अख्तियारको छानबिनमा रहेका क्यानका डिजी प्रदिप अधिकारीलाई बाह्रौं तहमा बढुवा गर्न चलखेल

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत छानबिनमा रहेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीलाई बाह्रौं तहमा बढुवा गर्न चलखेल सुरू भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला र गैरकानुनी सम्पत्ति आर्जनमा अख्तियारको विस्तृत छानबिनमा परेका क्यानका महानिर्देशक (डिजी) प्रदिपलाई बाह्रौं तहमा बढुवा गर्न व्यापक चलखेल भएको पाइन्छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटालामा संसद्को सार्वजनिक लेखा समितिले नै निलम्बन गरेर छानबिन गर्न सिफारिस गरेका प्रदिप बाह्रौं तहमा बढुवाका लागि चलखेलमा लागेका हुन्। उनीलाई बाह्रौं तहमा बढुवा गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्र तीव्र ‘लबिइङ’ भइरहेको बुझिन्छ।
एघारौं तहका प्रदिप २०७८ माघमा क्यानको डिजी बनेका थिए। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रस्तावमा उनी क्यानको डिजी बनेका हुन्।
बाह्रौं तहका प्रेमनाथ ठाकुर, भोलाप्रसाद गुरागाईँ र प्रतावबाबु तिवारीलाई ‘माइनस’ गरेर एघारौं तहका अधिकारीलाई क्यानको डिजी बनाइएको हो। बाह्रौं तहका कर्मचारीलाई क्यानको महानिर्देशक बनाउने परम्पराविपरीत चलखेलमा उनी क्यानको नेतृत्व हत्याउन सफल भएका थिए। आगामी माघमा कार्यकाल सकिएर एघारौं तहमै फर्किनु पर्ने अवस्था आएपछि प्रदिप बाह्रौं तहमा बढुवा हुन चलखेलमा लागेका छन्।
नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार प्रदिपलाई बाह्रौं तहमा बढुवा गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एउटा ‘टिम’ नै लागेको छ। अख्तियारको छानबिनमा रहेका प्रदिपलाई बाह्रौं तहमा बढुवा गरेर पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई विवादमा ल्याउन उक्त टिम सक्रिय रहेको स्रोतले बतायो। सबैलाई आफ्नो काबुमा ल्याउने ल्याकत भएका प्रदिपले उक्त टिमलाई पनि आफ्नो लाभ र स्वार्थका लागि परिचालन गरेको स्रोतको दाबी छ।
क्याटेगोरी : समाचारट्याग : #प्रदिप अधिकारी क्यान डिजी
तपाईको प्रतिक्रिया दिनुहोस