महिलाहरूमाथि हुने यौनजन्य हिंसा रोक्न सदनबाट पहल गर्छौं : भीष्मराज आङ्देम्बे


काठमाडौं । भीष्मराज आङ्देम्बे पाँचथरबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी नेपाली कांग्रेसका सहमहामन्त्री समेत हुन् । आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधसभको चुनावमा जित्ने दाउमा रहेका आङ्देम्बेसँग लैङ्गिक समानता, महिला हिंसा नियन्त्रणजस्ता विषयमा स्वास्थ्य लाइभले गरेको कुराकानी :

समाजमा रहेका हानीकारक अभ्यास अर्थात बालबिबाह, महिनावारीमा महिलाहरूमाथि हुने विभेद, लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसारको नियन्त्रण जस्ता विषयलाई तपाईंले कसरी लिनुभएको छ ?

नेपाल समाजमा यस्ता विकृतिका जड अझै कायम छन् । महिला विरुद्ध हुने हरेक किसिमका हिंसा अन्त्यका लागि हामीले संविधानमै उल्लेख गरेका छौं । संविधानसभाको सदस्यको नाताले हामीले यी विषय संविधान लेखन कै क्रममा उठाएका थियौं । संविधानमा आएका लैङ्गिक समानता लगायतका कुरा अब कठोर कार्यान्वयन गर्नुपर्छ । निर्वाचित भएर गएपछि यी मुद्दामा जोड दिन्छौं । बालबिबाह, महिनावारीमा महिलाहरूमाथि हुने विभेद, लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसारको नियन्त्रण जस्ता विषयमा प्रयाप्त कानुन छ । त्यसलाई कार्यान्वयन गर्नका लागि संसदबाट सरकारको ध्यानाकर्षण गराउने छु ।

नेपालमा गर्भवती महिलाहरूले सहज र सरल तवरले गर्भाधान गर्न सकिरहेका छैनन् यसलाई कसरी सहजिकरण गर्नुहुन्छ ?

गर्भवती महिलाहरूले सहज र सरल तवरले गर्भाधान गर्न पाउनका लागि बाधा उत्पन्न हुने खालका कानुनमा सहजिकरण गर्न सकिन्छ । त्यसका लागि यो क्षेत्रमा काम गर्नेहरुसँग बसेर छलफल र बहस गरी निकास निकाल्न सकिन्छ । कानुनी र व्यवहारिक पाटोमा समेत छलफल गरेर सहजिकरण गर्ने छु ।

बालिका, किशोरी र महिलाहरूले हरेक क्षेत्रमा सुरक्षित, सम्मानित मर्यादित र भयरहित वातावरणमा काम गर्न पाईरहेका छैनन् यसमा तपाईंको धारणा के छ ?

बालिका, किशोरी र महिलाहरूले हरेक क्षेत्रमा सुरक्षित, सम्मानित मर्यादित बनाउन आफूहरूले पटकपटक आवाज उठाउँदै आएका छौं । महिलामैत्री कानुन बनाउन कैयौं पटक कानुन निर्माणका क्रममा राय, सल्लाह र सुझाव दिएको छु । उनीहरूले भयरहित वातावरणमा काम गर्न पाउने ग्यारेन्टी राज्यले गर्नुपर्छ । मौलिक अधिकार कार्यान्वयमा जोड दिए यस्ता समस्या समाधान हुन्छन् । यसका लागि राज्य संयन्त्रलाई झक्झक्याउने काम गर्छु ।

सुशासन, विकास र समृद्धिसँग मानव विकास, सामाजिक विकासलाई कसरी जोड्नु हुन्छ ?

मानव विकास र सामाजिक विकासबिनाको सुशासन, विकास र समृद्धि अर्थहीन हुन्छ । हरेक विकासले सामाजिक न्याय गर्नुपर्छ । समृद्धिमा मानव विकास र सभ्यतामा झल्किनु पर्छ । यसका लागि कानुन निर्माताहरु र सरकार सञ्चालन गर्नेहरुले ध्यान दिनुपर्छ । अवसर पाएको खण्डमा यी कुरामा विशेष ध्यान दिने छु ।

अहिले महिलाहरूमाथि यौनजन्य हिंसा बढिरहेको छ यसलाई कसरी रोक्न सकिन्छ ?

महिलाहरूमाथि यौनजन्य हिंसा बढिरहेको हामीले पनि देखेका छौं । बलत्कारका घटनाहरु बढ्दै गएको समाचारहरु आएका छन् । यसलाई नियन्त्रण गर्न सामाजिक सचेतना अनिवार्य हुन्छ । महिलाहरूमाथि हुने यौनजन्य हिंसा रोक्न राज्यले सचेतना कार्यक्रम नै सञ्चालन गर्नु पर्छ जस्तो लाग्छ । यसका लागि हामी सदनबाट समेत पहल गर्छौं ।

क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #कांग्रेस सहमहामन्त्री, #पाँचथर, #भीष्मराज आङ्देम्बे, #महिलाविरुद्धको हिंसा नियन्त्रण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com