लक्ष्मण अर्यालको ‘नाक काटिन्’ छोरी संगिता पहाडीले

काठमाडौं। नेपाल टेलिकमको दोस्रो बहालवाला प्रबन्ध निर्देशक (एमडी)विरूद्ध पनि विशेष अदालतमामा भ्रष्टाचार मुद्दा दायर भएको छ। ‘बिलिङ सिस्टम’ खरिद घोटालामा एमडी संगिता पहाडीलाई समेत प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो मागदाबी लिइएको छ।
संगिताभन्दा अघिका एमडी सुनिल पौडेल पनि पदमै रहँदा भ्रष्टाचार मुद्दा लागेर जागिर गएको थियो। त्यसपछि निमित्त एमडी हुँदै एमडी भएकी संगिताको त्यहिँ हालत भएको छ।
अख्तियारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पनि ‘बिलिङ सिस्टम’ घोटालाको मुद्दामा प्रतिवादी बनाएको छ। तत्कालीन प्रमुख व्यावसायिक अधिकृत हालको प्रबन्ध निर्देशक भूमिकामा रहेकी संगिता पनि ‘बिलिङ सिस्टम’ घोटालामा ‘चिलिम’ भएर निलम्बनमा परेकी छिन्। उनको पनि सुनिल कै जस्तो हालत हुने देखिन्छ।
को हुन् संगिता?
संगिता अर्याल पहाडी अन्तरिम संविधान मस्यौदा समितिका संयोजक लक्ष्मण अर्यालकी छोरी हुन्। ०४२ देखि ०४५ सालसम्म नेपाल बार एसोसिएसनको अध्यक्ष भएका लक्ष्मण ०४७ सालको संविधान सुझाव आयोगको सदस्यसमेत रहेका थिए। सर्वोच्च अदालतका प्रतिष्ठित न्यायाधीश र २०६३ सालको अन्तरिम संविधान बनाउन मुख्य भूमिका खेलेका लक्ष्मणकी छोरी संगिताले भ्रष्टाचारमा डामिएर बुवाको ‘नाक काटेको’ चर्चा हुन थालेको छ। बुवाको प्रतिष्ठामाथि संगिताले आँच पुऱ्याउने काम गरेकी छिन्।
संगिताका श्रीमान् विश्वबन्धु पहाडी नेपाली सेनाका कर्णेल हुन्। विश्व नेपाली सेनाले निर्माण गरिरहेका तराई/मधेश द्रुतमार्ग सडक ‘फास्ट ट्रयाक’ आयोजनामा समेत काम गरिसकेका व्यक्ति हुन्। सुनिल पौडेल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि विश्वको ‘लबिइङ’मा संगित नेपाल टेलिकमको निमित्त एमडी र कन्फर्म एमडी बन्न सफल भएकी थिइन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चारमन्त्री रेखा शर्मा भएका बेला संगिताले निमित्त एमडीको जिम्मेवारी पाउन सफल भएकी थिइन्। विश्वले माओवादीको जनमुक्ति सेनाबाट समायोजन भएर नेपाली सेनामा गएका यमबहादुर अधिकारीलाई प्रयोग गरेर श्रीमतीलाई निमित्त एमडी बनाएको चर्चा सेलाएको छैन। विश्वले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीमार्फत तात्कालीन प्रधानमन्त्री दाहालसम्म पहुँच पुऱ्याएर संगितालाई टेलिकमको नेतृत्वमा स्थापित गराएको ‘ओपन सेक्रेट’ जस्तै छ। उनै विश्वले अहिले टेलिकम चलाइरहेको जानकारहरू बताउँछन्। संगितालाई यो हालतमा पुऱ्याउन विश्वको ठूलो हात रहेको चर्चा छ।
केपी शर्मा ओली प्रधानमन्त्री र पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री भएका बेला संगिता ‘कन्फर्म’ एमडी भएकी हुन्। उनी पनि सुनिल जस्तै भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेकी छिन्।
क्याटेगोरी : समाचार
ट्याग : ## लक्ष्मण अर्याल, #विश्वबन्धु पहाडी, #संगिता पहाडी
तपाईको प्रतिक्रिया दिनुहोस