लास जलाउने मेसिन खरिद अनियमिततामा सुदन किराँतीले राज्यमन्त्रीलाई हस्तक्षेप गरेर पत्राचार गरेको खुलासा


काठमाडौं। विद्युतीय शवदाह गर्ने मेसिन खरिद अनियमिततामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हस्तक्षेप गरेर पत्राचार गरेको खुल्न आएको छ। तत्कालीन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले अनियमितता भएको भन्दै विद्युतीय शवदाह मेसिन खरिद प्रक्रियालाई स्थगन गर्न पशुपति क्षेत्र विकास कोषलाई पत्राचार गरेकी थिइन्। त्यसलाई हस्तक्षेप गरेर विद्युतीय शवदाह मेसिन खरिद प्रक्रियालाई निरन्तरता दिई प्राथमिकतापूर्वक कार्यसम्पादन गर्न गराउन पत्राचार गरेको भेटिएको हो।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ठकुरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयानमा खरिद प्रक्रियामा अनियमितता सम्बन्धी राज्यमन्त्रीको सचिवालयमा उजुरी परेपश्चात् सो सब्बन्धमा बुझ्नको लागि प्रक्रिया स्थगितको लागि पत्र लेख्ने र पुन: मन्त्रीले खरिद कार्य अगाडि बढाउने निर्देशन प्राप्त हुन आए पश्चात पुन: ठेक्का प्रक्रिया सुचारु गर्नको लागि पत्र लेख्ने सम्मको मात्र भूमिका रहेको भनेकी छिन्।

राजमन्त्रीले २०८० भदौ ५ गते अनियमितता भएको भनेर विद्युतीय शवदाह मेसिन खरिद प्रक्रियालाई स्थगन गर्न पशुपति क्षेत्र विकास कोषलाई पत्राचार गरेको देखिन्छ। त्यसको ८ दिनपछि भदौ १३ गते मन्त्री किराँतीले मन्त्रीस्तरीय निर्णयबाट विद्युतीय शवदाह मेसिन खरिद प्रक्रियालाई निरन्तरता दिई प्राथमिकतापूर्वक कार्यसम्पादन गर्न गराउन निर्देशन दिएको पाइन्छ।

‘विद्युतीय शवदाह मेसिन खरिद प्रक्रिया सार्वजनिक महत्वको विषय भएको, घाटजस्तो संवेदनशील क्षेत्रलाई अत्यावश्यक विषयको रुपमा लिई प्राथमिकतामा राखि छरितो रुपमा कार्य सम्पादन गर्नुपर्ने भएकाले विद्युतीय शवदाह मेशीन खरिद प्रक्रियालाई निरन्तरता दिई प्राथमिकतापूर्वक कार्यसम्पादन गर्न गराउन २०८०/०५/१३ को निर्णयानुसार अनुरोध छ’, मन्त्री किराँतीले कोषलाई लेखेको पत्रमा उल्लेख छ।

भदौं ५ गते राज्यमन्त्रीको सचिवालयले अनियमितता भएको भन्दै उजुरी परेपछि विद्युतीय शवदाह मेसिन खरिद प्रक्रियालाई हाललाई स्थगन गर्न भनेर पत्राचार गरेको थियो। त्यसलाई काउन्टर दिँदै मन्त्री किराँती प्रक्रिया अघि बढाउन लिखित निर्देशन दिएका हुन्। मन्त्रीको निर्देशनपछि पुनः प्रक्रिया सुचारू गर्नको लागि पत्र लेखेको राज्यमन्त्री ठाकुरीले अख्तियार दिएको बयान उल्लेख छ। उक्त खरिद प्रक्रियामा मन्त्री किराँतीको चासो रहेको यसबाट पुष्टि हुन्छ।

 

२०८० वैशाख २४ गते मन्त्री किराँतीको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले ‘पुरानो २ वटा विद्युतीय शवदाह गर्ने मेसिनको सट्टामा २ वटा नयाँ मेसिन र थप २ वटा गरी जम्मा ४ वटा नयाँ विद्युतीय शवदाह मेसिन खरिद गर्ने, नयाँ ४ वटा मेसिन खरिद गरी पुरानै स्थानमा जडान गर्दा भैरहेको संरचनामा केही थप Civil Works गरी नियमानुसार बोलपत्र प्रकृयाद्धारा खरिद गर्न कोष व्यवस्थापनलाई निर्देशन दिने, भौतिक पुर्वाधार निर्माण गर्न तथा आवश्यक मेशिनहरु खरिद गर्नका लागि काठमाण्डौं महानगरपालिकासँग समन्वय गरी रु.25 करोडसम्मको श्रोत सुनिश्चितता गर्ने, मेशिन खरिद तथा भौतिक पुर्वाधार निर्माण कार्यका लागि बहुवर्षीय कार्यक्रममा समावेश हुने गरी हाललाई कोषले रु. ८ करोडसम्म रकम खर्च गर्ने र खर्च भएको रकम काठमाण्डौं महानगरपालिकाबाट रकम प्राप्त भएपछि कोषलाई शोधभर्ना गर्ने’ भन्ने व्यहोराको निर्णय उक्त निर्णयमा अध्यक्ष किराँती र सदस्यसचिव डा. मिलनकुमार थापाको मात्र हस्ताक्षर छ। बोर्डका अन्य सदस्यको हस्ताक्षर बिनै दुई जनाबाट भएको निर्णयलाई आधार मानेर विद्युतीय शवदाह मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको देखिन्छ। तर, भ्रष्टाचार मुद्दा भने थापालाई मात्र लागेको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ