पूर्व सचिव श्रीधर सापकोटा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा मनोनित
काठमाडौं। पूर्व सचिव श्रीधर सापकोटा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा मनोनित भएका छन्। पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले सापकोटालाई कोषको कोषाध्यक्षमा मनोनित गरेका हुन्।
कोषको पदाधिकारी मानिने कोषाध्यक्षमा पूर्व रक्षा सचिव सापकोटा मनोनित भएको मन्त्रालय स्रोतले बतायो। सापकोटाले कोषाध्यक्ष मनोनित भएको पत्र समेत बुझिसकेका छन्।
भेटी चोरीको आरोप लागेका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी ४ वर्ष कार्यकाल सकेर बिहीबार बिदा भएका छन्। बिहीबार नै कोषले नयाँ कोषाध्यक्ष पाएको हो। सुवेदीलाई बिदाई गर्ने कार्यक्रममा सदस्यसचिव प्रकाशमणि शर्मा भुसाल अनुपस्थित भएका थिए।
काठमाडौं नयाँ बानेश्वरका रैथाने सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत सचिव भइसकेका व्यक्ति हुन्। अख्तियारको प्रमुख आयुक्तको चर्चामा रहेका सापकोटा पशुपतिनाथको सेवा गर्न पुगेका छन्। पर्यटन मन्त्री सिन्हाले कानुन पृष्ठभूमिका सापकोटालाई पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा मनोनित गरेका छन्। कडा प्रशासक सापकोटालाई पशुपतिको कोष सम्हाल्ने जिम्मेवारी आइपरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र पशुपतिको कोषाध्यक्षमा मनोनित भएका सापकोटा २०७१ साल माघ २२ गते एकैदिन विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका थिए। अख्तियारमै कार्यरत सहसचिव राई र सहन्यायाधिवक्ता सापकोटा एकैदिन सचिवमा बढुवा भएका हुन्। सापकोटा २०७४ कार्तिक १४ गते ५८ वर्ष लागेर रक्षा सचिवबाट अनिवार्य अवकाशमा गएका थिए। त्यो हिसाबले उनी ६६ वर्ष लागिसकेका छन्। कोषाध्यक्ष पदाधिकारी मानिने भएकाले ६५ वर्ष नाघे पनि फरक पर्दैन। कोषको सदस्यसचिवमा भने ६५ वर्ष ननाघेको हुनुपर्छ।सरकारी वकिलबाट अख्तियार र रक्षा सचिव बनेका सापकोटा विशिष्ट श्रेणी कै सेवा सुविधा पाउने पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष मनोनित भएका हुन्।
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा ६७ वर्षीय वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भुसाल मनोनित भइसकेका छन्। कोषाध्यक्षमा सापकोटा मनोनित भएका हुन्। भुसाल र सापकोटा मिलेर पशुपति चलाउने भएका छन्।
ट्याग : ## पशुपति क्षेत्र विकास कोष, #श्रीधर सापकोटा, #श्रीधर सापकोटा कोषाध्यक्ष



तपाईको प्रतिक्रिया दिनुहोस