नेपाली स्वास्थ्यकर्मीको साझा थलो न्युयोर्कमा, एचएफएन सम्मेलन सेप्टेम्बरमा


काठमाडौं। नेपाल र अमेरिका लगायत विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरू आगामी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा जमघट हुने भएका छन्। हेल्थ फाउण्डेसन नेपाल, युएसए (एचएफएन) को १३औं वार्षिक सम्मेलन आगामी सेप्टेम्बर १३ देखि १५ सम्म तीन दिनसम्म सञ्चालन हुने भएको हो।

सम्मेलनमा नेपाल र अमेरिकाबाट १५० भन्दा बढी चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूको सहभागिता रहने फाउण्डेसनका डाइरेक्टर डा. आदित्य जोशीले जानकारी दिए। उनका अनुसार सम्मेलनको पहिलो दिन मानसिक स्वास्थ्य र नसर्ने रोगसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिनेछ भने ती विषयमा विस्तृत छलफल हुनेछ। साथै, पेपर र पोष्टर प्रिजेन्टेसन पनि कार्यक्रमको हिस्सा हुनेछन्।

फाउण्डेसनका अध्यक्ष डा. श्रीधर पौडेलले यो सम्मेलन अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासलाई नेपालको स्वास्थ्य प्रवर्द्धनमा जोड्ने साझा थलोको रूपमा उपयोग गरिने बताए।

वैज्ञानिक सत्रहरू मात्र नभई सम्मेलनमा नेपाली खानाको स्वाद र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने आयोजकहरूले जनाएका छन्।

सन् २०१३ देखि सक्रिय एचएफएनले नेपालमा मानसिक स्वास्थ्य, डिजिटल स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य साक्षरता, दीर्घ रोग परीक्षण तथा उपचार, कुपोषण न्यूनीकरण तथा चिकित्सकहरूलाई मेरिटसिप कार्यक्रममार्फत सहयोग गर्दै आइरहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ