महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने कार्यक्रम ल्याउँछु: भगवती चौधरी


काठमाडौं । भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षमा चुनाव उठेकी छिन् । एमाले उम्मेदवार चौधरी कांग्रेसका विजयकुमार गच्छदारसँग तेस्रोपटक चुनाव लड्दै छिन् ।

विभिन्न एनजिओमार्फत महिला सशक्तीकरण र उद्यमशिलतामा काम गर्दै आएकी उनी विजयलाई पराजित गरेर संसदमा छिर्ने दाउमा छिन् । यसअघिका चुनावमा झिनो मतान्तरले पराजित चौधरी यसपटक जित हासिल गर्नेमा आशावादी छिन् । उनै चौधरीसँग लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा स्वास्थ्य लाइभले गरेको कुरकानी :

बालबिबाह, महिलाहरूको महिनावारीमा विभेद, लैङ्गिक हिंसा जस्ता विषयलाई तपाईंले कसरी लिनुभएको छ ?

महिलाविरूद्ध हुने सम्पूर्ण हिंसाको विरोध गर्दै आएको छु । जात, वर्ग, लिङ्ग, पेशा, धर्म, सम्प्रदाय आदिका आधारमा हुने विभेद अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो । बालबिबाह, महिलाहरूको महिनावारीमा विभेदको कट्टर विरोधी हुँ । लैङ्गिक हिंसाविरुद्ध म सधै उभिएको छु । विभिन्न कार्यक्रममार्फत महिलाको उत्थानका लागि विशेष काम गर्दै आएकोले यस्ता कुरालाई मैले गम्भीर रुपमा लिने गरेको छु ।

गर्भवती महिलाहरूले सहज र सरल तवरले गर्भाधान गर्न सकिरहेका छैनन् भन्ने सुनिँदै आएको छ, यसमा के भन्नु हुन्छ ?

महिलाको प्रजनन स्वास्थ्य र अधिकारको विषयमा म सधै बोल्दै आएको छु । गर्भवती महिलाहरूले सहज र सरल तवरले गर्भाधान गर्न पाउनु  नैसर्गिक अधिकारको कुरा हो । यसका लागि राज्यले विशेष कार्यक्रम ल्याउनु पर्छ ।

बालिका, किशोरी र महिलाहरूले हरेक क्षेत्रमा सुरक्षित, सम्मानित मर्यादित र भयरहित वातावरणमा काम गर्न नपाउनुको कारण के हो ?

नेपाली समाज पितृसत्तात्मक सोचबाट माथि उठ्न सकेेको छैन । बालिका, किशोरी र महिलाहरूले हरेक क्षेत्रमा सुरक्षित, सम्मानित मर्यादित बनाउने राज्यको पनि दायित्व हो । महिलालाई आत्मनिर्भर, स्वरोजगार बनाउने मेरो मुख्य एजेण्डा हो । यी विषयलाई घोषणापत्रमा समेत राखेको छु । राजनितीमा लाग्नु अगावै आम महिलाहरूलाई उद्यमशिल बनाउने अभियानमा थिए । अब युवा युवतीलाई स्वरोजगार बनाउनका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने छु ।

महिलाहरूले  भयरहित वातावरणमा काम गर्न पाउने अवस्थाको सिर्जना गर्न पहल गर्ने छु । सदनमा मेरो मुख्य अभिभार नै त्यहि हुने छ । महिलाहरूलाई सामाजिक सुरक्षासहितको  न्यायको अनुभूति दिलाउन कदम चाल्नेछु ।

विकास, समृद्धि सुशासनलाई सामाजिक न्यायमा मानव विकाससँग कसरी जोड्नु हुन्छ ?

नेपालमा विकासलाई सामाजिक न्याय र मानव विकाससँग जोड्ने काम खासै भएको छैन । यसका लागि नीतिगत तहमा पनि प्रयाप्त छलफल भएको देखिँदैन । हामी यी विषयलाई नीतिगत तहमै उठाउँछौं । विकास, समृद्धि सुशासनलाई सामाजिक न्यायमा मानव विकाससँग जोडेर खाका चित्रण गर्न पहल गर्छौं ।

चुनावी माहोलमा महिलाहरूमाथि यौनजन्य हिंसा बढिरहेको छ भन्ने सुनिन्छ यहाँ के भन्नुहुन्छ ?

चुनावी माहोलमा मात्रै होइन पछिल्लो समय जुनसुकै बेला महिलाहरूमाथि यौनजन्य हिंसा बढिरहेको सञ्चार माध्यममा समाचार आइरहेका छन् । यसमा राज्य गम्भीर बन्नै पर्छ । महिलाहरूमाथि हुने यौनजन्य हिंसा नियन्त्रणका लागि सदनमा आवाज उठाउने छु । राज्यलाई झक्झक्याउने छु ।

क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #भगवती चौधरी, #महिला हिंसा, #विजयकुमार गच्छदार, #सुनसरी-३

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com