मान्छेले भाइरस उत्खनन गरिहेका छन्


वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलाल 

केही समयअघिसम्म मत्थर भएको संक्रमण अहिले पुनः बढ्दै गइरहेको छ र यसलाई कोभिड–१९ को दोस्रो लहर भनिदै छ । पहिलो वा दोस्रो लहर भन्ने वैज्ञानिक आधार के हो ?

सन् २०१९ को डिसेम्बरबाट सार्स–कोरोना भाइरस–२ (कोभिड–१९) सुरु भएको हो । चीनको वुहानबाट सुरु भएको भाइरस बिस्तारै विश्वभर पुग्यो । एक व्यक्तिबाट सुरु भएको संक्रमणले हालसम्म विश्वका करिब १४ करोड ६३ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ । तर, अझै संक्रमण रोकिने अवस्था देखिएको छैन । भाइरस संक्रमणका विभिन्न चरण छन् । एकजनाबाट संक्रमण बढ्दै गएर लाखौँ संक्रमण गराइसकेपछि जनस्वास्थ्यका अनेकन नियन्त्रणका प्रयत्नले संक्रमण कम हुँदै जान्छ । पानीको छालजस्तै माथि उठेर तल झर्ने यसले संक्रमणको वक्ररेखा तयार पार्छ । त्यो अवधिलाई भाइरसको पहिलो चरण, फस्ट वेभ अर्थात् पहिलो लहर भनिन्छ । तर, यथास्थितिको बिन्दुमा केस पुगेपछि पुनः संक्रमण बढ्दै गएर चरम बिन्दुमा पुग्ने अवस्थालाई संक्रमणको दोस्रो लहर भनिन्छ । अहिले नेपाललगायत विश्वका धेरै देश पहिलो लहर सकिएर पुनः दोस्रो लहरमा प्रवेश गरेका छन् ।

अहिले भारत वा नेपालमा फैलिएको भाइरस वुहानको भेरियन्ट हो कि युकेको अथवा अन्य कुनै ? यसलाई छुट्याउने प्रविधि हामीसँग छ कि छैन ?

कोरोना भाइरस सन् १९६० मै प्रकृतिमा देखिएको हो । यसका विभिन्न स्वरूप पछिल्लो समय मानिसमा देखिन थालेका छन् । सन् २००३ मा सार्स कोरोना भाइरस देखियो । त्यस्तै, सन् २०१२ मा मर्स कोरोना भाइरस देखियो भने सन् २०१९ मा आएर सार्स कोरोना भाइरस–२ भनेर चीनको वुहान सहरमा देखियो ।
चीनको वुहानमा देखिएको कोरोना भाइरस–२ को स्वरूप ‘एल’ भन्ने भेरियन्ट (प्रजाति) थिए । ती प्रजाति बिस्तारै–बिस्तारै ‘एस’, ‘भी’ र ‘जी’ भन्ने भेरियन्टको स्वरूपमा देखिए । तर, त्यो ‘जी’ भेरियन्टमा पनि आनुवंशिक उत्परिवर्तन भएर अहिले युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतमा डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । भाइरसका विभिन्न खाले आनुवंशिक उत्परिवर्तन विश्वभर देखिएका छन् ।

चीनको वुहानमा देखिएको कोरोना भाइरस–२ को स्वरूप ‘एल’ भन्ने भेरियन्ट थियो । त्यो प्रजाति बिस्तारै–बिस्तारै ‘एस’, ‘भी’ र ‘जी’ भन्ने भेरियन्टको स्वरूपमा देखिए । तर, त्यो ‘जी’ भेरियन्टमा पनि आनुवंशिक उत्परिवर्तन भएर अहिले युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतमा डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । भाइरसका विभिन्न खाले आनुवंशिक उत्परिवर्तन विश्वभर देखिएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको आनुवंशिक स्वरूप अर्थात् होल जिनोम सिक्वेन्सिङ गर्ने हो भने नेपालमा पनि कोरोना भाइरसका नयाँ स्वरूप देखा पर्न सक्छन् । भाइरसहरू बाँच्नका लागि प्रत्येक समय वा पल परिवर्तित भइरहेका छन । नेपालमा कोरोनाको भेरियन्ट पत्ता लगाउनका लागि आवश्यक पर्ने प्रविधि भित्रिसकेको छैन । अहिले आरटी पिसिआर प्रविधिमार्फत कोरोना जाँच गरिन्छ । हालसालै जिनोम सिक्वेन्सिङ गरी नयाँ परिवर्तित स्वरूप पत्ता लगाउने उपकरण पनि आइसकेको छ । तर, त्यस्ता उपकरण दिनहुँ परीक्षणमा नभई अध्ययन अनुसन्धानमा मात्रै केही उपयोगमा आएको छ ।
नेपालमा युके भेरियन्ट छुट्याउन सक्ने अवस्था पनि छैन । स्पाइक प्रोटिनमा भएको म्युटेसनलाई एस जिनको आरटी पिसिआर गरेर हेरिन्छ । आरटी पिसिआर परीक्षणमा एस जिन नेगेटिभ आएको खण्डमा त्यसलाई युके भेरियन्ट भएको अनुमान गर्न सकिन्छ । तर, युके भेरियन्ट हो÷होइन भनेर दाबी गर्नका लागि विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रयोगशाला हङकङ पठाइन्छ र होल जिनोम सिक्वेन्सिङबाट मात्र युके भेरियन्ट वा अरू भेरियन्टहरू निक्र्योल गर्न सकिन्छ ।

भाइरसले आफ्नो स्वरूप परिवर्तन किन गर्छ ? यसरी परिवर्तन हुँदै जाँदा मानव जगत् र विज्ञानले यसको सामना कसरी गर्ला ?

सूक्ष्म जीवाणु अर्थात् ब्याक्टेरिया, भाइरसहरू प्रकृतिमा लाखौँ वर्षदेखि छन् । जब पृथ्वी सेलाउँदै आयो, सूक्ष्म जीवाणुहरूले पनि आफूलाई त्यहीअनुकूल बनाउँदै लगे । यिनीहरू आफू बाँच्ने क्रममा आफ्नै स्वरूप परिवर्तन गर्दै जान्छन् । प्रकृतिमा बाँच्नकै लागि स्वरूप परिवर्तन गरिरहन्छन । एउटा सूक्ष्म जीवाणुले अर्को सूक्ष्म जीवाणुलाई मार्ने अवस्था पनि हुन्छ । प्रकृतिमा बाँच्न र अरूले नमारून् भन्नका लागि तिनले आफ्नो स्वरूप परिवर्तन गर्छन ।

कोरोना भाइरस सुरुमा जंगली जनावर बाँदर र चमेरोमा थियो । मानिस र जनावरबीचको प्रतिस्पर्धा भयो भने ती भाइरस प्रकृतिबाट मानिससम्म ‘स्पिल ओभर’ वा पोखिएर आइपुग्छन । मानिसमा आइपुग्दा उनीहरू बाँच्न सक्ने भएर आउँछन् र मानिसलाई संक्रमण गराउँछन । मानिसलाई संक्रमण गराइसकेको अवस्थामा ती भाइरसलाई मार्न कि खोप आवश्यक पर्छ, कि त भाइरस आफैँ कमजोर भएर प्रकृतिमा बाँच्न नसकेर सीमित हुन्छन ।

सार्स कोरोना भाइरस–२ ले आफ्नो स्वरूप परिवर्तन गरेर बाँच्न खोजेको छ । यो मानव जीवनबाट हराउन खोजेको छैन । त्यसैले अहिले विज्ञानले कस्तो अवस्थामा हराउँछ भन्न सक्ने अवस्था छैन । विज्ञान र चिकित्साशास्त्रका लागि निकै ठूलो चुनौतीको विषय हो, यो । अझ पछिल्लो समय आनुवंशिक उत्परिवर्तित सार्स कोरोना भाइरस–२ का विभिन्न म्युटेन्टहरू खोपको प्रभावकारिताबाट बाँच्न सफल भई संक्रमण गराउन उन्मुख छन्, जुन विश्व र विज्ञानका लागि ठूलो चुनौती बनेको छ ।

विश्वमा कयौं भाइरस छन् भनिन्छ, ती भाइरस मान्छेसम्म कसरी आइपुग्छन् ?

कोरोनाजस्तै प्राणघातक भाइरस करोडौँ छन । यी भाइरस जंगली जनावर, समुद्रमा पाइने जनावरमा बाँचिरहेका छन । लाखौँ वर्षदेखि पृथ्वीमा यस्ता भाइरसको विकास भएको हो । करिब एक लाख वर्षदेखि मानिस यहाँ बाँचिरहेका छन । तर, पछिल्लो समयमा प्रकृति र जंगली जनावरसँग हामीले द्वन्द्व निम्त्यायौँ । प्रकृति मास्ने, जंगली जनावर मारेर खाने जस्ता काम बढ्दै गए । यसैको फलस्वरूप जनावरमा भएको भाइरस मानिसमा सरेको हो । आनुवंशिक परिवर्तनशील भएर भाइरस मानिसमा सरेको हुन्छ । यसरी मानिसमा सरेको भाइरस एकजनामा मात्रै सीमित भएर बस्दैन । उदाहरणका लागि एक सय वर्षअघिको स्पेनिस फ्लु काफी छ । अहिले देखिएको कोरोना भाइरस पनि त्यसको अर्को उदाहरण हो । यी दुवै भाइरस जंगली जनावरबाट मानिससम्म आइपुगेका हुन । हामीले प्रकृति र जनावरलाई संरक्षण गर्दै मानिससँगको दूरी कायम गर्न सकेको खण्डमा मात्रै भाइरसको संक्रमणलाई कम गर्न सक्छौँ ।

ाममानिसमा खोप लगाएपछि कोभिड निको हुन्छ कि हुँदैन भन्ने अझै पनि स्पष्ट छैन । यस विषयमा अध्ययनहरूले के देखाएका छन् ?

खोपले कोरोना नियन्त्रण गर्ने विषय आफैँमा विवादास्पद छ । सबै खोपका आ–आफ्नै प्रभावकारिता छन । कुनै खोपले ५० प्रतिशत सुरक्षित बनाउँछ भने कुनैले ८० प्रतिशत बनाउँछ । कतिपय मानिस खोप लगाएर पनि संक्रमित भएका छन । त्यसैले खोप मात्र त्यस्तो कुनै रामवाण होइन । कोरोना नियन्त्रणको सबैभन्दा मुख्य पाटो खोपभन्दा पनि जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरियो कि गरिएन भन्ने हो ।

कोरोना संक्रमण शून्यमा झारेपछि मात्रै क्रमशः संक्रमण हटेर जान्छ । उदाहरणका लागि कोरोना भाइरस जतिवेला वुहानमा देखियो, नितान्त नयाँ किसिमको भाइरस थियो । सन् २०१९ मा सुरु हुँदा विभिन्न किसिमका अड्कल गरिएको थियो । त्यस वेला अनुमान गर्दा श्वासप्रश्वाससँग सम्बन्धित एक प्रकारको सूक्ष्म जीवाणु भएका कारणले गर्दा यसले जाडोमा मात्रै असर गर्छ कि भन्ने अध्ययन भएका थिए । तर, अहिले बुझ्दा यसले जाडो र गर्मी दुवै ठाउँमा उत्तिकै प्रभाव पारिरहेको छ । युरोपमा चिसो हुँदा पनि र साउथ एसियामा गर्मी हुँदा पनि यसले आफूलाई सक्रिय बनाएकै छ । यसबाट के बुझिन्छ भने यसले आफ्नो रूप परिवर्तन गरिरहेको छ ।

क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : ##डा. सन्तोष दुलाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ