पाँचथरका सिडिओ कोइराला ‘टिआईए’मा, कास्की ताकेका भट्टराई गृहमा

काठमाडौं। गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय (टिआईए)का प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई गृह मन्त्रालयमा तानेको छ। ‘टिआईए’ अध्यागमन कार्यालय प्रमुखमा भने पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णुप्रसाद कोइरालालाई पठाएको हो।
मोरङका सिडिओबाट तानिएका भट्टराई बागमती प्रदेशबाट कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुँदै ‘टिआईए’ पुगेका थिए। गृह मन्त्रालय अन्तर्गतको एउटा विभागको महानिर्देशक भइसकेको व्यक्ति अर्को विभाग मातहतको कार्यालय प्रमुख बनेर गएपछि भट्टराईको आलोचना हुँदै आएको थियो। भट्टराई मोरङको सिडिओ बन्नु अघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रहेका थिए। उनै भट्टराई कास्कीको सिडिओ भएर जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयबाट मन्त्रालय आएको स्रोतले बतायो। २०८१ असोज २३ गते प्रमुख अध्यागमन अधिकृतमा हाजिर भएका भट्टराई ८ महिना नपुग्दै गृह मन्त्रालय तानिएका हुन्। आर्थिक लाभका हिसाब ‘टिआईए’ आकर्षक मानिँदै आएको छ।
कोइराला पाँचथरको प्रमुख जिल्ला अधिकारी भएर गएको महिनाको हिसाबले १ वर्ष पुगेको छ। २०८१ जेठ १६ गते गृहमन्त्रीस्तरीय निर्णयबाट उनी पाँचथरका सिडिओ बनेका थिए। कोइरालासँगै कास्कीका सिडिओ भरतमणि पाण्डे, ईलामको सिडिओ कल्पना श्रेष्ठ, भोजपुरका नरबहादुर थापा र वर्दियाकी सिडिओ रुद्रादेवी शर्मा एकैदिन खटाइएका थिए। उनीहरूको पनि सरूवा गर्ने गृहकार्यमा गृह मन्त्रालय लागेको पाइन्छ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका भोजपुरे कोइराला ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चलाइसकेका सहसचिव हुन्। उपसचिव हुँदा कोइराला ऊर्लावारी नगरपालिका, धरान उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका र वीरगञ्ज (हाल महानगरपालिका)का प्रमुख प्रशासकीय अधिकृत (कार्यकारी अधिकृत) भएका थिए। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्ने चर्चामा रहेका कोइराला ‘टिआईए’ अध्यागमनको ‘हाकिम’ बनेर जाने भएका हुन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र रोल्पाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायामाझीको अवधि १ वर्ष नाघेको हो। मकवानपुरमा स्किम श्रेष्ठलाई कार्यविधिविपरीत सिडिओ खटाइएको छ।
गृह मन्त्रालयमा सहसचिव प्रेमप्रसाद भट्टराईलाई ४ महिनादेखि जगेडामा राखिएको छ। बागमती प्रदेशबाट भित्रिएका सहसचिव सुरेन्द्र पौडेल ३ महिनादेखि गृहको बरण्डामै ‘घाम तापिरहेका’ छन्।शंकरहरि आचार्य, अरूण पोखरेल, नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मा २ महिनादेखि गृहको बरण्डामा हल्लिरहेका छन्। सहसचिव सुनिता नेपाल र बुद्धबहादुर गुरुङ पनि गृह मन्त्रालयमा ‘बेरोजगार’ देखिन्छन्। अब भट्टराई थपिएका छन्।
गृह मन्त्रालय कर्मचारी खटनपटनमा कमजोर देखिँदै आएको छ। पाँचथरका सिडिओ कोइरालालाई अध्यागमन खटाइए पनि पाँचथरमा नयाँ सिडिओ पठाइएको छैन। बर्खाको समयमा जिल्ला निमित्तको भरमा छाडेर गृहले कमजोरीपन देखाएको छ। पाँचथरमा जान सुरेन्द्र पौडेल राजी नै रहेको बुझिन्छ। समयमै आवश्यक र दरबन्दी अनुसारको कर्मचारी खटनपटन गसकेर गृह प्रशासन कुशासनमा चुर्लुम्म डुबेको पाइन्छ।
क्याटेगोरी : विविधट्याग : ## त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, #तिर्थराज भट्टराई, #विष्णुप्रसाद कोइराला
तपाईको प्रतिक्रिया दिनुहोस