भक्तपुर मालपोत हाकिमको सरूवा बदर, ललितपुर मालपोत हाकिमको सदर
काठमाडौं। प्रशासकीय अदालतले एकैदिन सरूवा भएका दुई मालपोत हाकिमको विषयमा फरक-फरक आदेश दिएको छ। प्रशासकीय अदालतले भक्तपुरका प्रमुख मालपोत अधिकृत माधव घिमिरेको सरूवा कार्यान्वन नगर्न आदेश दिएको छ। ललितपुरका प्रमुख मालपोत अधिकृत अशोककुमार भट्टराई सरूवा कार्यान्वनमा भने अदालतले बाटो खुला गरिदिएको छ।
सरूवा निर्णय बदर गर्न माग गर्दै प्रशासकीय अदालतमा परेको मुद्दामा अध्यक्ष डा. टेकबहादुर घिमिरे र सदस्य आलोकचन्द्र श्रेष्ठको इजलासले भट्टराईको हकमा अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेर सरूवा निर्णय कार्यान्वयन गर्न सहज गरिदिएको छ। जिल्ला समन्वय समिति, भोजपुरमा सरुवा भएका भट्टराई रमाना लिएर हिँडेकाले उनको सरूवा कार्यान्यवन गर्न अदालतले अवरोध नगरेको हो। जिल्ला समन्वय समिति, संखुवासभामा सरूवा भएका घिमिरे भने उता नगई मालपोतमै बस्न जोडबल गरेकाले उनको सरूवा कार्यान्वयन नगर्न अदालतले आदेश दिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनलाई कुनै पनि मालपोतमा पठाउन सक्छ।

घिमिरेको ठाउँमा भक्तपुरमा प्रमुख मालपोत अधिकृत भएर अर्जुन राई गएका छन्। भट्टराईको ठाउँ ललितपुरमा गएका प्रमुख मालपोत अधिकृत भीमबहादुर बुढालाई भने सहज भएको छ।
उपसचिवको दरबन्दी रहेका देशभरका ८ वटा मालपोत कार्यालय प्रमुख मालपोत अधिकृतबिहीन भएका छन्। मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषाको ढल्केबर र सर्लाहीको मलंगवा मालपोत प्रमुखबिहीन अवस्थामा छन्। लुम्बिनी प्रदेशको रूपन्देही भैरहवा र बुटवल, दाङको लमही पनि प्रमुखबिहीन भएको हो। त्यस्तै कर्णाले प्रदेशको भूमिसुधार तथा मालपोत कार्यालय, सुर्खेतले समेत प्रमुख मालपोत अधिकृत पाउन सकेकोको छैन। मन्त्रालयले आवश्यक अनुसार प्रमुख मालपोत अधिकृत व्यवस्थापन गर्न सक्छ। त्यसमा घिमिरेलाई पनि मन्त्रालयले उचित स्थानमा व्यवस्थापन गर्न सक्ने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #अशोककुमार भट्टराई, #माधव घिमिरे



तपाईको प्रतिक्रिया दिनुहोस