माओवादी केन्द्रीय समिति २९९ सदस्यीय, ४० वर्षमूनिका २० प्रतिशत युवा कमिटीमा


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेगरी अन्तरिम विधान संशोधन प्रस्तावलाई पारित गर्दै यस्तो व्यवस्था गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राष्ट्रिय महाधिवेशन अगावै त्यसलाई लागू गर्ने भएको छ ।

त्यस्तै केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिकामा २ प्रतिशत उत्पीडित दलितको प्रतिनिधित्व थपिने व्यवस्था गरिएको र दलित समुदायलाई विशेष अधिकार दिएर सबै कमिटीमा प्रतिनिधित्व गरिने उहाले बताए ।

त्यस्तै ४० वर्ष उमेर समूहका २० प्रतिशत युवालाई सबै कमिटीमा राखिने उनले बताए ।

पार्टीको सबै कमिटीको पदाधिकारीमा एक जना महिला राख्ने निर्णय गरेको र केन्द्रीय कमिटी २९९ जनाको हुने प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।

माओवादी केन्द्रले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको छ ।

माओवादी केन्द्रले डेडिकेटेड कोभिड-१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित पनि माग गरेको छ ।

प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी वर्तमान ओली नेतृत्वको सरकार विस्थापन गर्न यसअघि नै तयार भएको तर नयाँ सरकार गठनका लागि जसपाको साथ अनिवार्य भएकाले उक्त पार्टीको निर्णय कुरिरहेको प्रष्ट पारे ।

बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले देशको राजनीति र विकसित घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #माओवादी केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com