जसले डाक्टरको राष्ट्रिय सम्मेलन सजिलैसँग पार लगाइदिए


काठमाडौं । देशभरका डाक्टरहरूको ३ दिन विराटनगरमा जमघट भयो । नेपाल चिकित्सक संघको आयोजनामा देशभरका डाक्टरहरू विराटनगरमा जम्मा भएका हुन् ।

फागुन १७ गतेदेखि २० गतेसम्म उनीहरू विराटनगरमा रमाए ।२९ औं ‘अखिल नेपाल चिकित्सा सम्मेलन,२०२३’ को नाममा देशभरका चिकित्सकहरू विराटनगरमा जम्मा हुन पुगेका हुन् ।

उक्त सम्मेलन फागुन १८ गते बिहीबारदेखि २० गते शनिबारसम्म रहेको थियो । तर, अधिकांश चिकित्सकहरू फागुन १७ गते बिहीबार नै विराटनगर पुगिसकेका थिए । सयौं डाक्टरहरुको भीडमा ४ जना पत्रकार समेत उक्त सम्मेलनमा सहभागी हुन पुगेका थिए ।

विराट मेडिकल कलेज एवं शिक्षण अस्पताल परिसरमा सम्मेलन स्थलको भव्य व्यवस्थापन गरिएको थियो । सयौं डाक्टर र पाहुनालाई व्यवस्थित रुपमा स्वागत गर्न विराट मेडिकल कलेज एवं शिक्षण अस्पताल प्रमुख डा. ज्ञानेन्द्रमानसिंह कार्की सफल देखिए । विराटले साच्चिकै डाक्टरहरुको राष्ट्रिय सम्मेलनलाई सुनमा सुगन्ध थपिदिए ।

देशभरका डाक्टरहरुको राष्ट्रिय सम्मेलन ज्ञानेन्द्रमानसिंहले सजिलैसँग पार लगाइदिएभन्दा अतियुक्ति नहोला !

नेपाल चिकित्सक संघका अध्यक्ष (हाल निवर्तमान ) डा. लोचन कार्कीले २९ औं ‘अखिल नेपाल चिकित्सा सम्मेलन,२०२३’का लागि विराटनगर नै छान्नुको ‘लजिक’ दिए ‘म पनि विराटनगर कै नवनिर्वाचित अध्यक्ष डा. अनिल बिक्रम कार्की पनि विराटनगर कै नेपाल चिकित्सक संघको स्थापना पनि विराटनगरबाटै भएको त्यसैले विराटनगर छानियो ।’,

संयोग पनि कस्तो सम्मेलनका ‘प्याट्रोन’ ज्ञानेन्द्रमानसिंह पनि कार्की नै, प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत पनि कार्की नै नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन र नवनिर्वाचित अध्यक्ष डा. अनिल बिक्रम पनि कार्की नै । यता कार्यक्रम उद्‌घोषकको भूमिकामा तेजेन्द्र पनि कार्की नै परेछन् । एकछिन त यो चिकित्सकहरुको सम्मेलन हो की कार्कीहरुको सम्मेलन हो ‘रनभुल्ल’मा परियो । डा. लोचनले नै कार्की नै कार्की हुनु केवल संयोग मात्र भएको सुनाए ।

मुख्यमन्त्री हिक्मत कार्की कोशी प्रदेशको नामकरण गरिएको भोलिपल्ट उक्त सम्मेलनलाई सम्बोधन गर्न आएका थिए । उनले आफूले कोशी प्रदेशको मुख्यमन्त्रीको भूमिकामा पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेको सुनाए । मुख्यमन्त्री हिक्मतको थोरै चिकित्सासम्बन्धी र धेरै प्रदेशको नामाकरण एवं राजनीतिक भाषणले उक्त भाषण उनको नामाकरणपछिको पहिलो भाषण हो भनेर सजिलै अनुमान लगाउन सकिन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा मेडिकल म्युजियम खोल्न नेपाल चिकित्सक संघसँग सहकार्य गर्ने बताए । आफू र लोचनको सम्बन्ध मामा चेला फूपू चेला रहेको समेत मुख्यमन्त्री हिक्मतले भन्न भ्याए ।

उद्‌घाटन समारोहमै डा. लोचनले आफ्नो कार्यकालमा भएका फेहरिस्त प्रस्तुत गरे । तलबाट अध्यक्षको हैसियतमा डा. लोचनले जति काम त कसैले गरेको छैन भन्ने गन्थनमन्थन सुनिन्थ्यो ।

पुर्ख्यौली थलो भोजपुर भएका हिक्मतले भोजपुर कै पूर्व दुई मुख्यमन्त्री शेरधन राई र राजेन्द्रप्रसाद राईले प्रदेशको नामाकरण गर्न नसकेको काम गरेका छन् । यसैले उनी मुख्यमन्त्रीको हैसियतमा एनएमएका अध्यक्ष डा. लोचन जत्तिकै सफल भएका हुन् ।

डा. लोचनले डा. अनिललाई बुझाएको कार्यभार उनका लागि भारी नै हो जस्तो लाग्थ्यो । त्यो कुराको संकेत डा. अनिलको ‘बडी ल्याङग्वेज’ले प्रस्टै बोलिरहेको थियो ।

डा. लोचनको कुरा सुनेपछि कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत हौसिएर चिकित्सकहरुलाई जे-जे चाहिन्छ प्रदेश सरकार दिन तयार छ भन्ने स्थितिमा पुग्ने ‘खतरा ‘ देखियो ।

विराटनगरको गर्मीमा डाक्टरहरुको सरगर्मी निकै देखियो । डा. महावीर पुन र अनिल केशरी शाहको उपस्थिति र प्रस्तुति कार्यक्रमलाई निकै रौनकता थपेको देखिन्थ्यो । बैैंकर्स शाहले प्रस्तुति दिने क्रममा सबैको नाम अगाडि डा. रहेको तर, आफू मात्र नामको अगाडि डा. लखेको व्यक्ति कार्यक्रममा सहभागी हुने भाग्यमानी व्यक्ति भएको प्रशंग कोट्याए । आफू डाक्टर भएपनि डाक्टर बाबुको छोरा भएको उनको टिप्पणी थियो ।

कार्यक्रम उद्‌घाटन भएको बिहीबार साँझको सांगितक कार्यक्रममा कमेडियन सन्दिप क्षेत्री र गायक नवीन के भट्टराईले डाक्टरहरुलाई थप रोमान्टिक बनाइदिए । सन्दिपले व्यांग्यभन्दा बढी डाक्टरहरूमाथि भडास पोख्न भ्याए ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेल पनि उक्त सम्मेलनमा मज्जैले रमाए ।

 

२९ औं ‘अखिल नेपाल चिकित्सा सम्मेलन,२०२३’ को आयोजकको भूमिकामा रहेका नेपाल चिकित्सक संघ विराटनगर शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल समेत सम्मेलन सफल पार्न विशेष रुपमा खटिए । डा. फरवार्ड र डा. जुविन सिलवालको जोडी सम्मेलनलाई गन्तव्यमा पुर्‍याउन सफल रह्यो । केही कमीकमजोरीका बाबजुद चिकित्सकहरुको राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भयो भन्दा फरक पर्दैन ।

विराटनगरको गर्मीमा लामखुट्टेलाई रक्तदान गरेर डाक्टर र सहभागीहरु आ-आफ्नो गन्तव्यतर्फ लागे ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #डा. अनिल बिक्रम कार्की, #नेपाल चिकित्सक संघ (एनएमए)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com