सुशीलाले मध्यरातमा न्यायाधीश नियुक्त गरेजस्तै ‘पिए’ आदर्शले मध्यरातमा एनटीएससी पुगेर पदभार सम्हाले


काठमाडौं। २०७३ साल पुस २८ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले घर जाँदाजाँदै उच्च अदालतमा ६० न्यायाधीश नियुक्ति गरेको घटना अझै पनि चर्चामा आउने गरेको छ। त्यसलाई बिर्स्याउने गरी हाल प्रधानमन्त्री रहेकी उनै सुशीला कार्कीका प्रमुख स्वकीय सचिव ‘पिए’ले मध्यरातमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को अध्यक्षको पदभार ग्रहण गरेका छन्। सर्वोच्च अदालतका नायब सुब्बासरहका कर्मचारी आदर्शकुमार श्रेष्ठ प्रधानमन्त्री कार्कीको स्वकीय सचिव हुँदै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित भएका थिए। नयाँ सरकार आएपछि ‘पिए’बाट जाँदाजाँदै आदर्शले पनि सुशीलाको सिको गर्दै मध्यरातमा पदभार ग्रहण गरेका हुन्।

हरेक नियुक्तिमा हस्तक्षेप गरेर आफू अनुकूलका व्यक्तिलाई नियुक्ति दिलाएका आदर्श आफै एनटीएनसीको अध्यक्ष बन्न सफल भएका छन्। कोषको संरक्षण समेत रहेकी प्रधानमन्त्री कार्कीले आफ्नै ‘पिए’लाई अध्यक्षमा मनोनित गरेकी थिइन्। कार्कीले आफ्नै ‘पिए’लाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गरेपछि उक्त विषय विवादमा पऱ्यो। चौतर्फी आलोचना र निर्णय फिर्ता लिन माग उठिरहँदा सुशीलाका ‘पिए’ आदर्शले मध्यरातमा कोषको अध्यक्षमा पुगेर पदभार सम्हालेका हुन्। लाज नै लजाउने गरी आदर्श कोषको अध्यक्षको कुर्सी सम्हाल्न पुगेका छन्।

आदर्शलाई रातारात पदभार ग्रहण गर्न सहजीकरण गर्ने कोषका सदस्यसचिव डा. नरेश सुवेदीको नियुक्ति पनि निकै विवादित बनेको छ। उनको नियुक्तिको विवादलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको थियो। आदर्शलाई कोषको अध्यक्ष बनाएर सुवेदीले आफ्नो पद जोगाउन भूमिका खेले। उजुरी गुपचुप पारियो। उनै विवादित सुवेदीले आदर्शलाई मध्यरातमा कोषको अध्यक्षको पदभार ग्रहण गर्न सहजीकरण गरेका हुन्।

आफ्नै श्रीमतीलाई प्रधानमन्त्रीको स्वकीय सचिवालयमा जागिर खुवाउने आदर्शले कर्मचारीहरू घर हिँडिसकेपछि पदभार ग्रहण गर्न कोषको कार्यालय पुगेका थिए। बालेन्द्र शाह (बालेन) नेतृत्वको शक्तिशाली सरकार आउने पूर्वसन्ध्यामा रातारात आदर्शले पदभार ग्रहण गरेका हुन्। सुशासनको भद्दा मजाक गर्दै उनी कोषको कुर्सीमा बस्न पुगेका हुन्।

कार्की सरकारका पूर्वमन्त्री महावीर पुनले समेत उक्त नियुक्ति नलिन आदर्शलाई सुझाव दिएका थिए। तर, उनले पद गुम्ने खतरा देखेर राति नै पदभार सम्हालेका छन्। महावीर पुनले भनेजस्तै उक्त नियुक्तिमा बालेन सरकारले बिचार गर्नुपर्ने अवस्था आएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ