भ्रष्टाचार मुद्दा लागेका गणतन्त्रका दुई मुख्यसचिव: अर्याल बहालवाला, घिमिरेलाई मृत्युपछि

काठमाडौं। गणतान्त्रिक नेपालका दुई जना मुख्यसचिवलाई भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेतृत्व प्रेमकुमार राईले गरेकै समयमा दुई जना मुख्यसचिव भ्रष्टाचारमा डामिएका हुन्।
बहालवाला मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले स्वर्गीय पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेलाई पनि भ्रष्टाचार मुद्दामा तानेको छ। मुख्यसचिव भएपछि अर्याल सञ्चार सचिवको भूमिकामा रहेको बेला अन्तःशुल्क स्टिकर छपाई घोटालामा भ्रष्टाचार मुद्दामा परेका थिए। घिमिरे भने मुख्यसचिवको हैसियतमै पतञ्जली जग्गा घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दामा तानिएका हुन्।
तत्कालीन मन्त्रिपरिषद्ले कानुनविपरीत अनियमित ढंगले हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेच्न स्वीकृत दिएको विषयमा अख्तियारले तत्कालीन मुख्यसचिव घिमिरेलाई पनि भ्रष्टाचार मुद्दामा डामेको हो। मन्त्रिपरिषद्को निर्णयमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित मुख्यसचिव घिमिरेलाई पनि प्रतिवादी बनाएको छ। तत्कालीन मुख्यसचिव घिमिरेको निधन भइसकेकाले विगो असुल्ने प्रयोजनका लागि उनकी श्रीमती कमला घिमिरेलाई समेत भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको पाइन्छ। जे होस् पछिल्लो समय मुख्यसचिवहरू एकपछि अर्को गर्दै भ्रष्टाचार मुद्दामा पर्न थालेका छन्।
ईतिहास पहिलोपटक बहालवाला मुख्यसचिवलाई भ्रष्टाचार मुद्दा लागेको ‘रेकर्ड’ बैकुण्ठको नाममा कायम छ। मुख्यसचिव हुँदा गरेको निर्णयको आधारमा भ्रष्टाचार मुद्दा लाग्ने ‘रेकर्ड’ घिमिरेको खातामा पुगेको हो। ललिता निवास बालुवाटार जग्गा हिनामिना काण्डमा पनि मुद्दा चलाउन सर्वोच्चले आदेश दियो भने उक्त सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेलको पनि नाम थपिन्छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतान्त्रिक नेपालमा भ्रष्टाचार मुद्दा लाग्ने प्रधानमन्त्रीमा नाम दर्ज गराएका छन्।
पूर्वमुख्यसचिवबाट मन्त्री बनेका घिमिरे र त्यहिँ क्याबिनेटमा पूर्वसचिवबाट मन्त्री बन्ने छविराज पन्त भ्रष्टाचार एकैसाथ भ्रष्टाचार मुद्दामा डामिएका छन्। भूमि सचिव भएका पन्त र पछिल्ला भूमि सचिव (तत्कालीन सहसचिव) लालमणि जोशी पनि भ्रष्टाचार मुद्दाको प्रतिवादी बनेका छन्। तत्कालीन मन्त्री प्रेमबहादुर सिंह र डम्बर श्रेष्ठ उनीहरूसँगै प्रतिवादी भएका हुन्।
जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत बहालवाला सहसचिव कलानिधि पौडेल पनि भ्रष्टाचार मुद्दामा डामिएका छन्। ९३ जना प्रतिवादीमा बनाएर अख्तियारले तत्कालीन प्रधानमन्त्री, तात्कालीन मुख्यसचिव, मन्त्री, सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, बैंकका कर्मचारी, जग्गा खरिद गर्ने पतञ्जलीका कर्मचारीलगायतलाई विशेष अदालतमा मुद्दा चलाइदिएको हो।
क्याटेगोरी : समाचारट्याग : #माधवप्रसाद घिमिरे, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस