महानगरले फिर्ता गर्यो लुटिएका सरकारी जग्गा, संघ सरकारले गुमायो वीर अस्पतालको ५ हजार रोपनी
काठमाडौं । देशकै सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल वीर अस्पताल उपचार अभावले होइन, आफ्नै सम्पत्ति गुमाएर कमजोर बनाइएको तथ्य बाहिर आएको छ। संस्थापक वीर शमशेरले बिरामीको उपचार, खाना र व्यवस्थापन सहज बनाउन स्थापना गरेको वीर अस्पताल गुठीको हजारौं रोपनी जग्गा आज व्यक्तिका नाममा पुगेको छ, तर संघीय सरकार र स्वास्थ्य मन्त्रालय भने मौन देखिएको छ।
स्वास्थ्य लाइभलाई प्राप्त पुराना सरकारी अभिलेखअनुसार काठमाडौं उपत्यकाभित्र मात्रै १ हजार रोपनीभन्दा बढी जग्गा ३३० कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ। अझ गम्भीर कुरा, उपत्यकाबाहिर झापा, मोरङ, बाँके, पर्सा, रुपन्देहीलगायत जिल्लामा ४ हजार रोपनीभन्दा बढी जग्गा वीर अस्पताल गुठीको नाममा रहेको उल्लेख छ। नुवाकोटमा पनि सयौं रोपनी जग्गा गुठीकै हो भन्ने प्रमाण भेटिएको छ। तर यत्रो सम्पत्तिको एक रुपैयाँ आम्दानी समेत वर्षौंदेखि वीर अस्पतालले पाएको छैन। महानगर प्रमुखले देखाएको साहस, संघ सरकारले किन देखाउन सकेन ?
तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सयौं रोपनी सरकारी जग्गा कब्जाबाट फिर्ता गराएर राज्यको सम्पत्ति जोगाएको उदाहरण ताजा छ। महानगरको नेतृत्वले सक्ने काम संघीय सरकार, त्यो पनि स्वास्थ्य मन्त्रालयले गर्न नसक्नु गम्भीर प्रश्न हो।
एकातिर वीर अस्पतालजस्तो राष्ट्रिय अस्पताल स्रोत अभावको नाममा कमजोर बनाइँदै छ, अर्कोतिर त्यसकै नाममा रहेको गुठी जग्गा व्यक्तिका नाममा पुग्दा सरकार टुलुटुलु हेरेर बसेको छ।
छानविन समिति बने, प्रतिवेदन बुझाइयो, तर कार्यान्वयन शून्य
२०६६ सालमै स्वास्थ्य मन्त्रालयले सह–सचिव दुर्गा मानन्धरको संयोजकत्वमा गुठी जग्गा छानविन समिति गठन गरेको थियो। समाजसेवी धुव्रलाल जोशीले देशभरका मालपोत कार्यालयबाट लगत झिकेर २४ साउन २०६७ मा प्रतिवेदन बुझाए, तर त्यो प्रतिवेदन आजसम्म कार्यान्वयनमा आएको छैन।
न्याम्स–वीर अस्पतालले पछिल्लो समय फेरि समिति बनाए पनि जग्गा फिर्ता गर्ने ठोस निर्णय देखिएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएपछि मात्र पत्राचार हुनु, सरकारको इच्छाशक्तिको अभाव स्पष्ट संकेत हो। पूर्व प्रधानमन्त्रीको नाममा समेत गुठी जग्गा !
अभिलेखअनुसार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका नाममा समेत वीर अस्पताल गुठीअन्तर्गतको जग्गा दर्ता रहेको तथ्य बाहिर आएको छ। यसले गुठी जग्गा अपचलन सामान्य नागरिकसम्म सीमित नरहेको देखाउँछ।
वीर अस्पताल गुठीको जग्गा प्रकरणले देखाएको छ— यदि राज्यको सम्पत्ति जोगाउने दृढ नेतृत्व भएन भने ऐतिहासिक संस्थासमेत कागजमै सीमित हुन्छन्। त्यसैले सम्पत्ति, संस्था र देश जोगाउन बालेन साह जस्ता नेतृत्व अपरिहार्य छन्, जसले दबाब, डर र प्रभावको परवाह नगरी राज्यको सम्पत्ति फिर्ता गर्न सक्छन्।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ## वीर अस्पताल, #सार्वजनिक जग्गा



तपाईको प्रतिक्रिया दिनुहोस