जो सहसचिवमा बढुवा भएको एक वर्ष पूरा नभइ घर गए
काठमाडौं। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा बढुवा भएका दुई सहसचिव ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएका छन्। सहसचिवद्वय इन्द्रप्रसाद बस्याल र पूर्णमान श्रेष्ठ ५८ वर्ष लागेर घर गएका हुन्। उनीहरू सहसचिवमा बढुवा भएको १ वर्ष पनि पूरा नभइ अनिवार्य अवकाशमा गएका हुन्।
सामान्य प्रशासन समूहबाट अघिल्लो आर्थिक वर्षमा कार्यक्षमताका आधारमा बस्याल र श्रेष्ठ प्रशासन सेवाको सहसचिवमा बढुवा भएका थिए। श्रेष्ठ ५८ वर्ष लागेर भदौं ९ गते नै अनिवार्य अवकाशमा गएका हुन्। २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेका उनी ६ महिना सहसचिवको भूमिकामा रहेर घर गएका हुन्। त्यस्तै बस्याल ९ महिना सहसचिवको भूमिकामा काम गरेर मंसिर २८ गते अनिवार्य अवकाशमा गएका छन्। २०४३ सालमै सखारी सरकारी सेवामा प्रवेश गरेका बस्याल ५८ वर्ष लागेर घर जानेमा परेका हुन्।
अघिल्लो आर्थिक वर्षमै राजस्व समूहबाट जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा प्रशासन सेवाको सहसचिवमा बढुवा भएका दिलिपकुमार गौतम ५८ वर्ष लागेर माघ ४ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी पनि १ वर्षभन्दा कम समय सहसचिव भएर घर जान लागेका हुन्। २०५२ सालमा सरकारी सेवामा प्रवेश गरेका गौतम ३० वर्ष सरकारी सेवामा काम गरेर अनिवार्य अवकाशमा जान लागेका हुन्। गौतम अहिले ठूला करदाता कार्यालय प्रमुखको भूमिकामा छन्।
क्याटेगोरी : समाचारट्याग : #इन्द्रप्रसाद बस्याल, #दिलिपकुमार गौतम, #पूर्णमान श्रेष्ठ



तपाईको प्रतिक्रिया दिनुहोस