स्वास्थ्यमा रजगज गरिरहेका उच्च पदस्थहरू, यसरी गर्न सकिन्छ व्यवस्थापन
समाचार टिप्पणी
काठमाडौं। स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा सीमित व्यक्तिले रजगज गरिरका छन्। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग जस्ता निकायमा लामो समयदेखि एउटै व्यक्तिले रजगज गर्दै आएका हुन्। स्वास्थ्यमा पुराना सत्ताका तरमारा उच्च पदस्थहरूको हालिमुहाली देखिन्छ। तरमाराहरू बालेन सरकारलाई सक्रिय देखिन्छन्। यिनीहरूलाई जति लामो समयसम्म स्वास्थ्यका महत्त्वपूर्ण ठाउँमा राखियो त्यति नै सरकारलाई समस्या पार्ने खतरा छ। स्वास्थ्यमा लामो समयदेखि हालिमुहाली गरिरहेका तरमारा उच्च पदस्यहरूलाई तत्काल व्यवस्थापन गर्नुपर्छ।
लामो समयदेखि स्वास्थ्य सेवा विभागमा रजगज गर्दै आएका नारायणप्रसाद ढकाल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को एक्सनमा परेका छन्। कानुनविपरीत औषधिको मूल्यवृद्धि गरेको विषयमा ढकालमाथि छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएपछि उनलाई मन्त्रालय तानिएको छ। ढकालमाथि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भइसकेको छ। उक्त समितिले दिएको प्रतिवेदनका आधारमा ढकालमाथि एक्सन लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तयारी छ।
औषधि व्यवस्था विभागको महानिर्देशक ११ औं तहको हुन्छ। अहिले औषधितिरको ११ औं तहमा भरत भट्टराई छन्। भट्टराई राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक हुन्। उनलाई विभागको महानिर्देशक बनाउन सकिन्छ। राष्ट्रिय औषधि प्रयोगशालामा भने वनस्पति विभागमा रहेका सन्तोष केसीलाई ल्याएर निमित्त दिन सकिन्छ। केसी १० औं तहका वरिष्ठ औषधि व्यवस्थापक हुन्। विभाग अन्तर्गत प्रयोगशाला रहने भएकाले १० औं तहको वरिष्ठ औषधि व्यवस्थापकलाई विभागको महानिर्देशक बनाउँदा ११ औं तहको प्रयोगशालाको निर्देशकलाई जिम्मेवारी लिन नैतिक संकट पर्ने देखिन्छ। पहिला ११ औं तहमा तीनवटा दरबन्दी रहेकोमा ढकालको सेटिङमा एउटा दरबन्दी उडाइएको हो। त्यसैले दुईमध्ये एक जना मात्र विभागको महानिर्देशक बन्ने अवस्था आएको हो।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल बच्चाको डाक्टर हुन्। उनको दरबन्दी कान्ति बाल अस्पतालमा रहेको छ। बच्चाको उपचार गर्न छाडेर डा. पौडेल लामो समयदेखि नीतिगत तहमा बसेर रजगज गर्दै आएका छन्। चार वर्ष स्वास्थ्य मन्त्रालयमा बसेर तरमार्दै आएका डा. पौडेल स्वास्थ्य बीमा बोर्डमा पुगेपछि पोखिएका छन्। दरबन्दी अनुसार समूह नमिल्ने स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा रजगज गरेर जुनसुकै पार्टीको मन्त्री आएपनि मिलाउन र मिल्न सक्ने ‘आलू’ जस्तो कर्मचारी बनेका थिए। स्वास्थ्य बीमा बोर्डमा गएपछि भने उनी ‘प्याज’ जस्तो पत्रैपत्र बन्न खोजे। बोर्ड सदस्यमा हाजिर भएकी जुनु श्रेष्ठ प्रकरणमा पौडेलको असली क्षमता र इमानदारिताको परीक्षण भएको छ। उक्त प्रकरण डिसमिस पार्न ‘प्याज’ जस्तै पत्रैपत्र बन्न खोजेका डा. पौडेलले आफ्नो छवि धुमिल पारेका छन्। जुनुको मतियार बनेर काम गर्दा डा. पौडेलले स्पष्टीकरण पेस गर्नुपर्ने अवस्था आएको हो।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डाक्टरलाई पठाउनु हुन्न रहेछ भन्ने डा. पौडेलले प्रमाणित गरिदिएका छन्। बिरामी जाँच्नु पर्ने डाक्टरलाई बीमामा पठाएर हुँदैन रहेछ भन्ने प्रस्ट भएको छ। डा. पौडेललाई तत्काल मन्त्रालयको अतिरिक्तमा तानेर प्रशासनको सहसचिव पठाउन उपयुक्त हुन्छ। उनलाई दरबन्दी अनुसार कान्ति बाल अस्पतालमै फिर्ता पठाउनु पर्ने देखिन्छ।
चार जना दरबन्दी रहेको राष्ट्रिय योजना आयोगमा सात जना सहसचिव रहेका छन्। योजना आयोगबाट खोमराज कोइराला, हरिशरण पुडासैनीहरू जस्ता अर्थ र योजना बुझेका सहसचिवलाई स्वास्थ्य बीमा बोर्डमा काजमा खटाएर अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कार्यकारी निर्देशकमा व्यवस्थापन गर्न सकिन्छ।
स्वास्थ्य बीमा बोर्ड कै विवादमा मुछिएका भीमप्रसाद सापकोटालाई समन्वय महाशाखा प्रमुखको जिम्मेवारीबाट तत्काल हटाउनु पर्ने देखिन्छ। विवादित पृष्ठभूमिका सापकोटालाई राष्ट्रिय स्वास्थ तालीम केन्द्रतिर पठाउँदा उपयुक्त हुन्छ। राष्ट्रिय तालीम केन्द्रकी यसाेधा अर्याललाई व्यवस्थापन महाशाखामा ल्याउन सकिन्छ। स्वास्थ्यमन्त्री निशा मेहता महिला भएको र उक्त महाशाखा प्रमुखको यशोदाको दरबन्दी मिल्ने भएकाले उनलाई ल्याउँदा उपयुक्त हुन्छ। सापकोटाका विगतका अन्य गतिविधिमाथि समेत छानबिन हुनुपर्छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी पनि बिना दरबन्दी नेपाली कांग्रेसको आडमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रजगज गरेर बसिरहेका छन्। दाँतका डाक्टर बुढाथोकीको दरबन्दी वीर अस्पतालमा रहेको छ। स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख भएर साढे दुई वर्षदेखि जबर्जस्ती मन्त्रालय बसिरहेका बुढाथोकीलाई वीरमै बिरामी हेर्न पठाउनु पर्छ। बिरामी हेर्ने डाक्टरलाई मन्त्रालयमा राख्दा बिरामीले समेत सास्ती पाएका छन्। उनलाई तत्काल वीरमा काज फिर्ता गर्दा उत्तम हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मा पनि वीर अस्पतालकै चिकित्सक हुन्। उनी समूह नमिल्ने मन्त्रालयको महाशाखामा साढे दुई वर्षदेखि रजगज गरिरहेका छन्। वीर अस्पतालको ११ औं तहका रेडियोलोजिष्ट डा. शर्मालाई बिरामी हेर्न वीर अस्पतालमै फिर्ता पठाउनु पर्छ। वीर अस्पतालमा बिरामी हेर्नुपर्ने डा. बुढाथोकी र डा. शर्मालाई तत्कालीन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले काजमा मन्त्रालय तानेका थिए। बिरामीको सेवामा खटिनु पर्ने चिकित्सकलाई मन्त्रालय तानेर तत्कालीन मन्त्री पौडेलले बदमासी गरेका थिए। उक्त बदमासी स्वास्थ्यमन्त्री मेहताले सच्याउन ध्यान दिनुपर्छ।
गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुखका लागि समूह मिल्ने डा. शर्वेश शर्मा उपयुक्त पात्र हुन्। उनलाई स्वास्थ्यका ‘जेनजी’ कर्मचारीका रूपमा चिन्ने गरिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति याेजना महाशाखा प्रमुख चुमनलाल दास हटाएर समूह मिल्ने गुणनीधि शर्मा वा एघारौं तहका अन्य समूह मिल्ने कर्मचारी ल्याउन सकिन्छ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक भुवन पाैडेल हटाएर बरिष्ठ छातिराेग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ पठाउदा उपयुक्त हुन्छ। डा. श्रेष्ठलाई उक्त ठाउँमा पठाएर वर्षाैंदेखि बन्द रहेको अस्पताल समेत चलाउदा जनतालाई उपचार गराउन सहज हुन्छ। सरकारले अस्पताल चलाएर जनताको स्वास्थ्य उपचारको सेवा दिनेगरी राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक पठाउनु पर्छ।
परिवार कल्याण महाशाखा डा. मदन उपाध्याय हटाएर समूह मिल्ने डा. प्रकाश शाह वा अर्को एघारौं तहको कमचारी खटाउनु पर्छ। उपाध्यायलाई प्रदेश सचिवतिर पठाउदा हुन्छ। हुनत यश अगाडि पनि उपाध्यायलाइ लामाे समय फाजिलमा राखेेर अन्याय पनि गरिएको थियाे ।
स्वास्थ्यमा यिनीहरू लगायत दर्जनौं कर्मचारीले वर्षौंदेखि रजगज गरिरहेका छन्। उनीहरूलाई सेवा समूह मिल्ने ठाउँमा क्षमता र योग्यताका आधारमा व्यवस्थापन गर्नु पर्ने देखिन्छ। स्वास्थ्यमा रहेको सिण्डिकेट तोड्न बालेन सरकार एक कदम अगाडि बढ्नै पर्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस