१३० वर्षदेखि प्युठानको स्वर्गद्वारीमा चलिरहेको वैदिक अखण्डमहायज्ञ

काठमाडौं। प्युठान जिल्लाको स्वर्गद्वारीमा वैदिक अखण्डमहायज्ञ चलिरहेको १३० वर्ष पुगेको छ। स्वर्गद्वारी महाप्रभुले विक्रम सम्वत् १९५२ सालदेखि सुरू गरेको वैदिक अखण्ड महायज्ञ १३० वर्षदेखि निरन्तर रूपमा अघि बढिरहेको हो। उनै अनन्त श्री विभूषित स्वर्गद्वारी महाप्रभुको मंगलबार १६७ औं आविर्भाव दिवस (जन्मजयन्ती) मनाइँदै छ।
बाल तपस्वी श्री १००८ हंसानन्द परमहंस स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको स्वर्गद्वारी मन्दिर (शक्तिपीठ)मा मात्र नभएर महाप्रभुको जन्मजयन्ती विभिन्न ठाउँमा मनाउने गरिएको छ। महाप्रभुले सुरू गरेको अखण्ड महायज्ञ अहिले पनि स्वर्गद्वारीमा गएर दर्शन गर्न सकिन्छ।
स्वर्गद्वारी महाप्रभुको जन्मजयन्ती विभिन्न स्थानमा भव्यताकापूर्वक मनाइँदै छ। स्वर्गद्वारी आश्रमका अनुसार स्वर्गद्वारी आश्रम, प्युठान, स्वर्गद्वारी आश्रम झिंगौरा शाखा घोराही, स्वर्गद्वारी आश्रम बनगाउँ शाखा देउखुरी लमही, श्री बालहंस साङ्ग वेद विद्यालय खरेन्द्रपुर रुपन्देही, श्री तपोवन शिवालय, ग्याग्दी, श्री प्रभुचेला धुरी ध्यानाश्रम, बिम म्याग्दी, श्री हंशेश्वर पशुपति शिवालय, धारापानी कास्की, श्री शुक्लेश्वर महादेव मन्दिर, जलजला पर्वत, श्री भागवत सन्यास आश्रम एवं गुरूकुल, पशुपति, राम मन्दिर, श्री कैलाश उमाकुण्ड आश्रम, पशुपतिमा समेन स्वर्गद्वारी महाप्रभुको आविर्भाव दिवस मनाउने कार्यक्रम राखिएको छ।
को हुन् स्वर्गद्वारी महाप्रभु?
स्वर्गद्वारी आश्रमका संस्थापक श्री महाप्रभु नेपालको तत्कालीन राप्ती अञ्चल, हालको रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.सं. १९१६ श्रावण शुक्ल एकादशी जेष्ठा नक्षत्र गुरूवारका दिन जन्मिएका हुन्। उनका पिताको नाम अनिरुद्ध गौतम र माताको नाम श्वेताकुमारी थियो नक्षत्र अनुसार पुरोहितले उनको नाम नाम नारायण राखेको थिए। उनी जन्मिएको राति पानीको साथमा त्यहाँ पुष्पवृष्टि पनि भएको र बिहानै भिक्षाको निहुँ पारी अनेक सिद्धले सद्योजात शिशु (पछि महाप्रभु)को दर्शन गरेका थिए भन्ने भनाई पनि छ। ४ वर्षको उमेरदेखि नै एकान्त ठाउँमा बसी उनी एक्लै माटाढुंगाका देवप्रतिमा बनाएर तिनकै पूजामा घन्टौँ व्यस्त रहन्थे। महाप्रभु आफ्नो ५ वर्षको उमेरदेखि नै तपस्वी भएकाले उनलाई बालतपस्वी पनि भनिन्छ।
१३ देखि २५ वर्षको उमेरसम्म जनसम्पर्कबाट अलग भई स्वर्गद्वारी महाप्रभुले पूरा १२ वर्ष तपस्या गरेका थिए। त्यसपछि उनलाई संन्यास लिने इच्छा भयो र वाराणसीमा योग साधना गरी बस्ने र समय समयमा नेपालका विभिन्न तीर्थस्थलमा आइरहने सिद्ध सन्त स्वामी सच्चिदानन्द गिरीबाट संन्यास दीक्षा लिएका थिए। गुरुले उनको नाम हंसानन्द गिरि राखिदिए। उनले केही समयसम्म गुरूसेवा गर्दै ज्ञानयोग, कर्मयोग र अष्टाङ्ग योगको समेत ज्ञान बढाएका थिए। जन्मस्थानमा विभिन्न यज्ञहरू गर्दै विश्वकल्याणार्थ अखण्ड महायज्ञ गर्ने पावन् उद्देश्यले महाप्रभु वि.सं. १९५१ मा पवित्र भूमि स्वर्गद्वारीको शैलशिखरमा पदार्पण गरे र यस दिव्यभूमिलाई यज्ञभूमिको रूपमा परिणत समेत गरे। उनका अनुसार स्वर्गद्वारी पौराणिक कालमा पनि यज्ञभूमि नै थियो । वैदिक सनातन धर्मको आधार स्तम्भ स्वर्गद्वारी आश्रमका संस्थापक त्रिकालदर्शी श्रीस्वर्गद्वारी महाप्रभु वि.सं.१९९७ को मार्ग शुक्ल पक्षको चतुर्थी तिथिमा पाञ्चभौतिक शरीर त्यागी ब्रह्मलीन भएका थिए। उनै स्वर्गद्वारी महाप्रभुको मंगलबार आविर्भाव दिवस मनाउन लागिएको हो।
१९५२ देखि निरन्तर चलिरहेको अखण्ड महायज्ञ
स्वर्गद्वारी पीठका उत्तराधिकारी डा. रुद्रानन्दद्वारा लिखित पुस्तक ‘ॐ पुण्यभूमि स्वर्गद्वारी’मा विक्रम सम्वत् १९५२ वैशाख पूर्णिमाका दिन महाप्रभुसहित अन्य सिद्ध, सन्त र विद्वान् ब्राह्मणको उपस्थितिमा भू-संस्कारसहित समिधा स्थापना गरी महायज्ञको शुभारम्भ गरिएको हो। १९५२ साल वैशाख पूर्णिमाको दिनदेखि सुरू भएको अखण्डमहायज्ञ अहिले पनि स्वर्गद्वारी पुगेर अवलोकन र दर्शन गर्न सकिन्छ।
वैदिक विधान अनुरूप कुण्ड र यज्ञशाला निर्माण गरी आचार्य टीकाराम गौतमले हृदयमा अग्निभगवानको ध्यान गर्दै वैदिक मन्त्र उच्चारण गरेपछि अग्नि भगवना स्वयं प्रकट भइ ५ वटै कुण्डमा एकैसाथ अग्नि ज्वाला उत्पति भएको ध्रुव श्रीद्वारा लिखत पुस्तकमा दाबी गरिएको छ। महाप्रभुको इच्छाबमोजिम गौतमले पञ्चायन मन्दिर, यज्ञपद्धति, शास्त्रीय देवपूजनप्रकार समेत तयार पारी आकर्षक रूपको यज्ञमण्डप निर्माण गरे। यज्ञमण्डपको गोलाई १०८ हात रहेको र बाहिरबाट हेर्दा नौ वटा गजुर भएको ९ मन्दिर देखिन्छ। यज्ञमण्डप ४ विदिशामा ४ कुण्डसहित मन्दिर सुशोभित छ। ४ दिशामा पाञ्चायन देवताको पूजनका लागि ४ मन्दिर रहेका छन्। यी ८ मन्दिरद्वारा घेरिएको र भिन्न अग्लो देखिने मध्यभागमा मुख्य कुण्डको मूल मन्दिर रहेको छ।
दामोदर गौतम पुरातत्त्व विभागको महानिर्देशक हुँदा पुरातात्त्विक महत्त्वको स्वर्गद्वारीको यज्ञमण्डपको जिर्णोद्धार गरिएको थियो। महाप्रभुको अगुवाईमा सुरू भएको उक्त यज्ञकुण्डमा १३० वर्षदेखि निरन्तर अखण्ड महायज्ञ चलिरहेको छ। स्वर्गद्वारी मन्दिरको मुख्य विशेषता र दर्शन गर्नु पर्ने मुख्य कुरा भनेकै वैदिक अखण्ड महायज्ञ हो।
स्वर्गद्वारी महाप्रभुसँग साक्षात्कार गरेको बाँझको रूख
महाप्रभुका गुरूदेव स्वामी सच्चिदानन्द गिरी (गुरू महाराज) र शिष्य बोधानन्द गिरी (पूजारी महाराज) एकसाथ स्वर्गद्वारी गिरिशिखरमा पुगेका थिए। विक्रम संम्वत् १९४४ देखि जन्मस्थल रुम्टी गाउँमा सुरु गरेको महायज्ञ ७ वर्षपछि १९५१ सालमा पूर्णाहुति भएको तथ्यहरू भेटिन्छन्। उक्त महायज्ञ पूर्णाहुति भएपछि त्रिदेव समान मानिएका शङ्करावतार गुरू सच्चिदानन्द, नारायणावतार महाप्रभु र शेषावतार बोधानन्द स्वर्गद्वारी पुगेका थिए। स्वर्गद्वारी पुगेको पहिलो दिन तीनै जनाले दीर्घ तपस्वी बाँझको रूखको फेदमा रात कटाएको इतिहास छ। उक्त रूखसँग अहिले पनि स्वर्गद्वारी पुगेका बेला साक्षात्कार गर्न सकिन्छ। ६ वर्ष वर्षभन्दा बढी वर्ष पुगेको उक्त बाँझको रूख महाप्रभुसँग सामिप्यता भएको जिउँदो इतिहास हो। महाप्रभु सिञ्चित उक्त बुद्ध रूखलाई जानेन, बुझेन र दर्शन गरेर भने स्वर्गद्वारी पुग्नेले दर्शनको एउटा पाटो नै छुट्ने देखिन्छ।
कविशिरोमणि लेखनाथ पौड्यालले पनि उक्त तपस्वी वृक्षलाई मुख्य प्रतिक बनाएर ‘तरूणतपसी’ काव्य रचना गरेका थिए। त्यहिँ रूखको फेदमा रात बिताएर महाप्रभुले अखण्डमहायज्ञको परिकल्पना गरेका हुन्।
स्वर्गद्वारीमा गौशालादेखि पाठशालासम्म सञ्चालित
स्वर्गद्वारीमा अहिले गौशालादेखि पाठशालासम्म नियमित रूपमा सञ्चालनमा रहेको छ। महाप्रभुको पालादेखि नै स्वर्गद्वारीमा गाई पाल्न सुरू भएको हो। महाप्रभुले गाईलाई सम्बोधन गर्दै “आमा! आज चर्न फलानो वनमा जाने” भनेपछि गाईहरू वनमा चर्न जान्थे।
करिब १२ सय गाईलाई लिएर महाप्रभु आफै जंगलमा जाने र गाई चराएर आउने गरेको विभिन्न तथ्यबाट देखिन्छ। अहिले पनि स्वर्गद्वारीको गौशालामा ४/५ सय गाईहरू छन्। महाप्रभु कै पालादेखि स्वर्गद्वारी आश्रममा गाई पाल्ने चलनलाई अहिले पनि निरन्तरता दिइएको छ। गौशालाहरू महाप्रभुको पालामाभन्दा अहिले व्यवस्थित देखिन्छ। जहाँ-जहाँ स्वर्गद्वारी आश्रम छन् त्यहाँ गौशाला अनिवार्य जस्तै छ। प्रत्येक स्वर्गद्वारी आश्रममा गाई पाल्ने गरेको पाइन्छ। स्वर्गद्वारी आश्रममा गौमाताहरू राम्रै संख्यामा रहेका छन्।
गौशालाका साथसाथै पाठशाला पनि प्युठानको स्वर्गद्वारी आश्रममा सञ्चालित छ। ९३ जना बटुक (विद्यार्थी) अहिले स्वर्गद्वारी आश्रममा अध्ययन गरिरहेका छन्। त्यसका लागि पाठशालाहरूको उचित व्यवस्थापन गरिएको छ। काठमाडौंको भागवत संन्यास आश्रम एवं गुरूकुलमा पनि विद्यार्थीहरु रहेका छन्।
स्वर्गद्वारी आश्रममा पाहुना घर पनि व्यवस्थित रूपमा सञ्चालनमा छन्। आहा! स्वर्गद्वारी साँच्चिकै स्वर्ग जस्तै रहेछ।
भागवतानन्दले थालेका कामलाई पूर्णता दिँदै रूद्रानन्द
स्वर्गद्वारीका पीठाधीश भागवतानन्दले स्वर्गद्वारी आश्रमलाई व्यवस्थित गर्न धेरै काम गरेका छन्। त्यसलाई निरन्तरता दिनका लागि अहिले स्वर्गद्वारीका पीठाधीश स्वामी रूद्रानन्द (ध्रुव श्री) सक्रियतापूर्वक लागिपरेका छन्। स्वर्गद्वारीको मुख्य मन्दिर जिर्णोद्वार गर्नेदेखि यज्ञमण्डपलाई आकर्षक बनाउने काममा समेत उनको योगदान रहेको छ। पुरातत्त्व विभागसँग समन्वय गरेर स्वर्गद्वारीलाई व्यवस्थित गर्न ध्रुव श्री निरन्तर लागिपरेका छन्।
बाल तपस्वी श्री स्वर्गद्वारी महाप्रभुद्वारा आर्जित र सृजित सम्पत्तिमाथि भूमाफियाले गिद्दे नजर लगाएको पाइन्छ। स्वर्गद्वारीमा अखण्ड महायज्ञ सञ्चालका लागि हंसानन्द परमहंस (स्वर्गद्वारी महाप्रभु)ले दाङ जिल्लाका विभिन्न ठाउँमा जग्गा-जमीन जोडेका थिए। आफ्नै खल्तीको पैसा खनखन्ती गनेर किनिएको स्वर्गद्वारी महाप्रभुले किनेको जग्गामा अहिले भूमाफियाहरूको ‘बुरी नजर’ लागेको भान हुन्छ। भूमाफियाहरूले अखण्डमहायज्ञलाई नै असफल पार्ने गरी श्री स्वर्गद्वारी महाप्रभुले किनेको जग्गाहरू हडपेर समाप्त पार्न खोजेको टिप्पणी हुन थालेको छ।
स्वर्गद्वारी आश्रमको जग्गा संरक्षणमा पनि उत्तराधिकारी ध्रुव श्रीको विशेष चासो देखिन्छ। स्वर्गद्वारी महाप्रभुको १६७ औं आविर्भाव दिवसले यो सक्रियालाई सफलतामा पुऱ्याउन विशेष योगदान मिल्ने विश्वास लिन सकिन्छ।
स्वर्गद्वारी महाप्रभुका केही दिव्यलीला
महाप्रभुका तीन महिनाको हुँदा माता स्वेताकुमारी पटुकाको टुप्पोमा पैसा बाँधेर अन्न खरिद गर्न गएकी रहिछन्। अन्न किन्न गएको घरमा मान्छे नभेटिएपछि स्वेताकुमारी घर फर्किछन्। घरमा आएर पैसा खोज्दा भेटिएनछ। पैसा हरायो भन्दै माता स्वेताकुमारी आत्तिन र चिच्याउन थालेपछि तीन महिने शिशु महाप्रभुले ‘आमा! तपाईंको पैसा तपाईं तरेर आएको खोलाको साँघुको प्वालमा खसेको रहेछ’ भनेछन्। त्यसपछि आमा स्वेताकुमारी हतार-हतार त्यस साँघुमा गएर हेर्दा नभन्दै पैसा त्यहिँ झरेको रहेछ। तीन महिने शिशुले भनेको जस्तै साँघुको प्वालमा पैसा फेला परेपछि आमा स्वेताकुमारीले उक्त कुरा गाउँका सबैलाई सुनाइछन्।
एकदिन महाप्रभुले एक जना शिष्यलाई ‘जाऊ गणेश भण्डारमा ताजा ५ किलो जति कुराउनी छ लिएर आऊ’, भनेछन्। शिष्य गएर खोज्दा नभेटेपछि फर्केर गएर ‘गुरूमहाराज मैले त कुराउनी भेटिन त’, भन्दै आएछन्। फेरि महाप्रभुले ‘जाऊ गणेश भण्डारमा गणेशजी को अगाडि नै छ’, भनेछन्। त्यसपछि शिष्य फेरि गएर हेर्दा गणेशजी कै अगाडि कुराउनी (खुवा) फेला परेछ।
एकदिन स्वर्गद्वारी महाप्रभु आश्रममा सन्त एवं भक्तका माझ सत्संगमा थिए। बीचमा एकछिन गायब भएपछि उपस्थित सबै चकित भएछन्। करिब ६ मिनेटपछि आगोले आफ्नो धोतीको टुप्पोमा लागेको आगो निभाउँदै पहिलाको जस्तै प्रकट भएछन्।
आगोले जलाएको कपडामा देखेपछि भक्तहरूले आगो कसरी लाग्यो भनेर सोधेछन्। महाप्रभु जिज्ञासा शान्त पार्दै ‘नेपालगन्जमा आफ्नो एक जना प्रिय भक्तको घरमा आगो लागेर विपत्तिमा परेर मेरो सम्झना गरेपछि त्यहाँ पुगेर आगो निभाएर बालबच्चा र परिवारको ज्यान बचाएर आएको’, भनेछन्।
क्याटेगोरी : समाचार
ट्याग : #श्री १००८ स्वर्गद्वारी महाप्रभु, #स्वर्गद्वारी आश्रम, #स्वर्गद्वारी महाप्रभु
तपाईको प्रतिक्रिया दिनुहोस