वीर अस्पतालमा ‘पेण्डुलम’ बनाउन पठाइएका नेपाल सरकारका सहसचिवहरू


काठमाडौं। नेपाल यस्तो देश हो जहाँ अनावश्यक कर्मचारीको दरबन्दी सिर्जना गरेर राज्यकोष चुस्न मज्जाले पाइन्छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यास), वीर अस्पतालमा त्यस्तै भएको हो। उपसचिवका लागि पनि प्रयाप्त काम नपाएर ‘बोर’ हुने निकाय न्याम्समा सहसचिवको दरबन्दी सिर्जना गरिएको छ। ऊर्जा र क्षमता भएका सहसचिवहरू (न्याम्स) वीर अस्पतालमा दिनभर ‘पेण्डुलम’ भएर बसिरहेका छन्।

सहसचिवहरू ध्रवराज पण्डित, राजेन्द्रप्रसाद पाण्डे, मदन कोइराला, अर्जुन गौतम र मनिता श्रेष्ठ वीर अस्पतालमा ‘पेण्डुलम’ भएर छोटो समयमै सरूवा मागेर हिँडेका थिए। अहिले रितेशकुमार शाक्य वीरमा ‘पेण्डुलम’ हुन पुगेका छन्।

तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई ‘ठेगान’ लगाउन वीर अस्पतालको प्रमुखमा १२ औं तह रहने गरी दरबन्दी सिर्जना गराएका थिए। त्यहीँ बेला सहसचिवको दरबन्दी थपिएको हो। वीर अस्पतालमा १२ औं तहको (अतिरिक्त सचिव)को दरबन्दी रहेपनि बढुवा खाएर त्यहाँ गएका छैनन्। वीरको कार्यकारी निर्देशकमा अहिले १० औं तहका डा. दिलिप शर्मा रहेका छन्। उक्त ठाउँमा १२ औं तहको दरबन्दी हुँदाहुँदै १० औं तहका डा. सन्तोष पौडेलले लामै समय चलाए। त्यसैले पनि वीरमा १२ औं तहको दरबन्दी आवश्यक छैन भन्ने प्रस्ट हुन्छ।

लक्ष्मण अर्यालको ‘शनक’का भरमा राज्यलाई अनावश्यक भार पर्नेगरी वीरमा स्वास्थ्यतिरको १२ औं तह र प्रशासन तर्फ सहसचिवको दरबन्दी सिर्जना गरिएको थियो। उक्त दरबन्दीमा गएका सहसचिवहरूको राज्यबाट तलब भत्ता खानेबाहेक केही काम छैन। सहसचिव ‘डम्प’ गर्ने थलो बनेको वीरमा ध्रवराज पण्डित, राजेन्द्रप्रसाद पाण्डे, मदन कोइराला, अर्जुन गौतम, मनिता श्रेष्ठ र रितेशकुमार शाक्य फ्यालिसकेका छन्। कोइराला अहिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालयको प्रशासन महाशाखाको ‘कमाण्ड’ सम्हालिरहेका छन्। राज्यलाई राम्रै योगदान दिन सक्ने क्षमता भएका सहसचिव रितेशलाई अहिले वीरमा ‘डम्प’ गरिएको छ। लक्ष्मणले वीरमा अनावश्यक र औचित्यहीन दरबन्दी सिर्जना गर्दा उनी जस्ता सहसचिव ‘पेण्डुलम’ बन्नुपर्ने अवस्था आएको हो।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृत दिएको छ। त्यसमा ‘न्याम्स’ वीर अस्पताल पनि परेको छ। वीरमा उक्त ओएण्डएमबाट १२ औं तह र सहसचिवको दरबन्दी तत्काल खारेज गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा उक्त दरबन्दी देखाएर बढुवा खाने र नजाने प्रवृत्ति छ। १२ औं तहको दरबन्दीले गर्दा बेला-बेलामा स्वास्थ्य मन्त्रालय र न्याम्सको सम्बन्ध भारत र पाकिस्तानको जस्तो देखिँदै आएको छ। वीरमा ‘ओएण्डएम’ गरेर उक्त दरबन्दी फ्याल्नुपर्छ।

वीरबाट तत्काल सहसचिव रितेशलाई निकालेर ‘पेण्डुलम’ बनाउन निता पोखरेल अर्याललाई पठाउनु पर्छ। अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव निता लक्ष्मणकी श्रीमती हुन्। लक्ष्मणले गरेको कर्मको फल परिवारका सदस्य नितालाई पनि प्राप्त गर्ने अवसर दिनुपर्छ। त्यसपछि निताले नै लक्ष्मणलाई वीरमा सहसचिव राख्नुको कारण र औचित्य सोध्नेछिन्। ‘जेन-जी’ सरकारले वीरमा सहसचिवको दरबन्दी कायम रहुन्जेल नितालाई पठाउनै पर्छ। ‘जेन-जी’यो सरकारका तर्फबाट उक्त काम तत्काल होस्।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन गौतम, #ध्रवराज पण्डित, #मदन कोइराला, #मनिता श्रेष्ठ, #राजेन्द्रप्रसाद पाण्डे, #रितेशकुमार शाक्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ