विद्युतीय शवदाह उपकरण घोटालामा मन्त्री बद्री पाण्डेलाई ‘पशुपतिनाथले जोगाए’

काठमाडौं। लास जलाउने (विद्युतीय शवदाह उपकरण) घोटालामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ‘पशुपतिनाथ’ले जोगाएका छन्। स्रोतका विद्युतीय शवदाह उपकरण खरिदमा ठेकेदारलाई भुक्तानी गर्नका लागि मन्त्री पाण्डेमाथि चर्को दबाब थियो। तर, दबाबमा परेर उनले भुक्तानी दिन लिखित निर्देशन नदिएर उक्त घोटालामा तानिनबाट जोगिएका छन्।
सार्वजनिक खरिद कानुन मिचेर अनियमित तरिकाले चर्को मूल्यमा खरिद गरिएको विद्युतीय शवदाह उपकरणको साढे ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी थियो। उक्त भुक्तानी दिनका लागि राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्मबाट चर्को दबाब आएपनि उक्त कुकर्म गर्नबाट मन्त्री पाण्डेलाई ‘पशुपतिनाथले जोगाएका’ हुन्। नत्र उनी पनि सुदन किराँँती जस्तै अख्तियारमा बयान दिन जानुपर्थ्यो।
मकवानपुर हेटौंडाका ४३ वर्षीय मनोज पुरीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग सेटिङ मिलाएर १० करोड ३३ लाख बढीमा विद्युतीय शवदाह उपकरणको ठेक्का पारेका थिए। उनले ५२ लाख रुपैयाँ पर्ने विद्युतीय शवदाह उपकरणलाई १ करोड ५२ लाखमा भिडाएका थिए। ४ वटा विद्युतीय शवदाह उपकरणमा मात्रै बजार मूल्यभन्दा ४ करोड बढी हालेर खरिद गरिएको पाइन्छ। उक्त लास जलाउने उपकरणको थप भुक्तानी दिनका लागि पर्यटनमन्त्रीमाथि पाण्डे चौतर्फी दबाब थियो। कतिसम्म भने सिंहदरबार पेरिफेरिका एकजना मन्त्रीका श्रीमान्-श्रीमतीले नै विद्युतीय शवदाह उपकरणको भुक्तानी दिन निरन्तर दबाब दिँदै आएका थिए। उनीहरूको दबाबमा परेर भुक्तानी दिन कागजी रूपमा संलग्न भएको भए अहिले मन्त्री पाण्डेले पनि कोषका कर्मचारी र ठेकेदार कै जस्तो नियति भोग्नु पर्थ्यो। भुक्तानीको दबाब थेगेर ‘कात्रोमा कमिसन’ काण्डबाट जोगिएका मन्त्री पाण्डेबारे उनी निकटहरू ‘धन्न पशुपतिनाथले जोगायो’ भन्न थालेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस