एचआईभी सेवामा लुब्रिकेन्ट र प्रेपको चरम अभावप्रती सरोकारवालाको चिन्ता, समाधान खोज्न राष्ट्रिय परामर्श बैठक

काठमाडौं । युएसएआइडीमार्फत पेपफार (PEPFAR) को सहयोग कटौती भएपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई लक्षित एचआईभी सेवामा लुब्रिकेन्ट र प्रि–एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) को चरम अभाव भएको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
एफएचआई३६० ले विभिन्न सेन्टरहरू मार्फत विगतमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई लुब्रिकेन्ट र प्रेप उपलब्ध गराउँदै आएको थियो। सहयोग रोकिएसँगै मुख्य गरी प्रेप र लुक्रिकेन्टको चरम अभाव भएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले विगत केही महिनादेखि सेवामा समस्या देखिएको बताए।
निलहिरा समाजको आयोजनामा काठमाडौंमा भएको ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि एचआईभी सेवामा विद्यमान अभाव पहिचान र सम्बोधन’ विषयक राष्ट्रिय परामर्श बैठकमा बोल्दै डा. शर्माले भने, “एआरटी सेन्टरमा सरकारले कण्डम वितरण गरे पनि लुब्रिकेन्ट र प्रेप खरिद गर्ने विषय राज्यको दायित्वभित्र परेको छैन।” उनले यो समस्याको समाधानका लागि सरकारको एकल प्रयासले मात्र नपुग्ने भन्दै सबै सरोकारवालाहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। “युएसएआइडीको सहयोग बन्द हुँदा लुब्रिकेन्ट र प्रेपको अभाव भएको हो, कण्डममा भने खासै समस्या छैन,” उनले थपे।
डा. शर्माले एआरटी सेन्टरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई भेदभाव नहुने दाबी गरे। “कहीँ कसैलाई भेदभाव भएको सुने मलाई खबर गर्नुहोस्,” उनले अनुरोध गरे। उनले दातृ निकायको सहयोग बिना पनि सेवा निरन्तरताका लागि स्पष्ट खाका तयार गर्नुपर्ने बताए। “विगतमा धेरै रकम खर्च भएको छ, तर एक दाताले सहयोग रोक्दा संसारै डुबेजस्तो सोच्नु हुँदैन,” उनले भने।
एपकमले ब्लु डायमण्ड सोसाइटीसँग साझेदारी गर्ने
एसिया प्यासिफिक कोलिसन अन मेल सेक्सुअल हेल्थ (एपकम), बैंककका वरिष्ठ अनुसन्धान र नीति अधिकारी नुमान अफिफीले एचआईभी प्रतिकार्यका लागि कोषको कमी क्षेत्रीय स्तरमा ठूलो चुनौती बनेको बताए। उनले भने, “थाइल्याण्ड, नेपाल र समग्र एसिया तथा प्रशान्त क्षेत्रमा लगानी घट्दैछ, विश्वव्यापी प्राथमिकताहरू बदलिँदै छन्, र नागरिक स्थान खुम्चिँदै छ। सहयोग कटौतीले समुदाय स्तरमा सबैभन्दा बढी असर पार्छ। एआरटी सेन्टरहरू बन्द हुँदैछन्, प्रेप र लुब्रिकेन्टको अभाव छ, र एचआईभी परीक्षणजस्ता रोकथामका साधनहरूको उपलब्धता घट्दैछ।”
उनले थपे, “हामी ब्लु डायमण्ड सोसाइटीसँग नोभेम्बरमा बैंककमा आयोजना हुने हाम्रो वार्षिक समुदाय शिखर सम्मेलनमा सहकार्य गर्न उत्साहित छौं। यहाँ हामी थाइल्याण्डदेखि नेपालसम्मका सफलताहरूमा आधारित भएर साझेदारीको नयाँ अध्याय रच्नेछौं।” अफिफीले दक्षिण एसियाबाट सिक्दै विशेषज्ञता र अनुभवलाई एकत्रित गरी एसियालाई एचआईभी प्रतिकार्यको केन्द्र बनाउने बाटो तय गर्ने कुरामा जोड दिए।
“एपकम लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायसँग एकजुट छ। हामी समावेशी स्थान र दिगो कोषका लागि वकालत गर्न क्षेत्रभरका सफलता र चुनौतीहरू साझा गर्नेछौं,” उनले भने। “हाम्रो प्रतिबद्धता सिफारिसमा मात्र सीमित छैन, बरु समुदायलाई सङ्कटमा नपारी स्वास्थ्य प्रणालीको लचिलोपनलाई केन्द्रमा राख्ने साझा दायित्व हो।”
अफिफीले कोभिड-१९ महामारीको सन्दर्भ उठाउँदै भने, “लकडाउन र स्रोतको पुनर्वितरणले एचआईभी परीक्षण, उपचार र रोकथाममा बाधा पुगेको थियो। भेदभावको सामना गरिरहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि यी अवरोधहरूले औषधिको विलम्ब, सुरक्षित स्थानको अभाव, साथै गरिबी, हिंसा र मानसिक स्वास्थ्य समस्याहरूको जोखिम बढाएको थियो।”
एपकमको तर्फबाट उनले भने, “नेपालका प्रत्येक लैङ्गिक र यौनिक अल्पसङ्ख्यकले निर्वाध, सम्मानजनक र जीवनरक्षक स्वास्थ्य सेवामा पहुँच पाउन सकून् भन्ने सुनिश्चित गर्न हातेमालो गर्ने सबैलाई म धन्यवाद दिन्छु।”
ग्लोबल फण्डको बैठकमा प्राथमिकता पाउने
युएनडिपीकी प्रतिनिधि विन्दा मगरले युएसएआइडीको सहयोग एकाएक रोकिन्छ भन्ने नसोचेको बताइन्। “रोकिएको सहयोगलाई कसरी पूर्ति गर्ने भन्ने विषयमा हामी छलफलमा छौं,” उनले भनिन्। विगतमा कोभिड र भूकम्पजस्ता विपत्तिमा पनि सरकार र सरोकारवालाको सहकार्यले सफलता पाएको स्मरण गर्दै उनले संघीय संरचनामा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताइन्।
“यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा आमनागरिक र सरोकारवालालाई बुझाउन जरुरी छ,” उनले थपिन्। ग्लोबल फन्डको बैठकमा यो विषयलाई प्राथमिकताका साथ छलफलमा लैजाने उनको प्रतिबद्धता छ।
एएचएफ नेपालका नेशनल कोअर्डिनेटर दिब्यराज जोशीले सेवा र स्रोतको अभाव जटिल बनेको बताए। “लैङ्गिक पहिचानकै आधारमा सेवामा अवरोध गरिनु अपराध हो,” उनले भने। यो बैठकले समस्याको समाधानका लागि मार्गनिर्देशन गर्ने उनको विश्वास छ।
लुब्रिकेन्ट, प्रेप र कण्डमको अभावले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ
निलहिरा समाजकी निर्देशक मनिषा ढकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पाउँदै आएको सेवामा चरम अभाव देखिएको बताइन्। “हामी निकै कठिन परिस्थितिबाट गुज्रिरहेका छौं। लुब्रिकेन्ट, प्रेप र कण्डमको अभावले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ,” उनले भनिन्।
एआरटी सेन्टरमा सहजै सेवा लिन समुदायलाई चुनौती रहेको उल्लेख गर्दै उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी एआरटी सेन्टरको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिइन्। “विगत ८ महिनादेखि परिक्षण भएको छैन, संक्रमितहरू कहाँ जाने भन्नेमा अलमलमा छन्,” उनले थपिन्।
लुब्रिकेन्ट र प्रेपको महत्व
कण्डम: एचआईभी र अन्य यौनजन्य रोगको संक्रमणबाट जोगाउँछ।
लुब्रिकेन्ट: एचआईभी संक्रमणबाट जोगाउनुका साथै घर्षण कम गरी छाला च्यातिनबाट रोक्छ।
प्रेप: शरीरमा एचआईभी फैलनबाट रोक्न प्रभावकारी औषधि।
“युएसएआइडीको सहयोग बन्द भएसँगै लुब्रिकेन्ट र प्रेपको चरम अभाव छ। हाम्रो समुदायले यी सामग्री सहजै पाउन सकेका छैनन्,” ढकालले भनिन्। उनले यो परामर्श बैठकले सेवाको अभावलाई सम्बोधन गर्ने स्पष्ट बाटो तय गर्ने विश्वास व्यक्त गरिन्। “कसैले सहयोग रोकेकै आधारमा हाम्रा काम रोकिनु हुँदैन। जटिल परिस्थितिमा पनि अगाडि बढ्ने रणनीति बनाउनुपर्छ,” उनले जोड दिइन्।
यो राष्ट्रिय परामर्श बैठकले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि एचआईभी सेवामा देखिएको अभावको समाधान खोज्न र दीर्घकालीन रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस