डब्लुएचओका कम्युनिकेसन कन्सल्ट्यान्ट सुनूर वर्माको शंकास्पद भूमिकाः कर्मचारी र नेताका मान्छेलाई जागिर दिँदै बटालियन तयार पार्दै


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारीका लागि कम्युनिकेसन कन्सल्ट्यान्टका रुपमा काम गर्न पठाएको एक भारतीय नागरिकको भूमिकामाथि प्रश्न उठेको छ । एक वर्ष अगाडि नेपाल आएका डब्लुएचओ कम्युनिकेसन कन्सल्ट्यान्ट सुनूर वर्माले नेपालमा बसेर महामारीको क्षेत्रमा कुनै काम गरेका छैनन् । उनले नेपाल बसेर शंकास्पद गतिविधि सञ्चालन गरिरहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत उनको भूमिकाप्रति सशंकित बनेको छ । वर्माले नेपालमा बसेर के काम तथा गतिविधि गरिरहेका छन् मन्त्रालयसँग कुनै जानकारी छैन । बरु उनले ठूलो बटालियन तयार पार्दैछन् । उनले तयार पारेको बटालियनको काम, कर्तब्य र अधिकारसमेत शंकास्पद भएको विश्व स्वास्थ्य संगठनमा आवद्ध कर्मचारीहरु नै बताउँछन् ।

मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी उनको भूमिकाबारे आफू अनभिज्ञ भएको बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखासँग समन्वयगरी काम गर्नुपर्ने वर्माले कसैसँग समन्वय गरेका छैनन् ।

‘विगतका केही मिटिङ्मा वर्मालाई देखिएको थियो, डा. लोहनीले भने, ‘अहिले उनले के गर्दैछन् कुनै जानकारी छैन । मैले नबुझि उनको पछिल्लो गतिविधिकाबारेमा बोल्न सक्दिन ।’,

स्रोतकाअनुसार वर्माले नेता र कर्मचारीका आफन्तलाई डब्लुएचओमा जागिर लगाउनेबाहेक कुनै काम गरेका छैनन् । सम्बन्ध सुधार गर्न वर्माले कर्मचारीमा सहसचिवमाथि र नेताका मान्छे खोजीखोजी हिडेको उनकै सहकर्मीहरु बताउँछन् ।

दुर्गम गाउँमा गएर महामारीबारे सूचना प्रवाह गर्ने भूमिका लिएर नेपाल आएका वर्माले कयौं नेता र कर्मचारीका मानिसलाई जागिर खुवाउने र सम्बन्ध सुधार तथा विस्तार गरेर नेपालका गोप्य सूचना लिने काम थालेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन्, ’कम्युनिकेसन मात्रै हेर्ने अधिकार पाएको वर्माले अहिले सबै सरकारी अड्डाका हाकिम हातमा लिएका छन् । नेपाली कर्मचारीले गर्दै आएको कम्युनिकेसन अहिले सुनूर वर्मालाई दिइएको छ । यसको मुख्य उद्देश्य भनेको डब्लुएचओको कामभन्दा पनि भारतसँगको सम्बन्ध मजबुत बनाउन वर्माले भूमिका खेलेका छन् ।’,

उनले यस बिचमा राष्ट्रपतिकी छोरी देखी थुप्रै नेताका मान्छेलाई जागिर लगाएका डब्लुएचओ स्रोत बताउँछ । स्वास्थ्य मन्त्रालयले हेल्थ सेक्टर कोर्डिनेशन कार्यक्रम हाम्रो मातहतमा हुनुपर्छ भन्ने ख्याल नगर्दा समस्या आएको सोही संस्थामा काम गर्ने कर्मचारी बताउँछन् ।

डब्लुएचओस्रोतका अनुसार वर्माले तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रेस सल्लाहकार सुदन ज्ञवालीलाई डब्लुएचओमा जागिर लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम भण्डारीदेखि, प्रेस सल्लाहकारलाईसमेत डब्लुएचओमा जागिर लगाईदिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुमका पति अभिशेष यादव चीनबाट खरिद गरिएको ४० लाख डोज भेरोसेल खोपको कमिसन एजेन्ट रहेको सिंहदरबारमा चर्चा छ । यसमा निशा र वर्माकोसमेत भूमिका जोडिएको चर्चा चलेको हो ।

भारतीय दूतावासका लागि सूचना व्यवस्थापन गर्ने गरेको आरोप लागेका वर्माले स्वास्थ्य विमा बोर्डका सदस्य एवं स्वास्थ्य क्षेत्रका आईएनजीओ माफिया डा. सुरेश तिवारीकी छोरी सुभेक्षा तिवारी, तत्कालीन् अर्थमन्त्री युवराज खतिवडाको छोरा दिपेन्द्र खतिवडालाई पनि डब्लुएचओमा जागिर मिलाईदिएका छन् ।

वर्माले नेपालमा बसेर नियमभन्दा बाहिर गएर काम गरिरहेको सरकारी अधिकारीहरु बताउँछन् । डब्लुएचओका अधिकारीहरुले बताएअनुसार वर्माले अदृश्य रुपमा बिनाकाम कयौंलाई जागिर दिएका छन् । उनिहरु भन्छन्, ’महामारीका काम गर्न आएका वर्माले नेपालमा बसेर सहसचिवमाथिका कर्मचारीका आफन्तलाई जागिर बाँड्दै ठूलो बटालियन खडा गरेर बसेका छन् । तर, महामारीको काम आफूले गरेको भन्न छाडेका छैनन् ।’

वर्माको भूमिका के हो ?

महामारीको समयमा कम्युनिकेसन म्यानेजम्यान्ट हेर्न वर्मा नेपाल आएका हुन् । उनी नेपाल आएको एक वर्षभन्दा बढी भएको छ । महामारीको समयमा दुर्गम गाउँमा के गर्न हुन्छ के हुँदैन भन्ने विषयमा वर्माले राम्रोसँग काम गर्नुपर्ने हो ।

कोरोनाविरुद्धको खोप अभियान चलेकाले गाउँ–गाउँका आम नागरिकलाई खोपको असर र यसको प्रभावकारिता जस्ता अति विशेष काममा यिनको महत्त्वपूर्ण भूमिका हुनुपर्छ । जोखिम व्यवस्थापनमा उनले कुनै भूमिका नखेलेको डब्लुएचओ कै अधिकारीहरु आरोप लगाउँछन् । उनले दुर्गममा गएर कुनै काम नगर्नुको कारण नेता र कर्मचारीसँगको घनिष्ट सम्बन्ध भएको अधिकारीहरुको बुझाई छ । उनले जागिर लगाएका कयौं मानिस घरमा बसेर तलव मात्रै बुझिरहेका छन् ।

सांसदलाई जनचेतना प्रवाह भनेर पनि यिनले काम गरिरहेका छन् । जुन उनिहरुलाई कुनै आवश्यक छैन । वर्माले खाममा मोटो रकम दिएर पुरै सांसदसमेत खुसी बनाएका छन् । यति मात्रै हैन वर्माले स्वास्थ्य मन्त्रालयका हरेक हाकिमको कोठामा गएर टिभी, टेलिफोन, फोटोकपी मेसिन, घडी चले÷नचलेकोबारे जानकारी दिँदै आएका छन् ।

स्वास्थ्य आपत्कालीन् केन्द्रका प्रमुख डा. समिर अधिकारी र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रकी प्रमुख डा. राधिका थपलिया लगायतलाईसमेत वर्माले आफ्नो अन्डरमा राखेर काम गरिरहेको अधिकारीहरु बताउँछन् । दार्चुला, डडेल्धुरा, जस्ता क्षेत्रमा जनचेतना फैलाउन वर्माले के योगदान गरेका छन् अधिकारीहरुले प्रश्न गरेका छन् । अधिकारीहरुले नेपालको डब्लुएचओमा आवद्ध कर्मचारी र उनिहरुको कामको बारेमा तत्काल् छानबिन गर्नुपर्ने माग राखेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com