देशभर ५१ हजार ४३ डोज कोभिसिल्ड भ्याक्सिन मौज्दात, असारबाट म्याद सकिदै (कुन प्रदेशमा कति छ)


काठमाडौं । देशभर ५१ हजार ४३ डोज कोभिसिल्ड खोप प्रयोग गर्न बाँकी छ । सरदर १२ लाख ५० हजारले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारतले खरिद गरेको १० लाख डोज खोप नदिएपछि उक्त संख्याका नागरिकहरु पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा छन् ।

सरकारको भनाई अनुसार ६५ वर्ष माथि उमेर समूहका झण्डै साढे १२ लाखले दोस्रो मात्रा लगाउने समय भइसकेको छ । तर, खोपको सुनिश्चितता नहुदा खोपको पहिलो मात्राले बिस्तारै काम गर्न छाड्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिसिल्ड खोप सकिएको बताएको छ । स्वास्थ्य लाइभले कोभिसिलण्डको मात्रा सकिए नसकिको केलाउने काम गरेको छ । खोज्दै जाँदा शुक्रबार सम्म देशभर ५१ हजार बढी कोभिसिल्ड मौज्दात रहेको छ । उक्त खोपको म्याद सकिन लागेकाले तत्काल प्रयोग गर्नुपर्ने देखिएको छ । कोभिसिल्डको म्याद असारमा सकिदैछ ।

स्वास्थ्य लाइभले खोप पत्ता लगाएपछि सरकारी अधिकारीहरुले त्यसलाई स्वीकार गरेका छन् । स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, करिब ४५–५० हजारको संख्यामा कोभिसिल्ड खोप होला ।

६५ वर्ष माथि उमेर समूहमा लगाउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीहरुलाई छास्स छुस्स लगाउन राखिएको हो । तथ्यांक अनुसार केन्द्रमा ८०६, प्रदेश एक मा २१७०, प्रदेश २ मा ११६१५, बाग्मती प्रदेशमा ९१४१, गण्डकी प्रदेशमा ५०५०, लुम्बिनी प्रदेशमा ११३३९, कर्णाली प्रदेशमा ४४२६, सुदुरपश्चिम प्रदेशमा ६४९६ गरी ५१ हजार ४३ डोज कोभिसिल्ड भ्याक्सिन मौज्दात रहेको छ ।

ती अधिकारीले भने, ६५ वर्ष माथिकालाई दोस्रो डोज पुग्दैन भनेर नदिएको हो । बाँकी रहेको खोप छास्स छुस्स लगाइरहेका छौं । आज सर्वोच्च अदालतमा पनि लगाइदैछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com