जापानको राजदूत हुँदा रात्रिभोज दिने दुबसु परराष्ट्रको ‘एम्बेसडर रूम’मै सीमित भए
काठमाडौं। जेन-जी आन्दोलनको जगमा बनेको सरकारले एकैपटक ११ वटा देशको राजदूत फिर्ता गर्ने निर्णय लियो। उक्त निर्णयमा १० जना राजनीति नियुक्ति र एकजना ‘करियर डिप्लोम्याट’ फिर्ता बोलाउने सूचीमा रहेका थिए। ति ‘करियर डिप्लोम्याट’ दुर्गाबहादुर सुवेदी हुन्।
५८ वर्ष उमेर हदका कारण घर जान लागेका दुबसुलाई तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रस्तावमा जापानको राजदूत बनाइएको थियो। उनी कांग्रेस नेतृ आरजु राणा देउवाका प्रिय पात्र भएकै कारण बेलायतबाट फर्किएलगत्तै जापानको राजदूत बन्न सफल भएका थिए। आरजु र उनका छोरा जयवीर देउवालाई बेलायतमा राम्रै अतिथि सत्कार गरेबापत दुबसु जापानको राजदूत बनेको चर्चा अझै सेलाएको छैन। त्यसैको उपलक्ष्यमा राजदूत नियुक्ति हुनेबित्तिकै दुबसुले थापागाउँको बानेश्वर व्याङ्कवेटमा रात्रिभोज दिएका थिए। त्यत्रो तामझामका साथ जापानको राजदूत भएर गएका दुबसु अहिले परराष्ट्र मन्त्रालयको एम्बेसडर ‘रूम’मा सीमित हुन पुगेका छन्।
कवि हृदयका दुबसु कार्यकालको उत्तरार्धमा परराष्ट्र मन्त्रालयमा हाजिर भएर सरकारी कालो चियाको पनि अपेक्षा गर्नुपर्ने अवस्थामा पुगेका हुन्। कुनै बेला परराष्ट्र मन्त्रालयमा शक्ति प्रदर्शन गरेर बसेका र राजदूत हुँदा दशौँ लाख खर्च गरेर रात्रिभोज दिएका दुबसु अहिले ‘एम्बेसडर रूम’मा सीमित हुन पुगेका छन्।
विदेशीस्थित नियोगमा कार्यरत परराष्ट्र कर्मचारीले फर्जी औषधि उपचारसहित भत्ता मिनाह गराउन दुबसुले ठूलो भूमिका खेलेका थिए। बेलायतको राजदूत हुँदा दुबसुले चाँजोपाँचो मिलाएर सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहलगायतलाई बेलायत, फ्रान्स, जर्मनी लगायतका देश घुमाएर विदेशीस्थित नियोगमा कार्यरत परराष्ट्र कर्मचारी खाएको फर्जी औषधि उपचारसहितको भत्ता मिनाह गराउन भूमिका खेलेका थिए। जापानको राजदूत भएपछि दुबसुले रात्रिभोज दिएकाले उनले कसरी लेखा समितिका सांसदलाई प्रभावित पारेका थिए भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ।
सत्ता र शक्तिलाई आफूअनुकूल घुमाउन सक्ने हैसियत बनाएका दुबसुले बेलायतको राजदूत हुँदापनि फर्जी भत्ता मिनाह गराउन सांसदलाई युरोप घुमाउने योजना ल्याएका थिए । उनकै योजना अनुसार सार्वजनिक लेखा समितिका सभापति शाहसहित सदस्यहरु प्रेमबहादुर आले, अमनलाल मोदी, चन्दा चौधरी, राजेन्द्रकुमार केसी र समितिका सचिव डा. रोजनाथ पाण्डे बेलायत, फ्रान्स, जर्मनी, ओमन, इन्डोनेसिया, साउदी अरबलगायतका देश घुमेका थियो । सरकारी खर्चमा घुमेर आएर लेखा समितिका सदस्यहरुले परराष्ट्रका दुबसुलगायतका परराष्ट्रका कर्मचारीहरुको स्वार्थमा ३० करोड बढी फर्जी भत्ता मिनाह गराउने निर्णय गरेको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ।
दुबसुले आफ्ना भाइहरू कृष्णकुमार सुवेदी (कृसु) र चक्रबहादुर सुवेदीलाई उपसचिव बनाउने नाममा जथाभावी दरबन्दी थप्न प्रस्ताव गरेका छन् । उनले राज्यलाई अनावश्यक भार पर्ने गरी भाइहरूको बढुवाका लागि दरबन्दी थप्न प्रस्ताव गरेका हुन्। परराष्ट्रमा नियोग र दरबन्दी पुनरावलोकन गर्ने र कटौती गर्ने कुरा पटकपटक उठेपनि त्यसलाई लत्याउँदै दुबसु नेतृत्वको समितिले दरबन्दी थप्ने प्रस्ताव गरेको हो। परराष्ट्रमा दरबन्दीको बाढी आएपछि दुबसुका भाइहरू छोटो समयमै लोकतान्त्रिक बढुवामार्फत शाखा अधिकृतबाट उपसचिव बन्न सफल भएका छन्। त्यसको उपहारस्वरूप शेरबहादुर देउवा नेतृत्वको सरकारले दुबसुलाई जापानको राजदूत बनाइदिएको थियो। जेन-जी सरकारले भने परराष्ट्रका शक्तिशाली दुबसुलाई ‘एम्बेसडर रूम’मा सीमित गरिदिएको छ।
क्याटेगोरी : समाचारट्याग : #राजदूत डा. दुर्गा बहादुर सुवेदी( दुबसु )


तपाईको प्रतिक्रिया दिनुहोस