उपसचिव र सहसचिवमा कोटा प्रयोग गर्ने बज्राचार्य-कर्णबीच मुख्यसचिवमा प्रतिस्पर्धा
काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालको घर जाने दिन नजिकिंदै जाँदा मुख्यसचिवका प्रतिस्पर्धीहरू मैदानमा उत्रिन थालेका छन्। ‘जेन-जी” आन्दोलनको जगमा बनेको सरकारले मुख्यसचिवमा बरियता नमिच्ने संकेत देखाइसकेको छ। ‘जेन-जी’ आन्दोलनलाई दबाउन भूमिका नखेलेको भए मुख्यसचिवमा गोकर्णमणि दुवाडीले बाजी मार्ने थिए। तर, उनले गृहसचिवको भूमिकामा ‘जेन-जी’ आन्दोलनलाई दबाउन भूमिका खेलेकाले मुख्यसचिव अर्यालसँगै दुवाडी पनि बर्खास्त गर्नुपर्ने सूचीमा परेका छन्। मुख्यसचिव अर्यालसँगै बिदाइ हुने भएकाले दुवाडीको ‘च्याप्टर क्लोज’ भएको चर्चा छ।
नेपाल प्रशासन सेवाको खुला प्रतिस्पर्धाबाट सहसचिव भएका दुवाडीको ‘च्याप्टर क्लोज’ भएपछि अर्का विविध सेवा आर्थिक योजना तथा तथ्याङ्क समूहका खुला प्रतिस्पर्धाबाट आएका सहसचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने सुशिला कार्की नेतृत्वको सरकारको तयारी रहेको बुझिन्छ। संयोग पनि दुवाडी र अर्याल आफ्नो समूहमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव भएका थिए भने सहसचिवमा खुला प्रतिस्पर्धाबाट आएका हुन्।
दुवाडी र अर्यालपछि मुख्यसचिवको प्रतिस्पर्धामा रहेका प्रमिलादेवी शाक्य बज्राचार्य र डा. कृष्णहरि पुष्कर कर्ण कोटा प्रयोग गरेर उपसचिव र सहसचिव बन्न सफल भएका थिए। बज्राचार्य महिला र कर्ण मधेशी कोटाबाट उपसचिव र सहसचिव भएका हुन्।
खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य उपसचिव र सहसचिवमा आरक्षण प्रयोग गर्नेमा पर्छिन्। उनी २०६६ वैशाखमा महिला कोटाबाट प्राविधिक तर्फको उपसचिव बन्न सफल भइन्। त्यस्तै २०६७ फागुनमै महिला कोटाबाट प्रमिला इन्जिनियरिङ, सिभिल, हाइवे उपसमूहको सहसचिव भएकी हुन्। उनी सचिवमा भने २०८७ असार १७ गते बढुवा भएकी थिइन्।
बज्राचार्य मुख्यसचिव भइहालिन् भने महिला कोटा प्रयोग गरेर आएर पहिलो मुख्यसचिव बन्नेमा पर्छिन्। उनी विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवबाट खानेपानीतिर सरेकी हुन्।
२०६६ कार्तिकमा मधेशी कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव बनेका महोत्तरी सुगाका कर्ण त्यसको साढे दुई वर्षपछि फेरि २०६८ फागुनमा मधेशी कोटाबाटै सहसचिव बनेका हुन्। २०७८ असार २४ गते सचिवमा बढुवा भएपछि प्रदेशमा जाने परम्परालाई तोड्दै कर्ण अर्थ मन्त्रालयको राजस्व सचिव बन्न सफल भए। दुईपटक आरक्षण सुविधा लिएका उनी दुईपटक नै अर्थ सचिव बनेर रेकर्ड कायम गरे। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव हुँदै हाल श्रम सचिवको भूमिकामा रहेका छन्।
कर्ण मधेशी कोटाबाट दोस्रो सहसचिव बनेपनि सचिवमा भने उनी पहिलो बनेका थिए। मधेशी कोटाबाट पहिलो सहसचिव बनेका वीरेन्द्रकुमार यादवले सचिव बन्न ढिला गरेपछि कर्णले ‘चान्स’ पाएका हुन्। कर्ण मधेशी कोटाबाट पहिलो मुख्यसचिव बन्ने दाउमा देखिन्छन्।
बज्राचार्य र कर्णको बीचमा मधुसुदन बुर्लाकोटी मुख्यसचिव हुने दौडमा छन्। २०६८ साल फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल बुर्लाकोटी कर्णभन्दा ३ दिन अघि र बज्राचार्यभन्दा ४ दिन पछाडिका सचिव हुन्। उनी २०७८ असार २१ गते सचिवमा बढुवा भएका थिए। अर्याल र बज्राचार्यलाई छाडेर बुर्लाकोटीसम्म मुख्यसचिव पुग्यो भने उनको भाग्य चम्किन सक्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे पनि मुख्यसचिव प्रतिस्पर्धाको देखिन्छन्। तर, मुख्यसचिव प्रतिस्पर्धा त्यहाँसम्म तन्किएर पुग्ने सम्भावना कम छ।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णहरि पुष्कर कर्ण, #प्रमिला शाक्य बज्राचार्य (महिला)


तपाईको प्रतिक्रिया दिनुहोस