काठमाडौंका कांग्रेसी मेयरहरू भटाभट अकुतमा डामिदै


काठमाडौं। कांग्रेसबाट काठमाडौंका स्थानीय तहमा मेयर भएकाहरू अकुत सम्पत्ति आर्जनमा भटाभट डामिन थालेका छन्। कांग्रेसबाट काठमाडौंको नागार्जुन नगरपालिकाको मेयर बनेका मोहनबहादुर बस्नेतदेखि गोकर्णेश्वरको मेयर रहेका सन्तोष चालिसेसम्म गैरकानुनी सम्पत्ति आर्जनमा डामिएका हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन गोकर्णेश्वर नगरपालिकाका मेयर चालिसविरुद्ध झण्डै ४ करोडको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा समेत अख्तियारले चलाएको छ।

२०७४ सालको स्थानीय तहकको निर्वाचनमा गोकर्णेश्वरको मेयरमा निर्वाचित चालिसेले उक्त कार्यकालमा ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ। चालिसेका छोराहरू सञ्जीव र सागरले चलाएको मेडिकल र इन्जिनियरिङ कन्सल्टेन्सीको विषय समेत अख्तियारको अभियोगमा उल्लेख छ। तर, चालिसेका छोरारूले सरकारी जग्गा हडपेर बनाएको रिसोर्ट र कन्सल्टेन्सीले अनियमित तरिकाले नगरपालिकाबाट डिपिआर हत्याएको कुरामा भने अख्तियार प्रवेश गरेको पाइँदैन।

चालिसेले विदेशी नागरिकलाई नगरपालिकाबाट उपचार खर्च दिएकोदेखि फोहोर जलाउने ईन्सिरेटर मेसिन राख्दा निजी जग्गामा करोडौं खर्च गरेर बनाइएको संरचनाको विषय पनि अख्तियारको छानबिन दायरामा आएको छैन। गोकर्णेश्वरको मेयर, काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य हुँदै संसद्को अर्थ समितिको सभापति बनेका चालिसे अहिले अकुतमा मात्र डामिएका हुन्। उनी मेयर हुँदा गरेका कामको विषयमा प्रवेश गर्ने हो भने दर्जनौं मुद्दा लाग्ने अख्तियार स्रोत बताउँछ। साविक जोरपाटी गा.वि. स. वडा नं. ९ हाल गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरूवारी स्थायी वतन भएका लक्ष्मीनाथ चालिसेको नाती, भवनाथ चालिसेको छोरा सन्तोष चालिसेलाई अख्तियारले भ्रष्टाचारमा पहिलो मुद्दा लगाएको छ।

अख्तियारले नागार्जुनका कांग्रेसी मेयर मोहनबहादुर बस्नेतविरुद्ध ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो। उनी दोषी ठहर भएर पदमुक्त भइसकेका छन्।

काठमाडौंमा गोकर्णेश्वर, तारकेश्वर, दक्षिणकाली, कागेश्वरी मनोहरा, चन्द्रागिरी, किर्तिपुर टोखा, बुढानिलकण्ठ र शंखरापुर नगरपालिका रहेका छन्। यी स्थानीय तहका मेयरहरूको सम्पत्ति जाँचबुझ गर्ने हो भने अधिकांशको बस्नेत र चालिसे कै हालत हुने देखिन्छ। काठमाडौं महानगरपालिकाका दुई कार्यकाल वडाध्यक्ष चलाएकाहरूको सम्पत्तिमा पनि अख्तियारको नजर लाग्न आवश्यक देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #मोहनबहादुर बस्नेत, #सन्तोष चालिसे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ