारी रक्षा मन्त्रालय पुगेका हुन्।
उपसचिव हुँदा माओवादीबाट मन्त्री बनेकाहरूको निजी सचिव समेत भएर काम गरेरका र सहसचिव भएपछि पनि कोर टिममा बसेर काम गरेका सहसचिव पण्डित र भण्डारी प्रधानमन्त्री नै मन्त्री भएको रक्षा मन्त्रालयमा पुगेका छन्। तुलानात्मक रूपमा भण्डारी ‘राम्रा’ प्रशासक मानिन्छन्। श्रम छाडेर उनी रक्षामा पुगेका हुन्।
पण्डित त माओवादी सत्तामा ललितपुरको सिडिओ, गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, पर्यटन विभागको महानिर्देशक, सहकारी विभागको रजिष्ट्रारलगायत महत्त्वपूर्ण जिम्मेवारी थिए। बालकुमारी गोलीकाण्डमा ललितपुरको सिडिओबाट हटाइएका पण्डित गृह मन्त्रालयको प्रशासन महाशाखा, पर्यटन विभागको महानिर्देशक, राष्ट्रिय योजना आयोग, खानेपानी मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय हुँदै रक्षा मन्त्रालय पुगेका हुन्। ४ महिना जागिर बाँकी रहेका पण्डित रक्षा मन्त्रालय सरूवा भएका छन्।
विगतमा माओवादीबाटै लाभ लिएका राजेन्द्र देव पाण्डे अर्थ मन्त्रालय पुगेका छन्। जहाँ पुगेपनि विवादमा आउने अवकाशको मुखमा रहेका सहसचिव पाण्डे अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा भएका हुन्। पाण्डे गण्डकीको अर्थ सचिव हुँदा बजेट विवादमा परेका थिए। पण्डित पुस, पाण्डे फागुन र भण्डारी बैशाखमा ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्।
स्वास्थ्य मन्त्रालय पुगेकी हुमकला पाण्डे, सुनिता नेपालहरूको पृष्ठभूमि पनि त्यस्तै छ।



तपाईको प्रतिक्रिया दिनुहोस