महिला हिंसाविरुद्ध सदनमा सशक्त आवाज उठाउने छु : भीम आचार्य


काठमाडौं । भीम आचार्य नेकपा एमालेबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री समेत रहेका आचार्य सुनसरी-२ बाट निर्वाचित भएर सांसद बन्ने अभियानमा छन् ।  महिला हिंसा, प्रजनन स्वास्थ्य, मानव विकासका विषयमा सदनमा खेल्ने भूमिकाको विषयमा आचार्य लाइभसँग  यसरी खुले ।

सामाजिक विकृतिका रुपमा रहेका बालबिबाह, महिलाहरूको महिनावारीमा विभेद, लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसारको विषयलाई तपाईंले कसरी लिनुभएको छ ?

नेपाल समाजमा रहेको यस्ता विकृति रोक्नका लागि नीतिगत, कानुनी र व्यवहारिक कार्यक्रम ल्याउनु पर्छ । पछिल्लो समय बालबिबाह केही हदसम्म घटेको छ । सामाजिक चेतना फैलाउन सकेका बालबिबाह, महिलाहरूको महिनावारीमा विभेद, लैङ्गिक हिंसाका घटना क्रमशः घट्दै जाने छ ।

मानव बेचविखन तथा ओसारपसारको विषय बनेको नेपालको विद्यमान कानुन उपयुक्त भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन । संसदले बनाएको कानुन प्रभावकारी  कार्यान्वयन भए-नभएको विषयमा बेला-बेलामा संसदीय अनुगमन गर्नु पर्ने देखिन्छ । समाजमा भएका त्यस्ता विकृति महिला हिंसा नियन्त्रण गर्नका लागि सदनमा गएर प्रभावकारी भूमिका खेल्ने छु ।

नेपाली समाजमा महिलामाथि हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको छैन, अझैपनि गर्भवती महिलाहरूले सहज र सरल तबरले गर्भाधान गर्न सकिरहेका छैनन्, तपाईंको के कस्तो योजना छ ?

हामीले संविधानसभाबाट जारी गरेको संविधानले महिलामाथि कुनै किसिमको भेदभाव गर्न नपाउने व्यवस्था गरेको छ । कानुन निर्माण गरेर महिला अधिकारका विषयमा विशेष व्यवस्था गर्ने समेत उल्लेख गरिएको छ । तुलनात्मक रूपमा अहिले महिला अधिकारका हामी खुला भएका छौं । जहाँसम्म गर्भवती महिलाहरूले सहज र सरल तबरले गर्भाधान गर्न सकिनरहेका विषयमा कानुनका साथसाथै सामाजिक सचेतना र प्रजनन स्वास्थ्यका विषयमा विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यो विषयमा सदनमा समेत बेला-बेलामा छलफल भइरहनु पर्छ । नीतिगत विषयमा सदनमा आवाज उठाएर सुधारका लागि प्रयत्न गर्ने छु ।

महिलाहरूले हरेक क्षेत्रमा सुरक्षित, सम्मानित मर्यादित र भयरहित वातावरणमा काम गर्न र सामाजिक सुरक्षासहितको न्यायको अनुभूति गर्न पाएका छैनन्, यहाँको पार्टी र आगामी योजना के छ ? 

नेकपा एमालेले यो विषय महिला अधिकारको विषयलाई गम्भीरतापूर्वक उठाउँदै आएको छ । बालिका, किशोरी र महिलाहरूले हरेक क्षेत्रमा सुरक्षित, सम्मानित मर्यादित र भयरहित वातावरणमा काम गर्न र सामाजिक सुरक्षासहितको न्यायको अनुभूति दिलाउन हाम्रो पार्टीले विशेष भूमिका खेल्छ । यो विषयमा हामी जितेर गएको खण्डमा सदनमा गएर कुरा उठाउँछौं । हाम्रो पार्टी यी विषयमा गम्भीर छ । नीतिगत व्यवस्थाका लागि हामी भगिरथ प्रयास गर्ने छौं ।

विकास, समृद्धि, सुशासन र न्यायमा मानव विकास, सामाजिक विकासलाई लिने नगरिएको यो समाजमा तपाईंको मान्यता र धारणा के छ ?

नेकपा एमालेको घोषणापत्र मै यी विषयहरुलाई प्रस्ट रुपमा उल्लेख गरिएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ हाम्रो मुल लक्ष्य हो । सुखी नेपालीभित्र मानव विकास, सामाजिक विकासलाई लिन सकिन्छ ।

मानव विकास र मानव स्रोतलाई पनि हामीले विकासको मुख्य स्रोतका रुपमा लिएका छौं । हामीले समाजमा विद्यमान हरेक सामाजिक समस्यालाई चिरफार गर्नेतर्फ लाग्नु पर्छ । जहाँ समस्या देखा पर्छ त्यहीं समाधानका उपाय खोज्ने हो । सबैलाई न्याय हुने गरेर हामीले समृद्ध नेपाल बनाउतर्फ हाम्रो ध्यान जानेछ ।

अहिले महिलाहरूमाथि यौनजन्य हिंसा बढिरहेको छ भन्ने विभिन्न महिला अधिकारकर्मीदेखि उक्त क्षेत्रसँग सम्बन्धित निकायबाट कुरा आइरहेको छ, यसमा यहाँ के भन्नुहुन्छ ?

महिलामाथि सम्मान नहुने समाज उभो लाग्न सक्दैन भनिन्छ ।महिलाहरूमाथि हुने यौनजन्य हिंसा रोक्नका लागि राज्यका संयन्त्रहरुले प्रभावकारी कदम चाल्नु पर्छ । राज्यका संयन्त्रहरु चलायमान गराउनु पर्छ ।

महिलाहरूमाथि हुने यौनजन्य हिंसा र घरेलु हिंसाविरूदका कानुन प्रभावकारी कार्यान्वयन गर्न सदनबाट सरकारलाई दबाब दिनुपर्ने देखिन्छ । त्यो विषयमा भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छु । यस्ता गतिविधि रोक्न हामीले मिलेर काम गर्नु पर्ने हुन्छ । सांसदहरु यी विषयहरु सदनमा उठाउनु पर्छ ।

क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : #भीम आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com