भोजपुरको याङपाङमा समुदायमा फैलियो कोरोना


भाेजपुर । जिल्लाकाे अरुण गाउँपालिका वडा नम्बर १ याङपाङमा कोरोना भाइरस ( कोभिड- १९ ) को संक्रमण समुदायमानै फैलिएको पुष्टि भएको छ ।

याङपाङको ( साविकको वडा नम्बर ६ र ७ ) घ्याङसिङ टोलमा १७ जनामा गरिएको परीक्षणका ११ जनाको कोरोना भाइरस लागेको पुष्टि भएको हो ।स्थानीय समाजसेवी शालिकराम खत्रीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर आवश्यक औषधि वितरण गरेको छ । स्वास्थ्यकर्मीसहितको टोलीले संक्रमितको स्वास्थ्य अवस्थाकोसमेत जानकारी लिएको हो ।

घ्याङसिङकी एक जना महिला छिमेकी षडानन्द नगरपालिकाको झ्याउपोखरीमा बिबाहको निम्तो मान्न गएर घर फर्किएको केही दिनमा बिरामी भएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । ती महिलाको घरमा टेलिभिजन हेर्न आएका १७ जना व्यक्ति कन्ट्रयाक ट्रेसिङमा परेका थिए । कन्ट्रयाक ट्रेसिङमा परी परीक्षण गरिएका १७ जनामध्ये ११ जनामा संक्रमण पोजेटिभ भएपछि कोरोना भाइरस समुदायमै फैलिएको पुष्टि भएको हो ।

कोरोना भाइरस समुदायमै फैलिएको पुष्टि भएपछि अरुण गाउँपालिका वडा नम्बर १ कार्यालयले याङपाङ प्यूठगाउँको तल्लो टोल, माथिल्लो घ्याङसिङ, तल्लो घ्याङसिङ र चिपापानी टोललाई १५ दिनका लागि सिल गरेको छ ।

वडाध्यक्ष नगेन्द्र खत्रीले एक सूचना जारी गर्दै एक घरका मानिस अर्को घरमा नजाने, एक टोलबाट अर्को टोलमा नजानका लागि सबैलाई अनुरोध गरेका छन् । होम आइसोलेसनमा बसी रोग विस्तार हुन नदिन सबै वडावासीलाई उनले सचेतसमेत गराएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com