श्रम मन्त्रालयमा मन्त्रीको सचिवालय र सचिवबीचको टसल प्रहरीसम्म पुगेपछि..


काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णले मन्त्रालयको गाडी हराएको भन्दै खोजबिनका लागि गृह मन्त्रालयलाई सहयोग मागे। सचिवले कर्णले गृह मन्त्रालयसँग सहयोग मागेपछि उक्त पत्र प्रहरीसमक्ष पुग्यो। त्यसपछि गाडी हराएको विषयले मन्त्रालयदेखि मिडियासम्म हलचल मच्चियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले त सचिव कर्णले गृह मन्त्रालयलाई गाडी खोजिदिनका लागि गरिएको पत्रचारलाई ‘स्टन्टबाजी’को संज्ञा समेत दिए।

कर्णले सचिवस्तरीय निर्णयबाट मन्त्रालयको स्वामित्वमा रहेको प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको सरकारी महिन्द्रा स्कोर्पियो गाडी जहाँ जस्तो जुन अवस्थामा छ खोज तलास गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्राचार गर्न लगाए। एक कदम अघि बढेर साथै प्रचलित कानून बमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी, अनुसन्धान गरी कारबाही अगाडि बढाइदिन समेत सचिव कर्णले गृहलाई पत्राचार लगाए।

उक्त गाडी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको छोरी डा. मिनाक्षी ठाकुरलाई दिएको सुईको पाएपछि सचिव कर्णले श्रममन्त्री भण्डारीलाई ‘क्रस’ गरेर गृह मन्त्रालयमार्फत गाडी फिर्ता ल्याउने जुक्ति निकाले। त्यसपछि उक्त गाडी श्रम मन्त्रालयमा देखा पऱ्यो। श्रम मन्त्रालय उच्च स्रोतका अनुसार श्रममन्त्री भण्डारीका स्वकीय सचिव र सचिव कर्णबीच कुरा नमिल्दा मिनाक्षीले चढेको गाडी फिर्ता ल्याउन गृह मन्त्रालयको सहयोग मागिएको हो। सचिवस्तरीय निर्णयबाटै पत्राचार भएपछि गाडी खोज्न प्रहरी सक्रिय भयो। श्रम मन्त्रालयले गृहलाई लेखेको एउटा पत्रले नै हराएको भनिएको उक्त गाडी तुरुन्तै मन्त्रालयमा आइपुगेको स्रोतले बतायो।

श्रम मन्त्रालयमा मन्त्री र सचिवले आफ्नो टिम बलियो बनाउन लागिपरेको चर्चा छ। कमलप्रसाद भट्टराई सचिव कर्णको जोडबलमा वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न सफल भएका थिए। मन्त्रालयमा कर्मचारी व्यवस्थापनमा पनि सचिव कर्ण नै हाबी भएको चर्चा सुनिन्छ। पछिल्लो समय श्रम मन्त्रालयमा मन्त्री र सचिवबीच हार्दिकतापूर्वक सम्बन्ध नरहेको पाइन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ