सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको कसरत, दुई पौडेल आउने सम्भावना


काठमाडौं। सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको कसरत भइरहेको छ। सर्वोच्चमा उच्च अदालतबाट २ न्यायाधीश र कानुन व्यवसायीबाट २ न्यायाधीश सिफारिस गर्ने गरी गृहकार्य भइरहेको स्रोतले बतायो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि कस्सिएर लागेको स्रोतले दाबी गऱ्यो। न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारी बिदा हुन लागेकाले न्यायाधीश नियुक्तिमा हतारो लागेको हो।

सर्वोच्च अदालतमा सुष्मालता माथेमाको ठाउँमा महिलालाई नै ल्याउन दबाब छ। न्याय परिषद्को वरिष्ठ सदस्य सपना प्रधान मल्ल पनि महिला ल्याउनु पर्ने पक्षमा छिन्। उच्च अदालत दिपायलको मुख्य न्यायाधीश शान्ति सिंह थापा सर्वोच्चमा आउने सम्भावित पात्र हुन्। थापा उच्चमध्येका एक मात्र महिला मुख्य न्यायाधीश हुन्।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल सर्वोच्च आउने कसरतमा छन्। सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डे र थापासँगै मुख्य न्यायाधीश बनेका पौडेलको सर्वोच्च आउने प्रवल सम्भावना देखिन्छ। विशेष अदालतमा हुँदा घुलनशील माटोलाई दोष देखाउँदै सिक्टा सिंचाई आयोजनामा बिक्रम पाण्डेलगायतलाई सफाइ दिने फैसला गरेर उनी निकै चर्चामा आएका थिए। विशेष अदालत कै अध्यक्ष टेकनारायण कुँवर पनि सर्वाेच्च आउने दौडधुपमा छन्। न्यायाधीश रमेश ढकाल पनि सर्वोच्चमा आउने कसरतमा लागेको पाइन्छ।

वकिलबाट केदार दाहाल, ईश्वरीप्रसाद भट्टराई, खम्बबहादुर खाती, अरूण पौडेल र आशिष अधिकारीको नाम चर्चामा छ। एमाले निकट वकिलबाट केदार दाहाल ईश्वरीप्रसाद भट्टराईको नाम सम्भावित सर्वोच्च न्यायाधीश हुने चर्चामा छ। दाहालले भट्टराईलाई पछाडि पारेको समेत सुनिन्छ।

कांग्रेस निकट वकिलबाट भने खम्मबहादुर खाती, लिलामणि पौडेल, पर्शुराम कोइराला, अरूण पौडेल र आशिष अधिकारीको नाम चर्चामा छ। खाती राजनीतितिर नै सक्रिय रहेकाले पौडेलको सर्वोच्च छिर्ने सम्भावना देखिन्छ। पौडेल सर्वोच्च पुगे भावी प्रधानन्यायाधीशको रोलक्रममा रहनेछन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा निकट चितवनका वकिल अधिकारी पनि सर्वोच्च जान दौडधुपमा लागेका छन्। कांग्रेस निकट बनेर चोलेन्द्रका विश्वासपात्र अधिकारी सर्वोच्च छिर्ने दाउमा रहेको पाइन्छ। न्यायाधीश नियुक्तिले रोचक मोड लिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ