जेन-जी’ आन्दोलन दमनमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रमेश लेखकको यस्तो थियो ‘कोर-टिम’


काठमाडौं। ‘जेन-जी’ आन्दोलन दमनमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रमेश लेखकको ‘कोर-टिम’को अवशेष अझै पनि गृह मन्त्रालयमा देखिन्छ। भिजिट भिसा सेटिङ प्रकरणदेखि ‘जेन-जी’ आन्दोलन दमनसँग तत्कालीन गृहमन्त्री लेखकसँग एउटा ‘कोर-टिम’ जोडिएको छ। उक्त ‘कोर-टिम’का केही सदस्य अहिले पनि शक्तिशाली भूमिकामा छन्। लेखकको ‘कोर-टिम’का सदस्यलाई महत्त्वपूर्ण जिम्मेवारीमा राखेर गृह मन्त्रालय चलाउन गुरूङलाई सहज देखिँदैन।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बसेर रजगज गरिरहेका गोकर्णमणि दुवाडीलाई लेखकले गृह सचिवको रूपमा भित्र्याएका थिए। उनै गृह सचिवको पालामा अनेकन् घटना घटे। लेखक र दुवाडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कार्यालयमा प्रमुख अध्यागमन अधिकृत बनाएर पठाएका तीर्थराज भट्टराई भिजिट भिसा प्रकरणमा तानिए। भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त प्रकरण भ्रष्टाचार मुद्दा समेत दायर गरिसकेको छ। उनी हाल निलम्बनमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरण छानबिन गर्नु पर्ने माग राखेर सदनमा प्रदर्शन गर्दा लेखकको ‘कोर-टिम’को सल्लाहमा पेलेर जाने काम भएको थियो। अब उक्त छानबिन समिति बनाउने बाटो खुला भएको छ।

गृहमन्त्री सुदन गुरूङले एक्सन लिंदा अबको ‘टार्गेट’मा रहेका तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी लेखकको ‘कोर-टिम’ बसेर काम गरेका थिए। भिजिट भिसा प्रकरणमा अख्तियारले दुवाडीलाई पनि निगरानीमा राखेको थियो। उक्त प्रकरणमा पनि राम्रोसँग छानबिन गर्ने हो भने दुवाडीविरूद्ध भ्रष्टाचार मुद्दा जाने उच्च सम्भावना देखिन्छ।

‘जेन-जी’ आन्दोलनका बेला काठमाडौंको सिडिओ रहेका छवि रिजाल लेखकको ‘कोर-टिम’ बसेर काम गरेका सहसचिव हुन्। ‘जेन-जी’ पुस्तामाथि गोली चलाउन आदेश दिने रिजाल अहिले गण्डकी प्रदेशतिर पुगेका छन्। गृहमन्त्री सुदन गुरूङको एक्सनमा रिजाल पनि पर्दैछन्।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी लेखकको ‘कोर-टिम’मा सहसचिव हुन्। तत्कालीन गृहमन्त्री लेखक र उनका निजी सचिव रामचन्द्र तिवारीले सुनसरीको सिडिओबाट ल्याएर सिधै गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बनाएका थिए। लेखकले गर्ने हरेक निर्णयमा रामचन्द्र हावी हुने गरेको चर्चा थियो। उनै रामचन्द्रलाई लेखकले अध्यागमन विभागको महानिर्देशकमा लगेका थिए। उद्योग विभागको महानिर्देशक हुँदा पोखराको मणिपाल शिक्षण अस्पतालको सेयर बिक्री प्रकरणमा पनि जोडिएका रामचन्द्र अध्यागमनमा शक्तिशाली महानिर्देशक भएर बसेका छन्।

भिजिट भिसा प्रकरणमा अख्तियारले समेत छानबिन भइरहेको भनेर सार्वजनिक जानकारी गराएको छ। तर, उनी अध्यागमनको महानिर्देशकको जिम्मेवारीमा कायम रहनुले सुशासनलाई ठाडै चुनौती देखिएको हो। लेखकको ‘कोर-टिम’का सदस्य सहसचिव रामचन्द्र प्रदेश नजाने सहसचिवमा पर्छन्। भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा छानबिन हुनुपर्ने माग गर्दा त्यसलाई निस्तेज पार्न यिनीहरू नै लागेका थिए। गृहमन्त्री गुरूङले उनलाई प्रदेश पठाएर भिजिट भिसा प्रकरणलगायतमा छानबिन गर्न सहज पारिदिनु पर्छ।

लेखक कै ‘कोर-टिम’मा बसेर काम गरेका आनन्द काफ्ले गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका छन्। लेखकले काफ्लेलाई उक्त महाशाखा प्रमुख बनाएका थिए। रामचन्द्र अध्यागमनको महानिर्देशक भएपछि काफ्लेलाई उक्त महाशाखामा ल्याइएको थियो। ‘जेन-जी’ अगुवा सुदन गुरुङ गृहमन्त्री हुँदा पनि लेखक कै विश्वासपात्र काफ्ले गृहको संवेदनशील मानिएको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको भूमिकामा छन्। यस्तो विषयमा गृहमन्त्री गुरुङले विशेष ध्यान दिन जरुरी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ