सकारात्मक दिशातर्फ गएको बार्तालाई आन्दोलनकारी नर्सले भड्काए


काठमाडौं । निजी क्षेत्रमा काम गर्ने नर्सहरूले कम तलब पाएको विषयलाई लिएर भइरहेको आन्दोलनको समाधान खोज्ने उद्देश्यले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको बार्ता आन्दोलनरत नर्सकै कारण बिथोलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी रूपमा प्रयोग गर्दै आएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को भवनमा औपचारिक वार्ता गरेको थियो। बार्तामा निजी मेडिकल तथा डेन्टल कलेजका प्रतिनिधि र निजी अस्पताल सञ्चालक, नेपाल नर्सिङ संघ, नेपाल नर्सिङ काउन्सिल तथा आन्दोलनरत नर्सका तर्फबाट अज्ञात व्यक्तिहरू सहभागी थिए।

बार्ता चलिरहेका बेला अचानक निजी अस्पतालहरूलाई लक्षित गर्दै विभिन्न आरोपसहितका प्लेकार्ड प्रदर्शन गरेपछि बैठक भड्किएको हो।

निजी मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सरकारले तोकेको न्यूनतम तलब दिन आफूहरूलाई कुनै समस्या नभएको बताए। उनले भने, “कहिल्यै हामीले तोकेको तलब दिन्नौं भनेका छैनौं, तर सुरुवाती स्केल, अनुभवपछि बढ्ने स्केल र केही वर्ष काम गरेपछिको अनुभवअनुसारको तलब तोक्नुपर्छ।”

अध्यक्ष डा. कार्कीले निजी क्षेत्रका पनि केही समस्या भएकाले त्यसलाई सरकारले समाधान वा सहयोग गर्ने विश्वास व्यक्त गरे। नेपालको स्वास्थ्य क्षेत्रमा ८० प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रलाई तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कुनै सल्लाहबिना राजनीतिक प्रोपोगान्डाका लागि निर्णय गर्दा समस्या आएको हो।

मेडिकल सामग्री आयातमा सरकारले निजी क्षेत्रलाई २५ देखि ४० प्रतिशतसम्म भन्सार कर लगाउँदै आएकोमा यसलाई १० प्रतिशतसम्म कमगर्न सके समस्या समाधान हुने निजी क्षेत्रको धारणा रहेको छ।

अस्पतालले पाउने सेवा–सुविधा साघुरो बनाउने र कर्मचारीको मात्र सेवा–सुविधा बढाउँदै जाँदा अस्पताल सञ्चालनमै कठिनाइ आउने अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भन्छन्, “दुवै पक्षलाई न्याय हुने किसिमबाट अगाडि बढ्नुपर्छ।”

बार्ता सकारात्मक रूपमा अगाडि बढिरहेकै बेला यसलाई भड्काउने र बदनाम गर्ने उद्देश्यले हलभित्र आरोपसहितका प्लेकार्ड प्रदर्शन गरिएपछि सुरक्षा जोखिमका कारण निजी अस्पतालका सञ्चालकहरू बार्ता छाडेर निस्किएका थिए।

सरकारले बोलाएको औपचारिक बार्तामा अचानक आरोपसहितका प्लेकार्ड प्रदर्शन गरिनु योजनाबद्ध रूपमा गरिएको कदमका रूपमा हेरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि निजी अस्पतालहरूलाई परेको समस्याप्रति गम्भीर भएको बताइन्छ।

बार्ता समितिका एक सदस्यका अनुसार, कलेजहरूले न्यूनतम २२ हजार रुपैयाँभन्दा माथिको तलब दिने र त्यसका लागि आफ्ना समस्या समाधान हुने गरी अघि बढ्ने योजना बनाएका थिए। तर, एक्कासी बार्ता भड्काउन देखिएका प्रदर्शनकारीका कारण सुरक्षा चुनौती बढेपछि निजी अस्पताल र मेडिकल कलेजका सबै प्रतिनिधि बाहिरिएका हुन्। राज्यले बोलाएर अपमान गरेको भन्दै निजी अस्पतालहरूले चित्त नबुझेको प्रतिक्रिया दिएका छन्।

बार्ता बिथोलिएपछि स्वास्थ्य मन्त्रालयका सहसचिव डा. अनुप वास्तोला र मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीता लम्सालले स्थिति सम्हाल्ने प्रयास गरेका थिए। उनीहरूले आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई हलबाट बाहिर निकालेका थिए।

बार्ता बिथोलिएको विषयमा निकै निराश र चिन्तित देखिएका डा. वास्तोला र डा. लम्साल कलेज सञ्चालकहरूलाई फकाउन मन्त्रालयको गेटसम्म पुगेका थिए, तर अन्ततः सफल हुन सकेनन्।

बार्ताबाट बाहिरिएसँगै निजी अस्पताल र मेडिकल कलेजका संघ–संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै औपचारिक बैठकमा “भिजिलान्ते” शैलीको व्यवहार अपनाइएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका विषयमा भइरहेको औपचारिक बार्ताका क्रममा देखिएको अपमानजनक व्यवहारप्रति ‘एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल’ र ‘एसोसिएसन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (अफिन)’ गम्भीर आपत्ति जनाउँछन्।”

स्वास्थ्य मन्त्रालयको आयोजनामा कार्यदलस्तरको बार्ताका क्रममा आन्दोलनरत पक्षबाट ‘माफिया’ लेखिएका प्लेकार्ड देखाउने, अपमानजनक शब्द प्रयोग गर्ने र अनुचित व्यवहार प्रदर्शन गरिएको घटना अस्वीकार्य भएको संघ–संस्थाहरूको तर्क छ।

संस्थाहरूले भनेका छन्, “हामी सधैं संवाद, सहकार्य र आपसी सम्मानका आधारमा समस्या समाधानमा विश्वास गर्छौं। नर्सहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको जायज मागप्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारले बार्ताको वातावरण बिगारेको छ।”

संस्थाहरूले घटनाको जिम्मेवारी राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापनका कारण उत्पन्न भएको दाबी गरेका छन्।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ