तिवारीलाई तानेर म्याग्दीको सिडिओमा आचार्यलाई पठाउने तयारी
काठमाडौं। भिजिट भिसा सेटिङ प्रकरण अख्तियारको छानबिन दायरामा रहेका म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीप्रसाद तिवारीलाई फिर्ता बोलाउने तयारी भएको छ। आईतबार नै उनलाई सिडिओबाट फिर्ता बोलाउने गृहकार्य भइरहेको गृह स्रोतले बतायो।
तत्कालीन गृहमन्त्री रमेश लेखकको निजी सचिव रहेका तिवारी भिजिट भिसा प्रकरण सतहमा आएपछि म्याग्दीको सिडिओ भएर गएका थिए। उक्त प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तिवारीलाई अनुसन्धानको दायरामा तानेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख तिर्थराज भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा तिवारीमाथि पनि अनुसन्धान हुने अख्तियारले सार्वजनिक जानकारी दिएको छ। अख्तियारको अनुसन्धानको दायरामा रहेका तिवारीलाई म्याग्दीको सिडिओबाट फिर्ता बोलाउने गृहले तयारी थालेको हो।
गृह मन्त्रालयको सूचना अधिकारी समेत रहेका उपसचिव रविन्द्र आचार्यलाई म्याग्दीको सिडिओमा पठाउने तयारी भइरहेको गृह स्रोतले बतायो। शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा प्रमुख रहेका चापाकोट नगरपालिका-२, स्याङ्जाका आचार्य म्याग्दीको सिडिओ बन्न लागेका हुन्। पाथीभरामा केबलकार निर्माणका लागि ताप्लेजुङको सिडिओ बनेर गएका आचार्य गोली चलाउने अवस्था आएपछि नेत्रप्रसाद शर्मालाई ‘चार्ज’ बुझाएर फर्किएका थिए। कांग्रेस निकट उनै आचार्य १ वर्ष गृह मन्त्रालयमा बसेर म्याग्दी जान लागेका हुन्। तिवारी भने ४ महिना नपुग्दै सिडिओबाट फिर्ता आउने भएका छन्। ताक परे तिवारी नत्र आचार्य भनेर गृहमा चर्चा चल्ने गरेका रविन्द्रलाई म्याग्दीको सिडिओ बनाउन लागिएको हो।
अख्तियारको छानबिन दायरामा रहेका रामचन्द्र तिवारी संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशकको भूमिकामा छन्। भिजिट भिसा सेटिङ प्रकरणमा गृहको शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रहेका रामचन्द्र अध्यागमनको डिजी कै जिम्मेवारीमा हुँदा गृह मन्त्रालय लाई नैतिक संकट परेको छ। रामचन्द्रको जिम्मेवारीको विषयमा पनि पुनर्विचार गर्न गृहमन्त्री ओमप्रकाश अर्यालमाथि दबाब रहेको छ।
क्याटेगोरी : समाचारट्याग : #बद्रीप्रसाद तिवारी, #रविन्द्र आचार्य



तपाईको प्रतिक्रिया दिनुहोस