मधेश प्रदेशको तत्कालीन कृषि सचिव डा. नम्रता सिंह भ्रष्टाचारी ठहर


काठमाडौं। मधेश प्रदेशको तत्कालीन कृषि सचिव डा. नम्रता सिंह भ्रष्टाचारी ठहर भएकी छिन्। विशेषका अध्यक्ष टेकबहादुर कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलास सिंहलाई भ्रष्टाचारी ठहर गर्दै एक बर्ष कैद, २५ लाख जरिवाना र सोहीबराबरको बिगो असुल उपर हुने फैसला सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुसमा मधेश प्रदेशको कृषि मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सचिव सिंहसहित तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, मन्त्रालयकै कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, मन्त्रालयका सहलेखापाल ब्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालि औरही नगरपालिका–३ महोत्तरीका फार्म सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादव र मन्त्रालयका तत्कालीन पशु चिकित्सक रन्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाश कुमार झा र कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ विकासकुमार साह उक्त भ्रष्टाचार मुद्दाको प्रतिवादी रहेका थिए।

नक्कली कागजातका आधारमा सरकारी कोषबाट एक करोड रुपैयाँ भुक्तानी दिएकोले भन्दै उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। उक्त भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव सिंह र तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साहलाई दोषी ठहर गरेको हो। भ्रष्टाचार मुद्दा दायर हुँदा डा. सिंह लुम्बिनीको कृषि सचिव थिइन्। अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि निलम्बनमा परेकी सिंहको विशेष अदालतले जागिर नै खाइदिएको छ। अन्य प्रतिवादीले भने सफाइ पाएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #कृषि सचिव, #डा. नम्रता सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ