पशुपति क्षेत्र विकास कोषको सम्पत्तिमा जोशीको मनोमानी
समाचार टिप्पणी
काठमाडौं। निमित्त सदस्यसचिव भएको मौका छोपेर सुभाषचन्द्र जोशीले पशुपति क्षेत्र विकास कोषको सम्पत्तिमा मनोमानी गरेको पाइएको छ। जोशीले भण्डारखाल बगैँचामा रहेको पशुपति क्षेत्र विकास कोषको सम्पत्ति आफ्नो निजी सम्पत्ति जस्तो ठानेर वडा कार्यालयलाई हस्तान्तरण गरेको प्रमाण फेला परेको छ। जोशीले ‘दानवीर कर्ण’झै बनेर भण्डारखाल क्षेत्रको पार्किङ काठमाडौं महानगरपालिका ८ नम्बर वडालाई सुम्पिएको फेला परेको हो।
माओवादीका मन्त्री हितबहादुर तामाङ पशुपति क्षेत्र विकास कोषको अध्यक्ष भएका बेला उनी जाँदाजाँदै कोषको कार्यकारी निर्देशक मनोनित भएका जोशीले दर्जनौं बदमासी गरेका छन्। कोषको हितविपरीत सञ्चालन परिषद्लाई समेत बाइपास गरेर जोशीले वडाध्यक्षसँग सम्झौता गरेर भण्डारखाल बगैँचामा रहेको पार्किङ सुम्पिएको पाइएको छ। मानौं उक्त पार्किङ जोशीको निजी सम्पत्ति हो!
निमित्त सदस्यसचिवको जिम्मेवारी पाउँदा जोशीले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको अस्तित्व नै समाप्त पार्नेगरी गतिविधि सञ्चालन गरेको पाइन्छ। ऐतिहासिक र पुरातात्त्विक लिच्छविकालीन भण्डारखाल बगैँचा क्षेत्रमा वडासँग मिलेर जोशीले अनेकौं बदमासी गरेको भेटिन्छ। पार्किङ मात्र होइन उक्त ठाउँमा पार्क र बाटो बनाउने नाममा वडा कार्यालयले डोजर समेत चलाएको छ।
भण्डारखाल पार्किङको तथ्यले उक्त ठाउँमा डोजर लाग्नुमा पनि जोशीको भूमिका छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ। तर, जोशीले यी विषयमा आफूलाई थाहा नभएको जस्तो गर्ने गरेको कोष कै कर्मचारीहरू सुनाउँछन्। यति हुँदा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको जोशीमाथि छानबिन तथा कारबाही गर्न सकेको छैन।
भण्डारखालको पार्किङसँगै लिच्छविकालीन पुरातात्त्विक ठाउँमा वडा कार्यालयले सिमेन्टका संरचना राखेर अर्का पार्क बनाएको देखिन्छ। कोषसँग कै मिलेमलोमा उक्त पार्क बनेको हो। वेद विद्याश्रमको जग्गा वडा कार्यालयलाई भवन बनाउन दिएर कोषले अर्को गम्भीर बदमासी गरेको छ। उक्त ठाउँमा लिच्छविकालीन शिवलिङ्ग बेवारिसे बनाइएको छ। तर, कोषले अनदेखा गरिरहेको छ।
जोशीले सदस्यसचिव चढ्ने स्कर्पियो लापत्ता बनाएका छन्। उक्त स्कर्पियो कहाँ र कुन अवस्थामा छ भनेर अख्तियार जस्ता नियमनकारी निकायले समेत खोजबिन गरेको छैन। भण्डारखालको पार्किङ जस्तै युनेस्को र सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई चुनौती दिँदै तिलगंगा-गुहेश्वरी सडक सञ्चालनमा ल्याइएको छ। वाइसिएल मार्गका रूपमा परिचित उक्त बाटो माओवादीले कार्यकारी निर्देशक बनाएका जोशी निमित्त सदस्यसचिव भएका बेला सञ्चालनमा आउनु गम्भीर विषय हो। विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको अस्तित्व नै समाप्त पार्नेगरी जोशी कै पालामा उक्त बाटो सञ्चालनमा ल्याउदा पनि कसैले एक्सन लिन सकेको छैन। पुरातत्त्वको समेत अत्तोपत्तो देखिँदैन।
विश्वरूपदेखि करोडौंका आपूर्तिको भुक्तानीमा चासो राख्दै आएका जोशीले कोषलाई लथालिङ्ग पारेको देखिन्छ। विश्वरूप मन्दिर पुनर्निर्माण गर्ने ठेकेदारलाई झन्डै ९ करोड भुक्तानी गरेर सदस्यसचिव बन्ने दौडधुपमा लागेका जोशीले पशुपतिको सम्पत्तिमा मनपरी गरेको भेटिन्छ। उक्त विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तत्काल ध्यानाकर्षण हुन जरुरी छ।



तपाईको प्रतिक्रिया दिनुहोस